ad ad

कारोबार


बन्द भएको ८ महिनापछि खुल्दै नेपाल–भारत हवाइ उडान, २ देशका नागरिक मात्रै यात्रा गर्न पाउने

बन्द भएको ८ महिनापछि खुल्दै नेपाल–भारत हवाइ उडान, २ देशका नागरिक मात्रै यात्रा गर्न पाउने

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ७:४९,

आठ महिनापछि भारतीय र नेपाली नागरिक मात्रै यात्रा गर्ने गरी नेपाल–भारत अन्तर्राष्ट्रिय उडान हुने भएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नेपाल सरकारले ०७६ चैतबाट अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।

सरकारले विदेशमा अलपत्र परेका नेपाली ल्याउने भन्दै खाडी देशमा भदौमै नियमित उडान खोले पनि भारतमा भने उडान खुल्ला गरेको थिएन।

भारतले नेपाली र भारतीयलाई मात्रै यात्रा गर्न दिने गरी (एयर बबल्स) उडान गर्न नेपाललाई प्रस्ताव गरेको थियो।

लामो समय उडान बन्द भए पनि भारत र नेपालबीच आउजाउ भने सडकमार्गको बाटोबाट भइरहेको छ। सरकारले अरु देशका नागरिकलाई हवाइ यात्रा गर्न दिने तर भारतमा भएका नेपालीलाई हवाइ उडान गर्न नदिएको भन्दै विरोध हुँदै आएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतको प्रस्तावअनुसार उडान गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। लामो समय रोकेर राखेको प्रस्ताव मंसिर १० गते मन्त्रिपरिषद्ले पारित गरेको हो।

मन्त्रिपरिषद्ले पारित गरेको निर्णय सोमबारमात्रै उड्डयन मन्त्रालयमा आइपुगेको छ। मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उडान खोल्न अनुमति दिएपछि उडानको प्रक्रिया अघि बढ्नेछ।

‘मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा आइपुगेको जानकारी पाएको छु’, प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले नेपालखबरसँग भने, ‘मन्त्रालयले कति उडान गर्न दिने भन्ने पत्र हामीलाई पठाउँछ। हामी त्यसैअनुसार एयरलाइन्सलाई सूचना पठाउँछौँ।’

उनले प्राधिकरणमा मंगलबार पत्र आए सबै तयारी गरेर एक हप्तामा नेपाल–भारत उडान गर्न सकिने बताए। भारतले नियमित उडान भने डिसेम्बर अन्तिमसम्म रोकेको छ।

अहिले दैनिक दुई उडान मात्रै गर्ने तयारी
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालको लागि दैनिक दुई उडान मात्रै गर्ने बताएको छ। नेपाल वायुसेवा निगमको एक र भारतीय एयरलाइन्सले एक उडान गर्ने गरी अनुमति दिइने मन्त्रालयले बताएको छ।

नियमित उडान नखुल्दासम्म तेस्रो देशका नागरिक भने आउजाउ गर्न पाउनेछैनन्। स्वास्थ्य मापदण्ड पालना गर्दै नेपालीहरु भारत र भारतीय नेपाल आउन भने कुनै रोक लगाइनेछैन।

नेपाल–भारतबीच ठूलो व्यापारिक कारोबार हुने हुँदा व्यावसायिक कामको लागि आउजाउ गर्नेलाई समेत अप्ठ्यारो परेको थियो। त्यसको अलावा रोजगारी तथा अध्ययन गर्न जाने विद्यार्थी पनि उडानबन्दीको मारमा छन्।

नेपाल एयरलाइन्सले काठमाडौंबाट भारतको तीनवटा सहर राजधानी नयाँ दिल्ली, मुम्बई र बेंगलोरमा उडान गर्दै आएको थियो। उक्त सहरमा नियमित उडान गर्दै आएकोमा सुरुमा दिल्ली–काठमाडौं उडान मात्रै हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .