कारोबार


कलेज पढ्दापढ्दै जसले सुरु गरे नेपाली ब्रान्ड बेच्ने ‘दरबार मार्ट’

कलेज पढ्दापढ्दै जसले सुरु गरे नेपाली ब्रान्ड बेच्ने ‘दरबार मार्ट’

सन्तोष न्यौपाने
असोज १८, २०७७ आइतबार ११:६,

व्यवसाय सुरु गर्न ठूलो लगानी चाहिन्छ भन्ने छैन। जीवनको लक्ष्य स्पष्ट भएकाहरुले सानै उमेरमा सानै लगानीबाट व्यवसाय सुरु गरेका बग्रेल्ती उदाहरणहरु छन्।

तिनै उदाहरणमध्ये पर्छन् यी चार युवा– सञ्जय कार्की, विष्णुराज भट्ट, अनुप गौतम र साइल केसी।

चार युवाको एउटै लक्ष्य छ– नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्ने।

स्नातक पढ्दै गरेका २२–२३ उमेरका यी चार युवाले इ–कमर्स प्लेटफर्म ‘दरबार मार्ट’ खोलेर सानै उमेरमा आफ्नो लक्ष्यको बीजारोपण गरिसकेका छन्।

‘कलेज पढ्दापढ्दै पनि व्यवसाय गर्न सकिन्छ भने किन नगर्ने?’, सञ्जयले आफ्नो व्यवसायबारे नेपालखबरसँग भने, ‘नेपाली इ–कमर्सको लार्जर पिक्चर (ठूलो क्षेत्र) देखेर नै हामीले हात हालेका हौैँ।’

सानो उमेर भए पनि उनीहरुसँग ठूलो विश्वास छ। उनीहरुलाई लाग्छ– सानै लगानीबाट पहिलो खुट्किलाको आधार बनाउन सकिन्छ। अहिले त्यही आधार बनाइरहेका छन् यी चार युवा।

व्यवसाय सुरु गरेको एक वर्ष भइसक्दा सोचेजस्तै आधार तयार भएको उनीहरु बताउँछन्। फेसबुक पेजबाट व्यवसाय सुरु गरेका यी चार युवाको दरबारमार्ट एक वर्ष पुगिसक्दा ‘ब्रेकइभन’मा पुग्दै छ। व्यवसाय विस्तारै फैलिँदै छ।

Main image durbar mart

फेसबुक पेजबाट दरबारमार्ट
सञ्जय १२ कक्षा पढ्दै थिए। उनलाई त्यही बेलादेखि अनलाइन सपिङमा रुचि थियो। भर्खर कलेज छिरेका सञ्जयले मनको रहरलाई पूरा गर्ने सजिलो विधि अपनाए, फेसबुक पेज। उनले दरबारमार्ट भन्ने फेसबुक पेज बनाए।

दशैँ आउनै लागेको थियो। अलिकति पैसा जुटाएर त्यही समयमा प्रयोग हुने केही कपडा किने। ‘मैले सुरुमा ७० हजार लगानी गरेको थिएँ’, सञ्जयले भने, ‘त्यसबाट केही कपडा किनेर फेसबुक पेजमा राखेँ।’

फेसबुक पेजबाटै सामानको मार्केटिङ सुरु गरे। सामानहरुको अर्डर आउन थाल्यो। बिक्री बढ्नथाल्यो। त्यसबाट भएको आम्दानीबाट उनले सामान थप्दै गए।

फेसबुकबाट राम्रो प्रतिक्रिया आउँदा थप काम गर्न हौसला मिल्यो। त्यसबाट उनलाई यस व्यवसायलाई ‘इ कमर्स प्लेटफर्म’मा लैजाने सकिन्छ भन्ने लाग्यो।

उनको मनमा थियो– नेपालमा विदेशी अनलाइन सपिङदेखि सामानको प्रभाव बढ्दै गएको छ। नेपाली उत्पादनहरुले ठाउँ पाउन गाह्रो छ।

durbar mart12

‘मैल नेपाली ब्रान्ड प्रवद्र्धन गर्दा व्यवसाय पनि राम्रो हुने र हाम्रो देशलाई पनि राम्रो हुन्छ भन्ने लाग्यो’, उनले भने।

एक्लै सम्भव थिएन। थप लगानीको कुरा पनि छ। उनी ‘टिम बिल्डिङ’मा लागे। इ–कमर्सको लागि सबैभन्दा पहिला त वेबसाइट चाहियो। उनले पहिलो प्रस्ताव वेबसाइट म्यानेजमेन्टको लागि विष्णुराजलाई राखे। जो वेबसाइट म्यानेजमेन्ट गर्न प्रखर थिए।

‘मैले फेसबुक पेजबाट यस्तो काम गरिरहेको छु। रेस्पोन्स राम्रो छ’, सञ्जयले विष्णुलाई प्रस्ताव राखे, ‘अब हामीले वेबसाइट बनाएर अनलाइन व्यवसाय सुरु गरौँ।’

विष्णुलाई सञ्जयको आइडिया राम्रै लाग्यो। विष्णु वेबसाइट बनाउनेतिर लागे। व्यवसाय अगाडि बढाउन मार्केटिङ र सामान अर्डरको जिम्मा लिने थप दुई जना आवश्यक थियो। उनले आफूसँगै कलेज पढ्दै गरेका अन्य दुई साथीहरु अनुप गौतम र साइल केसीसँग पनि प्रस्ताव राखे।

स्नातक पढ्दै गरेका विद्यार्थीहरु, जोसँग लगानी गर्न पैसा थिएन। सुरुमा आशंका थियो, कस्तो हुने हो भन्ने।

सञ्जयले नेपालमा इ–कर्मसको भविष्यबारे बताए। ‘अहिले हामीलाई केही दुःख होला, तर भविष्यमा इ–कमर्स नै हो गर्ने’, उनले साथीहरुलाई नेपालमा फस्टाउँदै गएको इ–कमर्सको ‘लार्जर पिक्चर’ देखाए।

सञ्जयको पहिलेदेखिको योजना थियो– आफ्नो व्यवसायलाई नेपाली ब्रान्डसँग सहकार्य गर्ने। नेपाली ब्रान्डलाई प्रवद्र्धन गर्दै इ–कमर्समा हात हाल्ने प्रस्तावमा साथीहरु पनि सहमत भए। डेढ महिनामा वेबसाइट तयार भयो। वेबसाइट बनाउने क्रममै फेसबुक ग्रुप बनाउनेदेखि भेन्डरसँग ‘टाइअप’ गरिरहेका थिए।

चारै जनाले जिम्मेवारी बाँडे। मकवानपुर दामनका कार्की समग्र व्यवसाय हेर्ने गरी प्रबन्धनिर्देशक छन् भने नेपालगञ्जका विष्णुराज भट्टले वेबसाइट व्यवस्थापन गर्छन्। काठमाडौंमै घर भएका दुई साथीहरु साइल केसी मार्केटिङको काम गर्छन् भने अनुप गौतमले अर्डर म्यानेजमेन्टको काम गर्छन्।

व्यवसायसँगै उनीहरुको कलेज पनि पढ्दै छन्। सञ्जय, विष्णुराज र अनुपले कलंकीमा रहेको हिमशिखर बोर्डिङ स्कुलमा कम्प्युटर साइन्स पढ्दै छन् भने विष्णुराजले एकान्तकुनामा ट्राभल्स एण्ड टुरिजम पढ्दै छन्। कलेज पढ्ने विद्यार्थीसँग पैसा थिएन। सबै जनाले केही लगानीको लागि घरमा ‘कन्भिन्स’ गरे।

‘हामीले घरबाट एक/एक लाख मात्र लगानी ल्याएका हौँ’, सञ्जयले भने, ‘यति लगानी गर्दा डुबिहाले पनि ठूलो भार पर्ने थिएन।’ कलेज गएर पनि व्यवसाय गर्न सकिन्छ भने किन नगर्ने भन्ने सोच चारै जनामा भयो।

चार लाख लगानीले के व्यवसाय सम्भव छ? कुनै पनि व्यवसाय एकै पटक ठूलो गर्नुपर्छ भन्ने छैन। त्यसमाथि विद्यार्थी। कलेज गएर व्यवसाय चलाउने र त्यसलाई विस्तार ठूलो बनाउने उनीहरुको सोच थियो।

durbar mart10

उनीहरुलाई सुरुमा सामान किन्न लगानी गर्नुपर्दैनथ्यो। भेन्डरलाई सामान बेचेर एक हप्तामा भुक्तानी गर्दा हुन्छ।

‘हाम्रो प्रमुख खर्च कार्यालयको खर्च, मर्केटिङ, वेबसाइट र प्रशासन खर्च हो। हामीले त्यही लगानीबाट व्यवस्थित गर्दै गयौँ’, सञ्जयले भने।

अहिले उनीहरुलाई घरबाट थप लगानी ल्याउनुपर्ने स्थिति छैन। दरबारमार्ट सुरु गरेको एक वर्ष भइसक्दा ‘ब्रेक इभन’मा पुगेको उनी बताउँछन्। ७ जना स्टाफ राखेका छन्।

नेपाली ब्रान्डमा ध्यान
सञ्जयले सुरुदेखि नै नेपाली ब्रान्डहरुमा फोकस गरेर व्यवसाय गर्ने सोच राखेका थिए। जुन अहिलेको उनको टिमको उद्देश्य पनि त्यही छ।

आफ्नो वेबसाइटमा ‘मेड इन नेपाल’मा नेपाली उत्पादनहरु बेचिरहेका छन्। अहिले उनीहरुले ९ वटा नेपाली ब्रान्डका सामान राखेका छ्न। जसमा कपडादेखि हेन्डिक्राफ्ट रहेका छन्। यसलाई थप गर्दै जाने योजना उनीहरुको छ।

‘जुन एपारल’देखि सांग्रिला ब्रान्डका नेपाली कपडाहरु ग्राहकको रोजाइ रहेका छन्। खेर गएका टायर, बोतल तथा प्लाष्टिकलाई रिसाइकल गरेर बनाइएका ‘टायर ट्रेजरिज’का नयाँ उत्पादनहरु पनि उनीहरुसँग छन्।

केटाहरुको लागि तयार पारिएका रोयल डाँफेका कपडाहरु पनि दरबारमार्टमा उपलब्ध छन् भने विशेष क्रिएसनका महिलाका परम्परागत डिजाइनका कुर्ताहरु पनि छन्।

durbar mart11

सेभेन स्टिच ब्रान्डका नेपाली मेन्स वयर र नेपालको चर्चित गोल्डस्तरका जुत्ताहरुका पनि राखेका छन्। त्यस्तै, ठमेलमा पाइने नेपाली कपडा उत्पादन गर्ने ओकिल हेन्डिक्राफ्ट र भिरजिन्स ब्रान्डका जिन्सहरु पनि उनीहरुले राखेका छन्।

६ महिनादेखिका कोरोना भाइरस (कोभिड १९) संक्रमणले मुलुकको अर्थतन्त्रलाई क्षति पु¥याइरहेको बेला अनलाइन प्रविधिमा आधारित सेवाहरुमा पनि अवसर भएको छ। बेला–बेलामा हुँदै आएका लकडाउनले अनलाइन व्यवसायलाई थप प्रवद्र्धन गर्न सहयोग पुगेको सञ्जयको पनि भनाइ छ।

यही बेला दशैँ आएको छ। दशैँ नजिकिए पनि कोरोना भइरस संक्रमणले बजारमा चहलपहल बढ्नसकेको छैन। यस्तो अवस्थामा अनलाइन सपिङ उपयुक्त माध्यम हुने उनी बताउँछन्।

‘उपभोक्ता बाहिर गएर सामान किन्न नसक्ने भएकाले हामीले दशैँको अवसर पारेर विभिन्न छुटका अफरहरु ल्याएका छौँ’, सञ्जयले भने, ‘हाम्रोबाट सामान किन्दा ६० प्रतिशतसम्म छुट स्किम ल्याएका छौँ।’

त्यस्तै ५० हजारसम्मको बम्पर उपहार ल्याएको उनले बताए। मोबाइल खरिदमा एक हजारसम्मको क्यासब्याक ल्याएका छन् भने ल्यापटप खरिदमा २५ प्रतिशत छुट राखेका छन्।

फेसबुक पेजबाट सुरु गरेको दरबारमार्ट एक वर्षको अवधि अफर ल्याउने भइसकेको छ। व्यवसाय नाफामा लगेर अझ विस्तार गर्न बाँकी नै छ।

तर, व्यवसाय गर्न चाहने युवाहरुलाई सञ्जयको भनाइ छ, ‘सानो लगानीबाट केही गर्न सकिँदैन भन्ने होइन, सानैबाट सुरु गरेर ठूलो बनाउने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad