ad ad

कारोबार


बजार माग नहुँदा २० प्रतिशतले घट्यो भाइमसलाको मूल्य

बजार माग नहुँदा २० प्रतिशतले घट्यो भाइमसलाको मूल्य

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ९:४४,

तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ।

भाइमसलाको मूल्य घटे पनि कोभिड—१९ को जोखिमका कारण व्यापार भने आधाभन्दा बढीले घटेको छ। चाड तिहारको पाँचौँ दिनमा पर्ने भाइटीकामा हिन्दू परम्पराअनुसार भाइमसला अनिवार्य हुन्छ।

भाइमसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेललगायत पर्छन्। यी मसलाहरुको गुणस्तरअनुसार फरक भए पनि विगत वर्षभन्दा कम रहेको असन क्षेत्रमा व्यापार गर्दै आएका संजयदत्त तुलाधरले बताए।

मूल्य कम भए पनि ग्राहक न्यून संख्यामा मात्रै आउने गरेको उनले बताए।

बजारमा पसलहरुअनुसार मूल्य भने फरक छ। होलसेल पसलबाट खुद्रा व्यापारीहरुलाई समान प्रकारले छुट सुविधा भए पनि खुद्रा पसलहरुमा मूल्य फरक पाइएको हो।

सामानको गुणस्तरअनुसार मूल्य फरक भएको व्यवसायीहरु बताउँछन्। दैनिक उपभोग्य वस्तुको मूल्य बढे पनि भाइमसलाको मूल्य कम भएको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताए। विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको उनको भनाइ छ।

यो वर्ष बजारमा काजु प्रतिकिलो १ सय रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ। किसमिस सय रुपैयाँसम्म, पेस्ता, नरिवल ५० रुपैयाँले घटेको छ। यसैगरी छोकडा प्रतिकिलो २० रुपैयाँ र सुकुमेल किलोमा ५ सय रुपैयाँसम्मले घटेको खुद्रा व्यापार संघले जनाएको छ।

होटल, रेस्टुरेण्ट, मिठाइ पसलहरुमा मसला बिक्री हुने गरे पनि कोभिड—१९ का कारण होटल व्यवसाय नै कमजोर बनेकाले मसलाको व्यापार पनि खस्केको हो। व्यापारीहरुले धेरै समयसम्म गोदाममै सामान राख्दा बिग्रिने डरले पनि यो वर्ष सस्तोमा दिनथालेका हुन्।

अहिलेपनि कोभिड —१९ को जोखिम कायमै रहेको छ। सरकारले चाडपर्वहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .