अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँबराबरको निर्माणकार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले ५, १० र १५ शय्याका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी दिए।
मन्त्रालयका अनुसार यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रुपमा उपलब्ध गराइनेछ।
अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मंसिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया