कारोबार


दशैँ आउनुअघिको दुई महिनामै भित्रियो साढे तीन करोडको तास

दशैँ आउनुअघिको दुई महिनामै भित्रियो साढे तीन करोडको तास

नेपालखबर
असोज २७, २०७७ मंगलबार ९:४१,

मुलुक कोरोनाले अस्तव्यस्त भएसँगै व्यापार व्यवसाय शिथिल छन्। रोजगारीहरु गुमेका छन्।

तर, विदेशबाट फजुल खर्चका वस्तु आयात भने रोकिएका छैनन्। यस्तै एक उदाहरण हो तासको आयात।

कोरोना संकटकै बीच पछिल्लो दुई महिनामा मुलुकमा ३ करोड ४२ लाख १५ हजार बराबरको तास आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनसार साउन र भदौ महिनामा मात्रै उक्त मूल्यबराबरका १६ लाख १० हजार २ सय ५८ प्याकेट तास आयात भएका हुन्।

मुलुकको सबैभन्दा ठूला चाडपर्वहरु दशैँ, तिहार, छठ नजिएका छन्। दशैँ, तिहारलाई तास खेल्ने अवसरको रुपमा लिइन्छ। दशैँ आउनुअघिको दुई महिनामा उक्त तास भित्रिएका हुन्।

हुन त गत वर्षभन्दा यसपालि यस्तो तासको आयात घटेको छ। गत वर्षको पहिलो दुई महिनाको तुलनामा यस वर्षको सोही अवधिमा तासको आयात झण्डै २८ प्रतिशतले घटेको छ।

गत वर्ष साउन र भदौ महिनामा ४ करोड ७३ लाख ३० हजार रुपैयाँबराबरका ३३ लाख ४१ हजार प्याकेट तास आयात भएका थिए।

मुलुकमा वर्षेनी करोडौंको तास आउने गरेको छ। गत वर्ष २०७६÷०७७ विभिन्न मुलुकबाट २३ करोड ५४ लाख ९३ हजार रुपैयाँबराबरको १ करोड ३२ लाख ६७ हजार ६ सय २२ प्याकेट तास आयात भएको थियो। जसबाट मुलुकले १२ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

गत वर्ष मुलुकमा भित्रिएका तास अघिल्लो वर्षको तुलनामा झण्डै साढे दुई करोडले कमी हो।

त्यसअघि आर्थिक वर्ष २०७५/०७६ को तथ्यांकअनुसार उक्त वर्ष मुलुकमा २५ करोड ६ लाखभन्दा धेरैको तास भित्रिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा १४ करोड ५७ लाख रुपैयाँको तास ल्याइएको थियो।

तासलाई जुवाको रुपमा लिइन्छ। मुलुकको कानुनले यो खेल्नु कानुनविपरीत हुने ठहर गरेको छ। कानुनमै प्रतिबन्धित तासको आयात भने खुलेआम भइरहेको छ।

दशैँ, तिहारजस्ता चाडपर्वमा धेरै खेलिने तास हरेक पानपसलदेखि ठूला डिपार्टमेन्ट स्टोरसम्म किन्न पाइन्छ। सस्तोदेखि महंगो मूल्यका विभिन्न स्तरमा पाइने तास खेल्न सरकारले कडाइ गरे पनि त्यसको बिक्री वितरणमा भने खुलेआम छोडिदिएको छ।

सरकारले व्यापारघाटा कम गर्ने नीति लिइरहेको बेला कानुनी रुपमै बन्देज रहेको तास भने वर्षेनी करोर्डौं रुपैयाको आयात भइरहेको छ।

कुनै पनि वस्तुको आयात रोक्न सक्ने अर्थ मन्त्रालयले तासलाई मनोरञ्जनका रुपमा लिएकाले पनि आयात प्रतिबन्ध लगाउन नसकिने बताउँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad