कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ।
असोज २ गतेबाट सञ्चालनको अनुमति पाए पनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको हो।
सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै दुई सयभन्दा बढी पर्यटकहरु रमाउने गरेका छन्। विगतभन्दा संख्यात्मक हिसाबले कम भए पनि लकडाउनपछिको अवस्थामा आन्तरिक पर्यटन केही सन्तोषजनक छ।
अहिले देशभरका मठमन्दिरजस्तै फेवातालबीचमा रहेको तालवाराही मन्दिर बन्द छ। यद्यपि डुंगाबाटै मन्दिर परिक्रमा गर्ने आन्तरिक पर्यटकहरुको चहलपहल भने बढ्दो छ । विगत वर्षहरुमा दैनिक ८ सयभन्दा बढी आन्तरिक पर्यटकहरु घुम्न पुग्ने फेवातालमा अहिले २ सय हाराहारीमा पर्यटन आउने गरेका छन्।
अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा सञ्चालनमा छन्। विगतका वर्षहरुजस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन्। नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिनसके बाह्य पर्यटकहरुको आगमन बढ्ने फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले बताए।
फेवातालमा सयर हुने पर्यटक र अन्य डुंगा चालकहरुले स्वास्थ्य सुरुक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ। सबैभन्दा महत्वपूर्ण साबुनपानीले हात धुने र मास्क अनिवार्य गरिएको छ। तापक्रम नापेपछि भने लाइफ ज्याकेट दिएर ढुंगामा बस्न दिइने फेवा डुंगा व्यवसायी संमितिले जनाएको छ।
प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई स्यानिटाइजर गरेर पुनः प्रयोगमा ल्याइने गरेको छ । डुंगामा भौतिक दुरी कायम गर्ने गरिएको छ।

प्रतिक्रिया