ad ad

कारोबार


दसैँभन्दा तिहारमा बढे हवाइ यात्रु, यतीले थप जहाज उडान गर्ने

दसैँभन्दा तिहारमा बढे हवाइ यात्रु, यतीले थप जहाज उडान गर्ने

वसन्त अर्याल
कात्तिक २८, २०७७ शुक्रबार ७:११,

हवाइ कम्पनीहरुले दसैँभन्दा तिहार तथा छठको लागि उपत्यका छोड्ने यात्रुको संख्या बढी भएको बताएका छन्।

सोही कारण कम्पनीहरुले तराईका विमानस्थलमा उडान थप गर्नुपर्ने अवस्था रहेको जानकारी दिएका छन्।

कोभिड १९को महामारीका कारण लामो समय बन्द रहेको आन्तरिक उडान असोज ५ देखि सुरु भएको थियो। आन्तरिक उडान खुले पनि यात्रु भने उल्लेख्य मात्रामा कम्पनीहरुले पाउनसकेका थिएनन्।

दसैँका बेला ८० देखि ९० प्रतिशत अकुपेन्सी भएको जहाज तिहार तथा छठमा फुल अकुपेन्सी भएको हवाइ कम्पनीहरुको भनाइ छ।

yeti airlines plane

विशेषगरी तराईमा मनाइने छठको कारण यात्रुको चाप बढी भएको उनीहरुले बताएका छन्। शनिबारका लागि विराटनगर र भरतपुरका लागि हवाइ टिकट पूरै बुक भएका छन्।

यती एयरलाइन्सले नियमित उडान गरिरहेको भरतपुर यात्रुको अत्यधिक चाप हुँदा उडान थप गर्ने जनाएको छ।

‘दसैँको भन्दा तिहारमा यात्रुको संख्या बढी छ’, यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले नेपालखबरसँग भने, ‘तिहारसँग छठ पनि भएकाले तराई झर्ने यात्रु धेरै छन्। भरतपुरमा थप जहाज उडान गर्दै छौँ।’

यती एयरलाइन्सले दैनिक २० उडान गरिरहेकोमा तिहारमा यात्रुको संख्या बढ्दा चाप भएका विमानस्थलमा उडान थप गर्ने बताएको छ।

कोरोना महामारीका डरले दसैँमा धेरै यात्रुले उपत्यका छोडेका थिएनन्। विस्तारै कोरोनाको डर कम हुँदै जाँदा मानिहरुले आउजाउ गर्नलागेको व्यवसायीको भनाइ छ।

यात्रु नपाएर तोकिएको भाडामा ४० देखि ५० प्रतिशत छुट दिएर कम्पनीहरुले उडान गरिरहेका थिए। तर अहिले फुल भाडामा पनि कुनै गन्तव्यमा टिकट पाउनै मुश्किल रहेको एयरलाइन्सहरुको भनाइ छ।

‘सुरुमा यात्रु नपाएर तोकिएको भाडामा पनि एयरलाइन्स कम्पनीहरुबीच प्रतिस्पर्धा हुँदा भाडा घटेको थियो’, बर्तौलाले भने, ‘अहिले यात्रुको चाप बढेकाले फुल भाडा लिएका छौँ।’

काठमाडौं–भरतपुरको फुल भाडा ३४ सय भए पनि एयरलाइन्सले यात्रु नपाउँदा २ हजारदेखि २५ सयमै यात्रु बोक्ने गरेका थिए।

buddha air udan

बुद्ध एयरले पनि दसैँको तुलनामा तिहारमा यात्रु बढी भएको बताएको छ। निजी क्षेत्रको लगानीको नेपालको ठूलो बजार हिस्सा भएको बुद्ध एयरले अहिले दैनिक ४० बढी उडान गरिरहेको छ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले तिहार तथा छठलाई लक्षित गर्दै यात्रुको संख्या बढेको बताएका छन्। उनले तिहारको अवस्था हेर्दा हवाइ कम्पनी निराश हुने अवस्था नरहेको बताएका छन्।

‘अधिकांश गन्तव्यमा जहाजमा फुल अकुपेन्सी रहेको छ’, जोशीले भने, ‘दसैँको तुलनामा अहिले यात्रुको संख्या बढी छ।’

कम्पनीले विराटनगर, सिमरा, भरतपुर, भैरहवाका विमानस्थलमा बढी यात्रु रहेको बताएको छ। 

श्री एयरलायन्सका बजार प्रबन्धक अनिल मानन्धरले भने तिहारको समयमा यात्रुको केही चाप बढे पनि टिकट नै नपाउने अवस्था नरहेको बताए। उनले सामान्य अवस्थाभन्दा यात्रुको संख्या बढेको बताए।

yeti simara udan 112

काठमाडौं छोड्ने मात्रै होइन फर्किँदा पनि यात्रु
चाडपर्वको समयमा एकतर्फी यात्रुको संख्या बढी हुँदा उपत्यका छाड्दा यात्रुले टिकट नपाउने तर फर्किँदा जहाज खालि फर्किनुपर्ने अवस्था हुने गरेको थियो। यो वर्षको दसैँमा पनि उपत्यका छाड्ने यात्रुको अकुपेन्सी ८०–९० प्रतिशत हुँदा काठमाडौं फर्किने १५–२० प्रतिशत मात्रै हुने गरेको थियो।

यति एयरलाइन्सका बर्तौलाले काठमाडौं फर्किने ७८ सिटे एटीआर जहाजमा पनि ७० बढी यात्रु पाउने गरेको बताए।

‘तीन चार दिन भयो यात्रुको संख्या बढेको छ। काठमाडौंबाहिर जाने मात्रै नभई उपत्यका भित्रिने पनि यात्रु छन्’, उनले भने।

एयरलाइन्स कम्पनीले छठसम्म दुईतर्फी नै राम्रो बुकिङ रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .