२५ सेप्टेम्बर २०१८ मा नेपालमा सुरु भएको पाठाओ राइड सेयरिङले ‘पठाओ फुड’ पनि सुरु गरेको छ। स्टार्टअप बिजनेसमा छलाङ मारिरहेको पठाओ काठमाडौंमा पूर्णरुपमा स्थापित भएको छ।
सन् २०१५ मा बंगलादेशबाट सुरु भएको पठाओ विभिन्न झन्झट व्यहोर्दै काठमाडौंमा आफ्ना सेवा थप गर्दै गएको छ। सुरुमा राइड सेयरिङमा मोटरसाइकलमा ध्यान दिएको पठाओले अहिले ट्याक्सीलाई आबद्ध गराएको छ।
पठाओले दशैँअघिबाट ट्याक्सी र मोटरसाइकलको सेवासँगै खाना डेलिभरीको सेवा पनि दिन सुरु गरेको हो। पठाओले विभिन्न रेष्टुरेन्टसँग आबद्ध गर्दै आफ्नो फुड सेवा विस्तार गर्दै लगेको छ। अहिले पठाओमार्फत सेवाग्राहीले आफूले पन परेको कुनै पनि रेस्टुरेन्टको परिकार अर्डर गर्न सक्नेछन्।
पठाओले फुड सेवा एकदमै छिटो रहेको कम्पनीले जनाएको छ। ‘अर्डर अएपछि जतिबेला बाटो पर्छ त्यतिबेला पुर्याउने भन्ने हुँदैन’, पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले भनिन्, ‘अर्डर आइसकेपछि डेलिभरी ब्वायले रेस्टुरेन्टका खानाको परिकार बोकेर सिधै सेवाग्राहीकोमा जान्छ। एट द टाइम सिग्गल डेलिभरी गर्छौँ।’
पठाओले अर्डर गरेको ४५ मिनेटदेखि १ घण्टाभित्रै डेलिभरी भइसक्ने दाबी गरेको छ।
‘सेवाग्राहीले अर्डर गरेको ४५ मिनेटदेखि १ घण्टाभित्रै सेवा पाउनेछन्। ग्राहकले तातो खाना नै पाउने व्यवस्था गर्छौँ’, हमालले भनिन्।
फुड सर्भिस प्रोभाइडर काठमाडौंमा थुप्रै छन्। सेवाग्राहीले छिटो सेवा नपाउने तथा आफूलाई आवश्यकभन्दा पनि बढी अर्डर गर्नुपर्ने अवस्था छ। कुनै सर्भिस प्रोभाइडरले न्यूनतम ३÷४ सयको अर्डर गर्नुपर्ने व्यवस्था गरेका छन्। यस्तो अवस्थामा आफूलाई मन परेको १५० वा २०० को परिकार अर्डर गर्न सक्दैन।
पठाओले भने सय रुपैयाँ सेवाशुल्क लिएर जति रुपैयाँको पनि अर्डर गर्नसक्ने बताएको छ। उनका अनुसार ग्राहकले जति रुपैयाँको पनि अर्डर गर्नसक्छन्। पठाओले थोरै वा धेरै जति अर्डर गरे पनि सेवा शुल्कबापत सय रुपैयाँ लिन्छ।’
अहिले यो सेवा रिङरोडबाहिरका बूढानीलकण्ठ र भैसेपाटी क्षेत्रमा उपलब्ध छ भने रिङरोडभित्रका सबै क्षेत्रमा उक्त सेवा उपलब्ध छ। कोभिड १९को महामारी भएको कारणले पनि विस्तारै विस्तारै काठमाडौं उपत्यकाका सबै क्षेत्रमा विस्तार हुने कम्पनीले जानकारी दिएको छ।
ट्याक्सी वा बाइक राइडरले आफ्नो इच्छाअनुसार काम गर्न पाउँछन् तर फुड राइडरले ८ घण्टा नै काम गर्नुपर्ने हुन्छ। फुड डेलिभरी बयले ब्याग बोकिरहनुपर्ने भएकाले खटिनैपर्ने व्यवस्था गरिएको पठाओले उल्लेख गरेको छ।
कोभिडका बीच यात्रुलाई पठाओले दियो ठूलो राहत
कोभिड १९ को महामारी काठमाडौं उपत्यकामा फैलिँदा पठाओले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराएको छ। सार्वजनिक यातायातमा जोखिम रहेको अवस्थामा पठाओको सेवाले धैरैलाई राहत भएको छ।
लकडाउनको समयमा बन्द भएको पठाओले जोर विजोर सुरु भएपछि भने धेरैलाई सेवा दिइरहेको छ। पठाओले सेवा प्रवाह गर्दा सुरक्षाका मापदण्ड अपनाएरै सेवा उपलब्ध गराएको छ।
पठाओले अहिले राइडरलाई सुट, मास्क, स्यानिटाइजर उपलब्ध गराएको छ। पठाओमा आबद्ध भएका ट्याक्सीमा ड्राइभर र यात्रुको बीचमा प्लास्टिकको सिल राखिएको छ।
काठमाडौं उपत्यकामा अहिलेसम्म जोर विजोर प्रणालीको व्यवस्थाले धेरै राइडरले आम्दानी गुमाउनुपरिरहेको छ। महिनामा १५ दिन मात्रै चलाउन पाउँदा उनीहरुको आम्दानी घटेको हो।
पठाओले अहिलेसम्म करिब ६५ हजार बाइक राइडरलाई तालिम दिएको छ। जसमा अहिले ५ हजारले सेवा उपलब्ध गराइरहेका छन्।
‘कोभिडको बीचमा धेरै जनालाई तालिम दिन सकिएको छैन। अहिले पनि दैनिक १०÷१५ जनालाई तालिम उपलब्ध गराइएको छ। अहिले अनलाइनबाट ट्रेनिङ दिइएको छ। हाम्रो पुरानो राइडर धेरै भएकाले सबैले काम गर्ने अवस्था पनि छैन’, हमालले भनिन्।
अहिले पुराना टे«निङ लिएका सबैलाई रद्द गरिएको कम्पनीले जनाएको छ। उनले भनिन्, ‘कोभिड महामारीका कारण अहिले जो राइडर पठाओको अफिसमा आएर सुट लैजानुभएको छ। उहाँले मात्रै राइड गर्न पाउने व्यवस्था गरेका छौँ।’
ट्याक्सीहरु पठाओमा आबद्ध भएपछि यात्रु पाउन सजिलो भएको छ। कोरोनाका बीचमा पठाओमा आबद्ध भएका ट्याक्सीको ८० प्रतिशतसम्म बिजनेस पठाओमार्फत नै हुने गरेको कम्पनीले दाबी गरेको छ।

प्रतिक्रिया