ad ad

कारोबार


विदेशी पर्यटक नेपाल आउन सुरु, २५ जनाले लिए अनुमति

विदेशी पर्यटक नेपाल आउन सुरु, २५ जनाले लिए अनुमति

वसन्त अर्याल
कात्तिक ३, २०७७ सोमबार ७:९,

विदेशी पर्यटक नेपाल आउन सुरु गरेका छन्। सरकारले कात्तिक १ देखि अनअराइभल भिसा खोलेसँगै पर्यटक नेपाल आउन सुरु गरेका हुन्।

सरकारले हिमाल आरोहण र पदयात्राका लागि तीनवटा शर्त पूरा गरी नेपाल आउन दिएको छ। जसमा नेपाल आउने पर्यटकको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, नेपाल आएर सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने र नेपाल आउनुपूर्व आरोहण वा पदयात्राको लागि हो भने एजेन्सीमार्फत अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

नेपाल पर्यटन बोर्डले नेपाल सरकारको शर्तअनुसार पर्यटन नेपाल आउन सुरु गरेको बताएको छ।

‘नेपाल सरकारले तोकेको मापदण्ड पालना गरी पदयात्रा गर्ने पर्यटक सोमबारदेखि नै आउँदै हुनुहुन्छ’, बोर्डका एक अधिकारीले भने, ‘नेपालका विभिन्न ५/६ एजेन्सीमार्फत अहिलेसम्म १५ जनाले पद यात्राको लागि अनुमति पाइसकेका छन्।’

सरकारले पदयात्रा (ट्रेकिङ)को लागि १२ वटा क्षेत्र खुल्ला गरेको छ। जसअनुसार कञ्चनजंघा, एभरेष्ट, लाङटाङ, अन्नपूर्ण सर्किट, मार्दी हिमाल, मनाङ, मुस्ताङ, डोल्पा, हुम्लाका ट्रेकिङ क्षेत्र, मनास्लु, हेलम्बु र रुवीभ्याली क्षेत्र ट्रेकिङका लागि खुल्ला गरिएको छ।

स्थानीय पर्यटन व्यवस्थापन समितिले भिनुडाँडादेखि अन्नपूर्ण बेस क्याम्प तथा घान्द्रुक क्षेत्र भने बन्द गरेको टानले उल्लेख गरेको छ।

सरकारले पदयात्राको लागि आउने पर्यटकसँग कुन क्षेत्रको पदयात्राका लागि आउने हो, एजेन्सीले पर्यटन बोर्डसँग अनुमति लिनुपर्नेछ। एजेन्सीको निवेदनअनुसार पर्यटन बोर्डले अध्यागमन विभागमा भिसा दिनको लागि अनुरोध गरेको छ।

हिमाल आरोहणका लागि १० जनाले पाए अनुमति
पदयात्राको लागि पर्यटन बोर्डसँग अनुमति लिनुपर्छ भने हिमाल आरोहणको लागि पर्यटन विभागसँग अनुमति लिनुपर्ने व्यवस्था रहेको छ। पर्यटन विभागले दुई हिमाल आरोहणका लागि १० जनाको टोलीलाई भिसा सहजीकरण गर्न अध्यागमन विभागलाई पत्र पठाइसकेको छ।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार शरद ऋतुका लागि नोभेम्बर १ देखि ६० दिनसम्मका लागि हिमुङ (७१२६ मिटर) हिमाल आरोहणका लागि ४ जना आउनलागेका छन्।

ट्याग नेपाल ट्रेकस एण्ड एक्स्पिडिसन प्रालिले विभागसँग हिमुङ हिमाल आरोहणका लागि बेलायत, इटाली, जोर्डन र युएईका चार नागरिकलाई आउन अनुमति दिन विभागमा निवेदन दिएको थियो।

त्यसैगरी अक्टोबर २७ देखि ४५ दिनसम्मका लागि अमादब्लाम (६८१४ मिटर) हिमाल आरोहणका लागि आउन लागेका छन्। अमेरिकाका ५ र कतारका १ जना अमादब्लाम आरोहणका लागि श्री हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्स्पिडिसन प्रालिले पर्यटन विभागमा अनुमति माग गरेको थियो।

पर्यटन विभागले उनीहरुको आरोहण दललाई भिसा सहजीकरण गर्न अध्यागमन विभागलाई पत्र पठाइसकेको छ। उनीहरु ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने भएकाले मंगलबार नै नेपाल आउनेछन्।

कोभिड १९ को समयमा नेपाल आउन पुरानै पर्यटकलाई चासो
केही वर्षको अन्तरालमा नेपाल घुम्ने पर्यटक नै कोभिडको समयमा नेपाल आउन खोजेको पर्यटन बोर्डले जनाएको छ। ‘२/३ वर्षको अन्तरालमा नेपाल आउने पर्यटक नै पदयात्राका लागि आउन खोजेका छन्’, बोर्डका अधिकारीले भने।

पर्यटन व्यवसायीले कोभिड १९ को समयमा नेपाल सरकारले तोकेको मापदण्ड पालाना गरी नेपाल आउन चाहेको भन्दै सरकारलाई पर्यटन क्षेत्र खुल्ला गर्न दबाब दिँदै आएका थिए।

नेपाल पर्यटन विभागकी निर्देशक मिरा आचार्यले पनि हिमाल आरोहणको सिजन भएकाले चासो राख्ने बढी नै भएको बताएकी छन्।

‘अटम सिजनमा हिमाल आरोहण गर्ने धेरै हुन्छन्। सरकारले विदेशी पर्यटकलाई हिमाल आरोहण खुल्ला गरेपछि धेरै नै इन्क्वाइरी आइरहेका छन्’, उनले भनिन्।

पर्यटन व्यवसायीले पीसीआर रिपोर्ट नेगेटिभ ल्याएर आउने पर्यटकलाई सात दिन क्वारेन्टिन राख्ने कुरा व्यावहारिक नभएको बताउँदै आएका छन्। उनीहरुले क्वारेन्टिन राख्नैपर्ने भए बढीमा ३ दिन क्वारेन्टिन राख्न सरकारलाई सुझाव दिँदै आएका छन्।

यसअघि नै कोभिड १९ को समयमा बहराइनका राजपरिवार सदस्यसहितको टोलीलले लोबुचे हिमाल र मनास्लु हिमाल आरोहण गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .