एनएमबी बैंक र वन तथा वातावरण क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्वारा प्रवर्द्धन गरिएको बकस रिन्युएबल ईनर्जी प्रालिबीच १६ करोडको ऋण सम्झौता भएको छ। वायोमास पेलेट उत्पादनको लागि दुईपक्षबीच समझदारी भएको हो।
इक्विटीका रुपमा ५ करोड रुपैयाँ र बकस रिन्युएबल इनर्जी कम्पनीका प्रमोटरहरुद्वारा अर्को ५ करोड बराबरको लगानी रहेको छ। एनएमबी बैंकले प्रदान गर्ने १६ करोड बराबरको कर्जा रकमलाई कम्पनीले वायोमास पेलेट मेशिन खरीद गर्ने कार्यमा र चालु पूँजीमा उपयोग गर्ने कम्पनीले जानकारी गराएको छ।
यस परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडीको वायोमासलाई पेलेटको रुपमा परिवर्तन गरेर औद्योगिक एव घरायसी ऊर्जाको लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने जानकारी गराइएको छ।
सर्लाहीमा स्थापना हुने यस आयोजनाले प्रति वर्ष १९ हजार ८२४ मेट्रिक टन बराबरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको छ। पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनावाट प्राप्त गरिने छ। सागरनाथ वन क्षेत्रमा हरेक वर्ष उम्रने वनमारा तथा अन्य झाडीहरु यस उद्योगको लागि कच्चा पदार्थ हुनेछ।
वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनमा रहेका वनमारा तथा झाडीजन्य वायोमास बकस रिन्यूएवललाई नियमानुसार २० वर्षका लागि उपलव्ध गराउने सम्बन्धी सम्झौता गरिसकेको छ। प्रत्येक वर्ष सागरनाथ वन विकास परियोजनाले यस्ता झाडी तथा पातपतिंगर हटाई वन डढेलो नियन्त्रण गर्ने कार्यको लागि ठूलो रकम खर्च गर्दै आएको छ।
भर्चुअल बैंठकमा बोल्दै बिजिनेस अक्सिनका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले यो अत्यन्त उत्साहजनक लगानी रहेको बताउँदै यसवाट वातावरणीय अनुकूलनमा सहयोग पुग्ने र स्वच्छ ऊर्जाको क्षेत्रमा मार्ग प्रशस्त भई मुलुकभित्र नै कोईलाको विकल्प तयार हुने जानकारी गराए।
बकस रिन्युएवल ईनर्जीका अध्यक्ष सन्तोषमणि नेपालले यो योजनाले कोइला र जीवावशेष इन्धनको औद्योगिक प्रयोग घटाउनका साथै वन क्षेत्रको वरपरका विपन्न र जोखिममा रहेका परिवारहरुलाई रोजगारी प्रदान गर्न सक्ने बताए।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले कोईला तथा जीवावशेष ईन्धनको उपयोग कटौति गरी कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जाका संसाधनको प्रवद्र्धन गर्ने लक्ष्य भएको बीओ२ को लगानी रहेको परियोजनासँग सहकार्यले राम्रो नतिजा दिने विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया