सन् २०१८ मार्च १२ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला एयरलाइन्स लिमिटेडको विमान दुर्घटनामा मृत्युवरण गरेका सात विद्यार्थीका परिवारले विमान कम्पनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। पीडित परिवारले कम्पनीविरुद्ध १ करोड ९० लाख ९० हजार ४ सय ३ अमेरिकी डलर अर्थात् करिब २ अर्ब १० करोड नेपाली रुपैयाँ क्षतिपूर्तिको दाबी गरेका हुन्।
दुर्घटनाको १६ महिना बितिसक्दा पनि कम्पनीले क्षतिपूर्ति नदिएको आरोप उनीहरुले लगाएका छन्। पीडित परिवारले अन्तर्राष्ट्रिय कानुनअनुसार क्षतिपूर्ति मागदाबी गरिँदा कम्पनीले बेवास्ता गरेकाले मुद्दा दायर गर्नुपरेको बताएका छन्। दुर्घटनामा मृत्यु भएका सात एमबीबीएस विद्यार्थीहरु एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबुबाले मुद्दा दायर गरेका हुन्।
उनीहरुले दायर गरेको मुद्दामा वायुयान धनी/सञ्चालकको दायित्वसम्बन्धी अन्तर्राष्ट्रिय कानुन मन्ट्रियल कन्भेन्सन १९९९, वार्सा कन्भेन्सन १९२९ र हेग प्रोटोकल १९५५ को नेपाल पक्ष राष्ट्र भएकोले अन्तर्राष्ट्रिय कानुनअनुसार नै क्षतिपूर्ति दाबी गरिएको पीडित पक्षले दायर गरेको मुद्दामा भनिएको छ। पीडितहरुले अधिवक्ता अमृत खरेलमार्फत उक्त मुद्दा दर्ता गरेका हुन्।
दुर्घटनाको सम्बन्धमा जाँचबुझ गर्नका लागि नेपाल सरकारले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठन गरेको दुर्घटना जाँच आयोग, २०१८ ले आइकाउ अनुसूची १३ को सिद्धान्तहरु समेतको आधारमा दुर्घटनाको कारणबारे अनुसन्धान गरी तयार पारेको अन्तिम प्रतिवेदन अनुसार पीडित यात्रुहरुको ज्यान जाने गरी भएको उक्त युएस–बंगला बीएस–२११ विमान दुर्घटना प्रतिवादी वायुयान धनीर सञ्चालक युएस–बंगला एयरलाइन्स लिमिटेड र सो कम्पनीबाट उक्त विमान हवाई उडानका लागि खटिएका कम्पनीको प्रतिनिधिरसेवकको रुपमा कार्यरत प्रमुख चालकको गम्भीर हेलचक्रयाइँ, असावधानी, गल्ती र चरम लापरवाहीका कारण भएको हो भन्ने तथ्यका आधारमा पीडितहरुले क्षतिपूर्ति रकमको विशेषज्ञ मूल्यांकन गराई दावी गरेका छन्।
ग्लोबल रिस्क कन्सल्टेन्ट्सले गरेको एक्चुरियल मूल्यांकन प्रतिवेदन समेतको आधारमा बिआरएस नेउपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सले तयार पारेको क्षतिपूर्तिको प्रक्षेपित प्रतिवेदनमा आश्ना शाक्यको परिवारले ३० करोड २५ लाख, एन्जिला श्रेष्ठको परिवारले ३० करोड १९ लाख, मिली महर्जनको परिवारले ३० करोड ५३ लाख, निगा महर्जनको परिवारले २९ करोड ८२ लाख, प्रिन्सी धामीको परिवारले ३० करोड २१ लाख, सञ्जय महर्जनको परिवारले २९ करोड ८५ लाख र श्रेया झाको परिवारले २९ करोड ११ लाख क्षतिपूर्ति दाबी गर्न सक्ने उल्लेख भएअनुसार सोही परिमाणको क्षतिपूर्ति मागदाबी भएको हो।

प्रतिक्रिया