कारोबार


२० लाख पर्यटक भित्र्याउन १ अर्ब ३० करोडको बजेट

२० लाख पर्यटक भित्र्याउन १ अर्ब ३० करोडको बजेट

रमेश पाेख्रेल
साउन १४, २०७६ मंगलबार ६:४६,

नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७६/०७७ को लागि करिब १ अर्ब ३० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेकोले बोर्डले सोहीअनुसारको बजेट ल्याउने तयारी गरेको हो।

बोर्डले गत वर्ष १ अर्ब ७५ करोड रुपैयाँको बजेट ल्याएको थियो। गुणस्तरीय पर्यटकको संख्या बढाउन सरकारले प्रचलित पर्यटकीय गन्तव्यको विकास र स्तरोन्नति गरी थप पर्यटकीय गन्तव्य पहिचान र विकास गर्ने कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालखबरलाई बताए। पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाएर सरकारले पूर्वाधार विकास र प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिइरहेको उनको भनाइ छ।

पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटकका लागि अनुकूल सेवा सुविधा विस्तारलाई बोर्डले उच्च महत्व दिएको बताउँदै उनले छुटेका कतिपय विषयलाई बजेटमा समावेश गरिने बताए। 

‘बोर्डको ध्यान डिजिटल मार्केटिङतर्फ उत्तिकै केन्द्रित छ’, बोर्डका सीईओ जोशीले भने। सोहीअनुसार बोर्डले भारत र चीनमा समेत आक्रामकरुपमा विज्ञापन र प्रचार प्रसारमा खर्च गर्ने उनको भनाइ छ। विगतजस्तै यसपटक पनि अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनलाई केन्द्रित गर्दै बजेट तयार पारेको उनले बताए।

भारत र चीनका पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले ती देशमा प्रवर्द्धनात्मका कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिने उनको भनाइ छ। चीन र भारतका पर्यटकलाई यसपटक सरकारले प्राथमिकतामा राखेको छ। सोहीअनुरुप पर्यटन व्यवसाय बाह्रै महिना सञ्चालन हुने गरी आवश्यक व्यवस्था गरिने र भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनको कामलाई तीव्रता दिने लक्ष्य राखिएको बोर्डले जनाएको छ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको सरकारले पहिले नेपाल अनि मात्र विदेश भन्ने अभियानसमेत सञ्चालन गर्न लागेको हो। पर्यटनबाट आयआर्जन र रोजगारी बढाउन मनोरञ्जन प्राकृतिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक तथा साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवर्द्धन तथा सेवा सुविधाको विस्तारलाई यसपटक थप जोड दिइएको छ।

यस्तै युरोपकेन्द्रित कार्यक्रमहरु भइरहेको र अन्तर्राष्ट्रिय टूर अपरेटर तथा विभिन्न ट्राभल एजेन्ट्स संस्थाहरु मिलेर प्रचारप्रसारलाई तीव्रता दिइनेछ। भिजिट नेपाल २०२० का लागि स्वदेशी तथा विदेशी मिडियाहरुमा प्रचारप्रसार गरिनुका साथै अनलाइन मार्केटिङ प्रमोसनलाई समेत यसपटक महत्व दिइएको छ। विशेष गरी चिनियाँ पर्यटकहरुका लागि भाषा समस्या भएको हुनाले अहिले पर्यटक प्रहरीहरुलाई भाषा कक्षाहरु सञ्चालन गरिएको बोर्डले बताएको छ।

गत वर्ष प्रवर्द्धनमा ३७ करोड ३५ लाख, प्रचारप्रसारमा ३२ करोड ५६ लाख ५० हजार, पर्यटन सम्पदा तथा संशोधन विकासमा २४ करोड ३९ लाख ५० हजार, बोर्डको पोखरा कार्यालयका लागि ७६ करोड ६५ लाख, हिमालयन ट्राभल मार्टका लागि २० करोड, बुद्धिष्ट ट्राभल मार्टका लागि १० करोड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयतर्फ ५० लाख तथा कार्यकारी समितिको निर्णयबाट गरिने कार्यक्रममा तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

२०५३ सालमा स्वशासित संस्थाका रुपमा स्थापना गरिएको बोर्डले प्रचार, प्रसारबाहेक पर्यटकीय पूर्वाधारमा पनि बजेट खर्च गर्छ। पदमार्ग मर्मतसम्भार, साइनेज, धार्मिकस्थलको मर्मत आदिका लागि पनि बोर्डले बजेट विनियोजन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad