कारोबार


अब मुद्दती र अन्य निक्षेपको ब्याजदर पाँच प्रतिशतभन्दा बढी फरक पार्न नपाइने

अब मुद्दती र अन्य निक्षेपको ब्याजदर पाँच प्रतिशतभन्दा बढी फरक पार्न नपाइने

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार १४:१३,

नेपाल राष्ट्र बैंंकले बैंक तथा वित्तिय संस्थाले मुद्दती निक्षेप र अन्य निक्षेपको ब्याजदरको फरक ५ प्रतिशतभन्दा बढी गर्न नपाइने नीति ल्याएको छ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै राष्ट्र बैंकले बचतकर्ताको संरक्षणका लागि मुद्दती निक्षेपमा दिइने ब्याजको तुलनामा अन्य निक्षेप योजना (कल निक्षेप बाहेक) मा ब्याजदर ५ प्रतिशत बिन्दूभन्दा फरक पार्न नपाइने व्यवस्था गरेको हो।

मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र बैंकदरलाई यथावत राखिएको छ।
त्यस्तै गरि आवधिक प्रकृतिका कर्जाहरु अग्रिम भुक्तानी गर्दा लिइने शुल्क तथा स्वाप शुल्कलाई थप व्यवस्थित गरिने समिक्षामा उल्लेख छ।

स्थिर ब्याजदरमा प्रवाह भएका कर्जाको हकमा ब्याजदर जोखिम बहन तथा श्रोत व्यवस्थापनसँग तालमेल हुने गरी अग्रिम भुक्तानी शुल्क तथा समयावधि निर्धारण गर्न सकिने व्यवस्था गरिनेछ। कोभिड–१९ को असर परेका ऋणीको ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी जस्ता प्रक्रिया केही समयसम्मका लागि स्थगन गर्नुपर्ने व्यवस्था गरिने समेत बताइएको छ।

समक्षिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाबाट विदेशी मुद्रामा ऋण लिएका ऋणीहरु विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट प्रभावित हुन गई विदेशी मुद्रामा सावाँ तथा ब्याज भुक्तानीमा पर्न गएको असहज परिस्थितिलाई दृष्टिगत गरी यस्तो विदेशी मुद्रामा लिएको ऋणको किस्ता नेपाली मुद्रामा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइने छ। अनलाइनमार्फत् निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ।’

त्रैमासिक समिक्षा मार्फत परिर्वतन गरिएको व्यवस्था नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले आजै पारित गरेको हो।

त्यस सम्बन्धी जानकारी पत्रकारहरुलाई भर्चुअल माध्यमबाट दिइएको थियो। कार्यक्रममा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत अन्य पदाधिकारीसमेत सहभागी थिए।

त्रैमासिक समिक्षा मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने बताएको छ।

त्यस्तै व्यक्तिगत अधि विकर्ष कर्जा, शेयरधितो कर्जा तथा रियलस्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने बताएको छ। कोभिड–१९ संक्रमणबाट अधिक प्रभावित भएको देखिएको होटल लगायतका पर्यटन व्यवसाय र पशुपंक्षी पालन व्यवसायलाई प्रदान गरिने पुनरकर्जामा थप सहजीकरण गरिने जानाकारी दिइएको छ।

समिक्षा कार्यक्रममा गर्भनर अधिकारीले चालू आर्थिक वर्षमा कर्जाको ब्याज घट्दा ब्यवसायिक मनोबल बढिरहेको बताए। यद्यपी निक्षेपको ब्याज धेरै घट्नु चिन्ताको बिषय भएको उनले बताए। दुवै किसिमको ब्याजदर स्थिर बनाउने आशय उनले व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad