कारोबार


दैलेख सदरमुकाममा टेलिकमले सुरु गर्‍यो ‘फाइबर टु द होम’ फोन सेवा

दैलेख सदरमुकाममा टेलिकमले सुरु गर्‍यो ‘फाइबर टु द होम’ फोन सेवा

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ९:१०,

नेपाल टेलिकमले दैलेखको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ।

गत कात्तिक १५ गते स्तरोन्नती सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच)मार्फत सञ्चालन गरिएको हो । पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको छ।

हाल सो क्षेत्रमा जम्मा १०२४ लाइन एफटीटीएच नेटवर्क क्षमता छ। पुरानो तामाको तार अर्थात कपरबाट सञ्चालित करिब ४१५ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १०६ लाइन समेत वितरण गरिएको छ। सो नगरपालिकामा एफटीटीएच लाइन प्रयोगकर्ताको संख्या ५ सय २१ पुगेको छ । यसले नारायण नगरपालिकाअन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ।

यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको छ। नेपाल टेलिकमले मुलुकका विभिन्न सहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ।

एफटीटीएच सेवाको माध्यमबाट इन्टरनेट सेवा तथा आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा समेत प्रयोग गर्न सकिन्छ। त्यसैगरी केही समयमा यसबाटै आइपी टिभी (टेलिभिजन सेवा) समेत उपलब्ध हुनेछ। परम्परागत तामाको तारको सट्टामा ग्राहकहरुका घरसम्म अप्टिकल फाइबर पु¥याई आइपीमा आधारित ट्रिपल प्ले (अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र श्रव्यदृश्य सेवाहरु) प्रदान गर्न सकिने भएकोले ग्राहकहरुका लागि यो सेवा आकर्षक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad