कारोबार


यस वर्ष घट्यो आलुको उत्पादन, खेतमै पाथीको डेढ सय

यस वर्ष घट्यो आलुको उत्पादन, खेतमै पाथीको डेढ सय

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ४:१६,

गत वर्ष ४० मुरी आलु भित्र्याएका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाए।

बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम भयो। तमानखोला गाउँपालिका–४ लाम्मेला बागलुङका छन्त्यालले भने,‘यस वर्ष आलु राम्रो फलेन, कसैलाई त बिउ जोगाउनै ठिक्क भयो।’

चार वर्षअघिसम्म आफूले ७० मुरीसम्म आलु उत्पादन गरेको छन्त्याल बताउँछन्। आलु कम फलेपछि यो वर्ष भाउ पनि महँगियो। शुरुमा एक पाथी आलु १०० मा बिके पनि पछि बढेर गाउँमै १५० सम्म पुगेको छ। अधिक पानी परेका कारण आलुको उत्पादन घटेको वडाध्यक्ष उदिम छन्त्यालले बताए।

‘अहिले ७० प्रतिशतसम्म आलु उत्पादन घट्यो, आलुमा निर्भर यहाँका किसान मर्कामा छन,’ उनले भने। लाम्मेलाको मुख्य बाली नै आलु हो। आलु बेचेर किसानले बजारदेखि चामल र दैनिक उपभोग्य सामानको जोहो गर्छन् । किसानले आलुबाहेक मकै, कोदो, जौ, फापरको खेतीको गर्छन् । लाम्मेलामा धान फल्दैन।

वडाध्यक्ष छन्त्यालका अनुसार लाम्मेलाका २५० घरमै आलु खेती हुन्छ । औसतमा हरेक घरमा वार्षिक १० क्विन्टलका दरले आलु फल्छ । सिङ्गै गाउँभरि गर्दा दुई हजार ५०० क्विन्टलभन्दा बढी आलु उत्पादन हुन्छ । दुई हजार ३०० मिटरको उचाइमा अवस्थित लाम्मेलामा फलेको आलु स्वादिष्ट र स्वस्थकर मानिन्छ । गाउँ भित्रिने अतिथि÷पाहुनालाई टक्र्याउने पहिलो परिकार पनि आलु नै हुन्छ।

लाम्मेलाको आलु बिक्रीका लागि सदरमुकाम बागलुङ बजारलगायत टाढाका शहरी क्षेत्रसम्म पुग्छ । ठूला व्यापारीहरु गाउँमै पुगेर किसानबाट आलु खरिद गर्छन् । धेरै जग्गामा आलु लगाउने किसानले आलुबाटै भएको कमाइले घरधन्दा चलाउँछन् । उत्पादन बढेका बेला कुनै परिवारले त डेढ÷दुई लाखसम्म कमाउँछन्।

बसाइँसराइ, श्रमशक्तिको विदेश पलायन इत्यादि कारणले पछिल्लो समय आलु खेती विस्तारै कम हुँदै गएको वडाध्यक्ष छन्त्यालको भनाइ छ। ‘यो ठाउँ आलु बाली प्रशस्त हुने ठाउँ हो, अहिले सडक आएपछि बजारीकरणमा पनि कुनै समस्या छैन,’ उनले भने। बेमौसममा समेत आलु बेच्नका लागि वडाले भण्डारण गृह बनाउने योजना बनाएको छ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले छ वटै वडामा आलु खेती हुने गरेको जानकारी दिए। उनका अनुसार गाउँपालिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु ‘जोन’ कार्यक्रममा समावेश छ । उक्त परियोजनामार्फत गत वर्ष आलु किसानलाई कृषि सामग्री र औजार वितरण गरिएको थियो । यो वर्ष कृषि समूह निर्माण, बिउ वितरणलगायतका कार्यक्रम भइरहेका छन्।

‘आधुनिक सीप र प्रविधि दिलाएर किसानलाई व्यावसायिक उत्पादनतिर लगाउने गाउँपालिकाको पनि योजना छ’, अध्यक्ष बुढाले भने। कृषि शाखाका प्राविधिक मोतीप्रसाद न्यौपानले चालु आवमा कृषिमा ३८ लाख बजेट विनियोजन गरिएको जानकारी दिए। सेमी हाइटेक टनेल, प्लाष्टिक टनेल, मिनिटिलर हलो, मौरीपालन, ओखर, किवी, च्याउखेतीलगायतमा बजेट खर्च गरिने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad