ad ad

कारोबार


पुष्प व्यवसायमा दैनिक १ करोड घाटा, तिहारमा १२ करोडको माला बिक्री गर्ने लक्ष्य

पुष्प व्यवसायमा दैनिक १ करोड घाटा, तिहारमा १२ करोडको माला बिक्री गर्ने लक्ष्य

सन्तोष न्यौपाने
कात्तिक २९, २०७७ शनिबार १२:६,

कोरोना संकटले सुनसान रहेका चोकहरु तिहार लागेसँगै व्यस्त हुन थालेका छन्। भाइटीकाका सामान, फूल, माला र झिलिमिली बत्ती किन्नेको भीड ह्वात्तै बढेको छ।

तिहारको चहलपहलसँगै कोरोना संकटले सुस्ताएको बजार केही चलमलाएको भए पनि गत वर्षको दाँजोमा भने पुग्न सकेको छैन। व्यवसायीका अनुसार गत वर्षको तुलनामा ४० प्रतिशतले माग घटेको छ।

‘तिहारको बेलामा अन्य सामान्य दिनको भन्दा माग बढेको छ,’ फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले भने, ‘तर, गत वर्षभन्दा ४० प्रतिशत माग घटेको छ।’

भक्तपुरको गुन्डुकी फूल व्यसायी

यमपञ्चकको अवधिमा फूलको प्रयोग अत्याधिक हुन्छ। यही मागलाई पूरा गर्न स्वदेशी उत्पादकहरु लागिरहेको श्रेष्ठ बताउँछन्। स्वदेशको मागलाई पूरा गर्न यसपाली स्वदेशी उत्पादनै प्रयोग गर्ने र बाहिरबाट नल्याउने नीति लिएको उनको भनाइ छ।

तिहारमा मुलुकभर झन्डै १५ लाख मालाको माग रहेको र ती माला बेच्दा १० देखि १२ करोडको व्यवसाय हुन्छ भन्ने अपेक्षा व्यवसायीको छ।

यो गत वर्षको भन्दा कम हो। गत वर्ष यही अवधिमा १७ करोड रुपैयाँ बराबरको व्यवसाय भएको श्रेष्ठले बताए।

तिहार आउन दुई दिनमात्रै बाँकी रहँदा पनि चोक–चोकमा राखिएको फूल बिक्री स्थलमा खरिद गर्नेहरु उत्साहजनक रुपमा नदेखिएको श्रेष्ठले बताए।

स्वदेशी उत्पादन हुँदाहुँदै विदेशबाट फूल आयात गर्न खोजिएको भन्दै यसलाई रोक्न समेत एसोसियसनले आग्रह गरेको छ। नेपाली उत्पादनमा आत्मनिर्भर हुन किसानलाई संरक्षण दिनुपर्ने र त्यसको लागि आयात रोक्नु पर्ने र सेवा सुविधा बढाउनु पर्ने उनले बताए।

‘बजारको कुल मागको ९१ प्रतिशत स्वदेशी उत्पादनले पुग्छ,’ श्रेष्ठले भने, ‘९ प्रतिशतमात्र विदेशबाट आयात हुन्छ।’ त्यो ९ प्रतिशत भनेको जाडो सिजनमा नेपालमा फूल उत्पादन नहुँदा, भ्यालेन्टाइनमा गुलाफ र सांस्कृतिक पर्वहरुमा धेरै माग हुदा त्यस्तो अवस्थामा फूल ल्याउनु पर्ने बाध्यता रहेको उनले बताए।

No description available. फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ

फूलको ६० प्रतिशत बजार काठमाडौंँ हो। उत्पादनको हिसाबले हेर्दा धेरैजसो बागमती प्रदेशमा खेती भइरहेको छ। यस प्रदेशमा ३ सयभन्दा धेरै व्यवसायीहरु रहेका छन्।

अरु प्रदेशमा पनि व्यवसाय फैलिँदै गएको हुँदा आयात प्रतिस्थापन गर्ने क्षमता रहेको व्यवसायी बताउँछन्।

८ महिनादेखि दैनिक १ करोड क्षति
मुलुकमा कोरोन भाइरसको महामारी फैलिएको ८ महिनाको अवधिमा पुष्प व्यवसाय ठप्प प्रायः रहेको छ। तिहारमा फूलको माग बढेको भए पनि अन्य दिनमा व्यवसाय शून्य अवस्थामा रहेको श्रेष्ठ बताउँछन्।

पछिल्लो ८ महिनादेखि मुलकमा फूलको माग बढ्नेगरी सभा समारोह, पार्टी, विवाह, आजापूजा भएका छैनन्। यसले गर्दा फूलको माग छैन।

‘लकडाउन सुरु भएसँगै पुष्प व्यवसायमा दैनिक १ करोडको क्षति भएको छ,’ श्रेष्ठले भने, ‘८ महिनादेखि विशेष गरी ‘कट फ्लावर’ माग नै छैन्।’ गत वर्ष साढे २ अर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो।

नर्सरीको व्यवसाय भने २० देखि ४० प्रतिशतसम्म भएको उनले बताए। पछिल्लो समय काठमाडौं उपत्यकामा कौसी खेतीको कारणले नर्सरी व्यसायलाई केही चलायमान गराएको उनको अनुभव छ। अहिले समग्र व्यवसाय २० प्रतिशतभन्दा माथि जान नसकेको श्रेष्ठले बताए।

८ महिनादेखि व्यवसाय ठप्प हुँदा जग्गाको भाडा तिर्न नसकेको, रोजगारी भएकालाई तलब दिन नसकेको, सामान खरिद गरेको कम्पनीको भुक्तानी गर्न नसक्ने अवस्था रहेको उनले बताए।

मुलुकमा ७ सयभन्दा धेरै पुष्प व्यवसायीले साढे ६ अर्ब बराबरको लगानी गरेका छन्। ४३ जिल्ला १५७ हेक्टर जमिनमा फूल खेती भइरहेको छ।

यस व्यवसायमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ४३ हजार व्यक्ति संलग्न छन्। कोभिडको कारणले अहिले २० प्रतिशतले रोजगारी गुमाएका उनले बताए।

कोरोना संकटले पुर्‍याएको क्षतिको असर एक/ढेड वर्षसम्म रहने व्यवसायीहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .