कारोबार


मन्त्री भट्टको विदेशी मदिरा मोह, नेपाली उत्पादन नबिकिरहेका बेला आयातलाई प्राथमिकता

मन्त्री भट्टको विदेशी मदिरा मोह, नेपाली उत्पादन नबिकिरहेका बेला आयातलाई प्राथमिकता

दीपक भट्ट
असोज २५, २०७७ आइतबार १४:५४,

चैतमा विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको सरकारले ६ महिनामा आफ्नाे निर्णय उल्ट्याएकाे छ।

त्यतिबेला सरकारले प्रतिबन्ध लगाउनुपर्ने कारण समेत उल्लेख गरेको थियो। कोरोना संकटको कारणले अर्थतन्त्र तहसनहस हुनलागेकोले ब्यापार घाटा कम गराउन विलासी वस्तु प्रतिबन्ध लगाउनुपर्ने देखिएको बताइएको थियो।

नेपालमा खपत नहुने तेस्रो मुलकबाट आयात भएर भारत निकासी भैरहेको सुपारी, केराउ, मरिच, छोकाेडा, ५० हजार डलरभन्दा बढि मूल्यका गाडी र मदिराको आयातमा त्यतिबेला सरकारले रोक लगाएको थियो।

अर्थतन्त्रमा समस्या पार्ने भनी यहि सरकारले ६ महिनाअघि प्रतिबन्ध लगाएकोमा अहिले झन् अर्थतन्त्र तहसनहस नै भैसकेको अवस्थामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको प्रस्तावमा सरकारले विदेशी मदिरा खुलाउने निर्णय गरेको छ।

सरकारले विदेशी मदिरालाई कुनै आवश्यकताका आधारमा आंशिक मात्रै खुलाएकाे नभई पूर्ण रुपमा नै खुल्ला गरेको छ।

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आपूर्ति मन्त्रालयको प्रस्तावमा विदेशमा तयार गरिएका मदिरा खुल्ला गर्ने र त्यसको लागि राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय भएको हो।

याे पनि: सरकारले विदेशी मदिरा आयातमाथिको प्रतिबन्ध हटायाे

यो अवस्थामा विदेशी मदिरा आयात फुकुवा गर्नुलाई नेपाली उत्पादकहरुले भने स्वदेशी उद्योगलाई संकटमा पार्ने सरकारको कदम भनेका छन्।

मदिरा उत्पादक संघका महासचिव गुरुप्रसाद अधिकारीले अहिले नेपाली बजारमा विदेशी मदिराको कुनै आवश्यकता नै नरहेको बताए।

उनले नेपाखबरसँग भने ‘पहिलो कुरा त अहिले मदिरा उपभाेग र व्यवसाय नै ओरालो लागेको हुँदा नेपाली उद्योगमा नै माग आउन छोडेको छ,’ उनले भने, ‘जसले गर्दा नेपाली उद्योगीहरु मारमा छन्।’

त्यसैगरी विदेशी मुद्रा संचय गर्नको लागि पनि अहिले नेपालले विदेशी मदिरामा बन्देज लगाइएको उनको भनाइ छ। ‘अहिले के नयाँ परिस्थिति आयो र सरकारले खोल्याे?’ उनले प्रश्न गरे।

सरकारले सोचविचार नगरी यो अनुचित निर्णय गरेको उनको ठहर छ।

वर्षभरिमा सबैभन्दा बढि माग आउने भनेको दशैं तिहार र आसपासकै अवधिमा नै हो। तर यो वर्ष यतिबेलामा विगतका वर्षमा सबैभन्दा कम माग हुने असार साउनको जस्तै अवस्था छ। उद्योगहरु संचालन भएर पूर्ण क्षमतामा उत्पादन नै नरहेको उनको भनाइ छ।

मन्त्री भट्टले किन खुलाए विदेशी मदिरा?
चैतमा बन्देज लगाएइएको वस्तुहरुमा धेरैजसो बस्तुकाे मन्त्री भट्टले आयात खुलाइसकेका छन्।

उनले केराउ, मरिच, सुपारीजस्ता वस्तुको आयात आंशिक खुल्ला गर्ने निर्णय गराइसकेका छन्।

योपटक उनले मदिरा पूर्णरुपमा खुलाउने निर्णय गराउन सफल भएका छन्। चैतमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको आग्रहमा देशलाई थप व्यापार घाटाबाट जोगाउने दृष्टिकोणका साथ यी वस्तुहरु छनोट गरी प्रतिबन्ध लगाउने निर्णय भएको थियो। त्यतिबेला याे अवधारणा खतिवडाकाे थियाे भने प्रस्ताव मात्रै आपूर्ति मन्त्री भट्टले लगेका थिए।

नेपालका उत्पादनमुलक उद्योगहरु संकटमा परेको अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले मदिरालगायत वस्तु खुलाउनु शंकास्पद रहेको महासचिव अधिकारी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad