ad ad

कारोबार


प्रधान समूह सुदूरपश्चिममा, नौ वटै जिल्ला संघले समर्थन गरेको दाबी

प्रधान समूह सुदूरपश्चिममा, नौ वटै जिल्ला संघले समर्थन गरेको दाबी

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ८:५६,

नेपाल उद्योग वाणिजय महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तिब्र पारेका छन्।

यस क्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षहरु पशुपति मुरारका, जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी दिनेश श्रेष्ठ लगायतसँगै प्रधानले सुदूरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन्।

महासंघमा किशोर प्रधान र दिनेश श्रेष्ठको धेरै लामो अनुभव भएकाले जिल्ला नगरको भावना बुझ्न सक्ने क्षमता भएका व्यक्तिलाई सर्वसम्वत् निर्वाचित गरिनुपर्ने सुदूर पश्चिमका जिल्ला नगरका प्रतिनिधिहरुले बताएका छन्।

बुधवार महेन्द्रनगरमा भएको मतदातासँगको भेटघाट कार्यक्रममा उपस्थित जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले किशोर प्रधानलाई एकजुट भएरै निर्वाचित गराउने प्रतिबद्धता जनाएका हुन्।

भावी अध्यक्षले समर्थन गरेको समूहलाई मत दिएको खण्डमा महासंघको नयाँ कार्यसमिति बलियो हुने जिल्ला नगरका अध्यक्षहरुको भनाई छ।

कार्यक्रममा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्द, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देव बहादुर रोकाया, डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्ट, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्ना, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेली, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प बहादुर कुवँर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लको सहभागिता रहेको थियो।

डोटी र अछाम उद्योग वाणिज्य संघका अध्यक्ष भने कोभिड संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन सकेनन्। उनीहरुले भर्चुअल माध्यमबाट किशोर प्रधानलाई एक ढिक्का भएर समर्थन गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।

आफ्ना मतदाताहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले महासंघको शाख जोगाउन र जिल्ला नगरका वास्तविक समस्याको पहिचान गर्दै समाधान गर्न जिल्ला नगरतर्फका व्यक्ति महासंघको नेतृत्वमा पुग्नु पर्ने बताए।

उनले निर्वाचन भिडले नभई भोटले जितिने सन्देश प्रवाह गर्दै महासंघलाई नयाँ उचाई दिने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका थिए। आफू भिड जम्मा गर्न नभई भोट जम्मा गर्न अभियानमा लागेको भन्दै भोटको उचित सदुपयोग गर्न पनि उनले मतदाताहरुसँग आग्रह गरेका छन्।

अनुभवले नतिजा देखाउन सकिने भन्दै महासंघको शाखा अझै उकास्न बलियो र सबल कार्यसमिति चयन गराउनुपर्ने प्रधानको भनाई थियो। महासंघका भावी अध्यक्ष गोल्छा सहितको आफ्नो समूहले मात्र महासंघलाई नयाँ उचाईमा पुर्याउने प्रधानले बताए।

कार्यक्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा धेरै काम गर्ने योजना बनाएको र त्यसका लागि प्रधानको समूह आवश्यक रहेको बताएका थिए। गोल्छाले आफूलाई अनुभवी मान्छेसँग काम गर्ने चाहना भएकाले प्रधानको समूहलाई नेतृत्वमा ल्याउने वातावरण बनाइदिन मतदातासँग आग्रह गरेका थिए।

प्रधानले जनकपुरबाट सुरु गरेको मतदाता भेटघाट कार्यक्रम मध्य नेपाल हुँदै सुदूर पश्चिम पुगेको हो। जिल्ला नगरका प्रतिनिधिहरुसँगको भेटघाट अभियान अझै जारी रहेको प्रधानले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .