२०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठने तरखरमा छन्। दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ।
काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रबलिकरण विधि मार्फत पुननिर्माणको काम भइराखेको हो।
२०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मूख्य प्रशासनिक भवन सहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार विस्तारै उठने प्रक्रियामा छन्। दरबारहरुमा रहेका ऐतिहासिक पुरातात्विक सम्पत्तिहरुको मौलिकतामा कुनै क्षति नहुने गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रबलिकरण विधिमार्फत पुनर्निर्माण गरिरहेको छ।
प्राधिकरणका अनुसार सिंहदरबारको मूख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूर्ण कार्य आगामी मंसिर महिना भित्रमा सम्पन्न हुनेछ। यो भवनको पुनर्निर्माणको काम सम्पन्न भएपनि फायरफाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षा लगायतको काम भइराखेको प्राधिकरणका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले बताए। यो भवनको कुल लागत भ्याट बाहेक ५५ करोड ९४ लाख रपैयाँ रहेको छ।
त्यस्तै सिंहदरबारको पश्चिमपट्टीको मोहडाको पुनर्निर्माणले पनि तिब्रता पाएको छ। यो भवन पनि प्रबलिकरण विधिमार्फत पुनर्निर्माण भइराखेको हो। ऐतिहासिक महत्वका वस्तुहरुलाई जस्ताको तस्तै जोगाउने गरी पुरानै निर्माण सामग्रीकोे प्रयोग गरी पुरानै विधिमार्फत काम भइराखेको विश्वकर्माले बताए। यो भवनको कुल लागत भ्याट बाहेक ५० करोड रुपैयाँ छ भने हालसम्म ३५ प्रतिशत प्रगति भएको छ। यो भवन २०७८ भदौ ५ गते भित्रमा सम्पन्न हुनेछ।
त्यस्तै काठमाडौंको केसरमहल दरबारको पूननिर्माण हालसम्म २० प्रतिशत सम्पन्न भएको छ। भ्याट बाहेक ५९ करोड ५० लाख रुपैयाँ बजेटमा पुननिर्माण हुन लागेको यो दरबार २०७८ मंसिर १२ गते भित्रमा सम्पन्न हुनुपर्नेछ।
बबरमहल दरबारको निर्माण कार्यमा पनि २० प्रतिशत प्रगति भएको प्राधिकरणका आयोजना उपनिर्देशक विश्वकर्माले बताए। यो दरबारको कुल लागत भ्याट बाहेक ८६ करोड रुपैयाँ छ भने यसको पुनर्निर्माण २०७८ असार मसान्त सम्ममा सम्पन्न भइसक्नुपर्नेछ।
यस्तै बालमन्दिरको पुनर्निर्माणमा पनि १५ प्रतिशत प्रगति भएको छ। भ्याट बाहेक कुल ५५ करोड रुपैयाँ लागतमा पुननिर्माण भइरहेको यो दरबार २०७८ मंसीर मसान्त सम्ममा सम्पन्न हुनेछ।
चारवटै दरबारको पुनर्निर्माण हुँदा ऐतिहासिक पुरातात्विक कलाकृतिहरु नविग्रने गरी पुरानै निर्माण सामग्रीको प्रयोग गरिएको छ। सुर्कि, फलाम, चुना, काठ लगायतको प्रयोग गरेर पुरानै विधिबाट प्रवलिकरण गरिरहेको आयोजना उपनिर्देशक विश्वकर्माले बताए। पुननिर्माणको काम हुँदा राष्ट्रिय भवन निर्माण संहिताले मागेको सुरक्षा प्रत्याभुत हुने गरी प्रबलिकरणको काम भइरहेको पनि विश्वकर्माले बताए।
पुरानै शैलि, पुरानै निर्माण सामग्री, पुरानै पद्धति र पुरानै कलाकृतिलाई ‘जस्ताको तस्तै तर बलियो प्रशस्तै’ भन्ने सिद्धान्तबाट पुनर्निर्माणको काम भइरहेको उनले बताए। तर सिंहदरबारको पूर्वी मोहडाको पुननिर्माणमा भने छड र सिमेन्टको प्रयोग गरिएको छ। यसअघि २०३० सालमा आगलागीबाट क्षति भएपछि यो भवनको निर्माण सिमेन्ट र छडको प्रयोग भई गरिएको थियो। त्यसैले अहिले पनि पर्खालको भित्र र बाहिर ज्याकेटिङ प्रविधि मार्फत बाँधेर प्रबलिकरण गरिएको उनले बताए।
दरबारहरुको पुनर्निर्माण तोकिएको समयमा सम्पन्न हुनेमा भने कोभिड–१९ का कारण चुनौति थपिएको छ। निर्माण सामग्रीको नियमति आपूर्ति श्रृंखलामा असर परेको र देश बाहिरबाट निर्माण सामग्री ल्याउन नसक्दा समस्या भएको प्राधिकरणका आयोजना उपनिर्देशक विशवकर्माको भनाई छ।
यसबाहेक कोभिडकै कारण दक्ष कालिगढहरुको समेत अभाव भएको छ। तरपनि कालिगढहरुलाई अतिरिक्त काम गर्ने वातावरण तयार गरेर भएपनि समयमै सम्पन्न गर्ने योजनाका साथ काम गरिएको उनले बताए।
Shares

प्रतिक्रिया