कारोबार


अन्तिममा दौडधुप गरेर हुँदैन, हामीसँग एसोसिएटहरूको काम गर्ने टिम छः सौरभ ज्योति

अन्तिममा दौडधुप गरेर हुँदैन, हामीसँग एसोसिएटहरूको काम गर्ने टिम छः सौरभ ज्योति

दीपक भट्ट
मंसिर २, २०७७ मंगलबार १४:२१,

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा यही मंसिर ११ र १२ गते काठमाडौंमा हुँदैछ। यसले महासंघलाई नयाँ नेतृत्वसमेत दिने छ।

नयाँ नेतृत्वको लागि निर्वाचन नै हुने भएको छ। विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। जस अनुसार शेखर गोल्छा अध्यक्ष बन्दै छन्। अरु पदको लागि भने निर्वाचन हुनेछ।

निर्वाचनका लागि महासंघमा अहिले दुई प्यानल बनाएर चुनाव प्रचार प्रसार भैरहेको छ। एक प्यानलको नेतृत्व वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले गरेका छन् भने अर्को प्यानलको नेतृत्व चन्द्र ढकालले गरेका छन्।

चन्द्र ढकाल पक्षबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दिएका छन्।

त्यस्तै प्रधान पक्षबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिले उम्मेदवारी दिएका छन्।

ज्योतिले अघिल्लो निर्वाचनमा पनि एसोसिएट उपाध्यक्षको निर्वाचन लड्ने मनसाय व्यक्त गरेका थिए तर निर्वाचनको संघारमा आएर पछि हटेका हुन्। यो पटक भने उनले एसोसिएट उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिइसकेका छन्।

यो निर्वाचन आफ्नो अघिल्लो कार्यकाल देखिकै तयारी भएको ज्योतीले नेपाखबरसँग बताए।

उपाध्यक्षका उम्मेदवार सौरभ ज्योति भन्छन्, ‘महासंघमा एसोसिएट उपाध्यक्षको मेरो तयारी अघिल्लो कार्यकालदेखिकै हो। सबै उद्योगी व्यवसयाीहरुलाई मैले यो पटक एसोसिएट उपाध्यक्षमा उठ्छु भनेर औपचारिक तयारी गरेको पनि डेढ वर्ष भएको छ।’

अब महासंघको निर्वाचन आउन ठिक १० दिन बाँकी रहेको छ। यो अवस्थामा उम्मेदवारहरु चुनावी दौडधुपमा छन्। 

ज्योति भन्छन् ‘अन्तिम सयममा आएर दौडधुप गरेर केही हुनेवाला छैन। उद्योगी व्यवसायीहरु आफैँमा सबै कुरा बुझ्ने हुनुहुन्छ। को कसरी महासंघमा आएको छ र कसले के काम गर्न सक्छ भन्ने उहाँहरुलाई थाहा नै छ। मैले अहिले उद्योगी व्यवसायीहरुलाई सम्झना गराउने काम मात्रै गरिरहेको छु।’

महासंघको निर्वाचनमा प्यानलले पनि उम्मेदवारहरुलाई ठूलो प्रभाव पर्ने देखिएको छ।

एउटा प्यानलको नेतृत्व गरिरहेका किशोर प्रधान महासंघमा लामो समय काम गरेका साना तथा मझौला व्यवसायीहरुका प्रतिनिधि हुन् भने चन्द्र ढकाल ठूलो व्यवसायीक घरनाका हुन्। उनी अहिले सरकारसँग सिधै निजी क्षेत्रको समस्या राख्न सक्ने हैसियतका व्यवसायीको रुपमा चिनिन्छन्।

तर, ज्योति भने आफ्नो प्यानललाई नै व्यवसायीहरुले विश्वास गर्ने बताउँछन्। अर्को प्यानलसँग आफूहरुलाई तुलना नै नगर्न उनको आग्रह छ।

‘हामी भनेको व्यवसायीहरुको लागि काम गर्ने टिम हो। हाम्रो एजेण्डा नै त्यस किसिमको छ। महासंघलाई स्वच्छ बनाउने र व्यवसायीको हितमा काम गर्ने मात्रै हाम्रो एजेण्डा हो’, ज्योति थप्छन्, ‘म आफू पनि एसोसिएट तर्फको उम्मेदवार हुँ, एसोसिएट तर्फको अन्य सदस्यहरु पनि काम गर्ने खालको नै टिम निर्माण गरेका छौं।’

विगतको तुलनामा पछिल्लो समय महासंघको काम गराई कमजोर भैरहेको दुवै प्यानलको आँकलन छ। जस अनुसार दुवै प्यानलका उम्मेदवारहरुले पनि महासंघलाई आगामी दिनमा थप बलियो बनाउने योजना रहेको बताइरहेका छन्।

यस विषयमा ज्योति भने महासंघमा रहेको राजनीति हटाउनुपर्ने र महासंघमा अनुभवी र विज्ञ सचिवालय निर्माण गरेर अघि बढनुपर्ने बताउँछन्।

उनी भन्छन्, ‘विज्ञसहितको प्रोफेसनल सचिवालय आजको आवश्यकता हो। अबको उद्देश्य रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्छ। आर्थिक समृद्धि र सबै सदस्यको हकहितका लागि लड्ने प्रतिबद्धता सबैको हुनपर्छ। तर यो विषयबाट महासंघ अलि बाहिर गइरहेको महसुस भएको छ। अब तथ्य र तथ्यांकका आधारमा काम गर्न सक्ने किसिमले महासंघलाई स्थापित गरिनु पर्छ।’

यसका लागि पनि आफ्नो टीमबाट महासंघको सुदृढीकरणको विषयमा सचिवालयलाई प्राथमिकतामा राखेको उनको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .