कारोबार


प्राधिकरणले पहिलोपटक तोक्यो नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकबीच सम्झौताको ढाँचा

प्राधिकरणले पहिलोपटक तोक्यो नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकबीच सम्झौताको ढाँचा

नेपालखबर
असोज २२, २०७७ बिहिबार ९:१४,

नेपाल दूरसञ्चार प्राकिरणले पहिलोपटक ब्यान्डविथ नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकबीच हुने सम्झौताको ढाँचा तोकिदिएको छ।

ग्राहकको इन्टरनेट स्पिडमा धेरै समस्या आएको गुनासो आएपछि त्यस समस्यालाई समाधान गर्ने आशासहित सम्झौताको उक्त ढाँचा तोकिदिएको हो।

अब इन्टरनेट ब्यान्डविथ बिक्री गर्ने नेटवर्क सेवा प्रदायक र ग्राहकसँग इन्टरनेट पुर्‍याउने इन्टरनेट सेवा प्रदायक (आईएसपी)बीच व्यावसायिक सम्झौता हुँदा प्राधिकरणले तोकेको सम्झौता ढाँचाअनुसार गर्नुपर्नेछ। आफूखुसी सम्झौता गर्न पाउनेछैनन्।

नेटवर्क सेवा प्रदायकले उपलब्ध गराउने ब्यान्डविथ र गुणस्तरमा ग्राहकको गुनासो धेरै आउन थालेपछि प्राधिकरणले नै सम्झौताको ढाँचा तयार पारिदिएको हो।

प्राधिकरणले बुधबार सूचना जारी गर्दै दुई सेवा प्रदायकबीच सम्झौता हुँदा उसले तोकेको ढाँचाअनुसार गर्नुपर्ने जनाएको छ। प्राधिकरणले इन्टरनेट ब्यान्डविथ सेवाको लागि गरिने सम्झौताको ढाँचा र इन्ट्रानेट सेवाको लागि गरिने सम्झौताको ढाँचा भनेर दुई ढाँचा तोकिदिएको छ।

यसअघि पनि नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकबीच आपसी सम्झौता हुँदै आएको थियो। नेटवर्क सेवा प्रदायकले उपलब्ध गराएको ब्यान्डविथको गुणस्तरमा समस्या देखिँदा ग्राहकको इन्टरनेटमा असर गर्दै आएको थियो।

ग्राहकको इन्टरनेटको स्पिडमा समस्या धेरै आएपछि ब्यान्डविथ उपलब्ध गराउने सेवा प्रदायक र ग्राहकसमक्ष इन्टरनेट पुर्‍याउने सेवा प्रदायकबीचको सम्झौता हुँदा अनिवार्य ब्यान्डविथ, गुणस्तर, ब्यान्डविथ घटबढ हुँदा जानकारी गराउनुपर्ने लगायतका जानकारी रहेको ढाँचा प्राधिकरणले तयार पारेको प्रवक्ता मीनप्रसाद अर्यालले बताए।

‘यसअघि पनि उनीहरु बीच आपसी सम्झौता हुन्थ्यो तर अब प्राधिकरणले तोकेको नमूनामा सम्झौता गर्नुपर्नेछ’, अर्यालले भने, ‘यस ढाँचामा इन्टरनेट गुणस्तर कस्तो हुने, ब्यान्डविथ कति हुने लगायतका कुरा खुलाउनुपर्ने बाध्यकारी नियम तोकिएको छ।’

अब नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच व्यावसायिक सम्झौता हुँदा यस ढाँचाअनुसार गर्नुपर्नेछ।

यो पनि– इन्टरनेट सेवा प्रदायक १२२ पुगे, व्यवसायी भन्छन्: ‘प्रतिस्पर्धा अस्वस्थ भयो’

प्राधिकरणको तथ्यांकअनुसार नेपालमा हाल १७ वटा नेटवर्क सेवा प्रदायक रहेका छन् भने इन्टरनेट सेवा प्रदायक (इमेलसहित) १७ रहेका छन्।

नेपालमा नेटवर्क सेवा प्रदायकहरुमा मर्कनटाइल कम्युनिकेसन, कम्युनिकेसन एण्ड कम्युनिकेट नेपाल, वर्ल्डलिंक कम्युनिकेसन, वेभसर्फर नेपाल कम्युनिकेसन, सुबिसु केबलनेट, रोविन श्रेष्ठ, ब्राडलिंक नेटवर्क एण्ड कम्युनिकेसन, क्लासिकटेक छन्।

त्यसैगरी, अन्य ब्यान्डविथ सेवा प्रदायकहरमा टेकमाइन्डस् नेटवर्क, नेपाल डिजिटल सर्भिस, एनसेल, भायनेट कम्युनिकेसन, नेपाल इन्फ्रा एण्ड कम्युनिकेसन, पर्सा टेलिकम्युनिकेसन, बाराही इन्टरनेट टेक्नोलोजी, फर्स्टलिंक कम्युनिकेसन र डिशहोम नेटवर्क रहेका छन्।

मुलुकमा इन्टरनेटको विस्तार तीव्र भइरहेका बेला इन्टरनेट सेवा प्रदायकहरुको संख्या थपिँदै गएको छ। मुलुकमा अर्बौं लगानी गर्ने राष्ट्रिय स्तरका इन्टरनेट सेवा प्रदायकदेखि स्थानीयस्तरमा ‘लोकल’ इन्टरनेट सेवा प्रदायक पनि छन्।

सानो बजारमा थपिँदै गएका दर्जनौं इन्टरनेट सेवा प्रदायकबीच भने पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको स्वयं व्यवसायीहरु बताउन थालेका छन्।
सेवा प्रदायकबीच तीव्र प्रतिस्पर्धाले उपभोक्तालाई फाइदा पुगे पनि व्यवसायलाई नकारात्मक असर पर्ने गरी प्रतिस्पर्धा बढेको उनीहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad