कारोबार


राष्ट्रिय वाणिज्य बैंकद्वारा युवाका लागि निशुल्क तालीम, सहुलियतपूर्ण कर्जा

राष्ट्रिय वाणिज्य बैंकद्वारा युवाका लागि निशुल्क तालीम, सहुलियतपूर्ण कर्जा

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार १४:३७,

उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान (स्टार्ट अप आईडीया कल) आयोजना गर्ने भएको छ।

युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको बिशेष उपस्थीतिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

यस कार्यक्रम मार्फत प्रवाह गरीने कर्जा न्युनतम एक देखि अधिकतम तीन प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए।

समझदारी पत्र हस्ताक्षर समारोहमा बोल्दै मन्त्री अरुण नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निशुल्क रुपमा तालीम प्रदान गर्ने बताए।

ज्ञान, सीप र प्रविधि सहित निकै सस्तो ब्याजदरमा बिना धितो युवाहरुले कर्जा समेत प्राप्तगर्ने भएकाले यो आर्थिक वर्षमा एकसय भन्दा बढि नयाँ स्टार्टअप कम्पनीहरु स्थापना हुने मन्त्री नेपालले बिश्वास ब्यक्त गरे।

नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका पूर्ण प्याकेज सहितको कार्यक्रम डिजाइन गरिएको जानकारी दिए।

नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधा मा भएका युवाहरुलाई निशुल्क रुपमा सरकार, निजी क्षेत्र सहितको साझेदारीमा यो कार्यक्रम अगाडि सारेको फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेको भनाई रहेको छ।

समझदारी अनुसार मङ्सीर पहिलो हप्ताबाट आइडिया कल सुरु हुने छ। पुस र माघ महिनामा आइडिया पठाउने युवाहरुलाई तालीम प्रदान गरी फागुन र चैत्र महिनामा सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ। नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने आयोजकहरुले बताएका छन्।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad