ad ad

कारोबार


प्रबन्धक थापा र सहायक श्रेष्ठद्वारा सहकारीको साढे ६७ लाख रकम हिनामिना, कारबाही गर्न आनाकानी

प्रबन्धक थापा र सहायक श्रेष्ठद्वारा सहकारीको साढे ६७ लाख रकम हिनामिना, कारबाही गर्न आनाकानी

नेपालखबर
असोज १३, २०७७ मंगलबार ७:१९,

धादिङको थाक्रे गाउँपालिका (साबिक गोगनपानी गाविस)मा रहेको एक सहकारीका दुई जिम्मेवार पदाधिकारीले संस्थाको लाखौँ रकम हिनामिना गरेका छन्।

थाक्रे गाउँपालिका वडा नं. ११ को सानाकिसान कृषि सहकारी संस्था लिमिटेड गोगनपानीको ६७ लाख ४५ हजार ६ सय ७४ रुपैयाँ सोही संस्थाका प्रबन्धक शिव बहादुर थापा र संस्थाका सहायक राजन श्रेष्ठले हिनामिना गरेका हुन्।

स्रोतका अनुसार संस्था सहायक श्रेष्ठले ५० लाख ३५ हजार २२२ रुपैयाँ र थापाले १७ लाख १० हजार ४५२ रुपैयाँ हिनामिना गरेका छन्। उनीहरु दुवैले गत असार मसान्तसम्म अपचलन गरेको उक्त रकम एक महिनाभित्र अर्थात् असोज ३ भित्र संस्थालाई बुझाउने भन्दै गत भदौ ३ गते सञ्चालक समितिलाई पत्र लेखेका थिए।

पत्रमा उनीहरुले उक्त अवधिमा रकम बुझाउन नसके संस्थाको विनियम, सहकारी ऐन तथा प्रचलित कानुनबमोजिम कारबाही गरेमा समेत मेरो मञ्जुरी रहनेछ भन्ने समेत उल्लेख गरेका छन्। ३ गतेसम्म हिनामिना गरेको रकम बुझाउने भने पनि उनीहरुले असोज ४ गते मात्र हिनामिना गरेको रकम चेक र नगदसहित भुक्तानी गरेको स्रोतले जानकारी दियो।

यसरी पत्ता लागेको थियो हिनामिना प्रकरण
एक जना सेयर सदस्यले गत असार १९ गते आफूले लिएको ऋणको ब्याज बुझाउन जाने क्रममा बिल काट्न अनुरोध गर्दा सहायक राजन श्रेष्ठले तपाईंको ९ लाख ९० हजार ऋण रहेको भन्दै त्यसको ब्याज मागेका थिए। उक्त ऋणीले आफूले ७ लाख मात्र ऋण लिएकोमा कसरी २ लाख ९० हजार भयो भन्ने प्रश्न गर्दै आफ्नो स्टेटमेन्ट मागेका थिए। त्यसपछि श्रेष्ठले भोलि आउन अनुरोध गरेका थिए।

त्यसपछि ऋणीले सञ्चालक समितिसँग विस्तृत विवरण माग गरे। त्यसलगत्तै सञ्चालक समितिले अनियमितता भएको छ है भन्ने हिसाबले असार अन्तिम साता बैठक बस्यो। त्यसपछि लगत्तै साउन १० तिर धेरै ऋणीहरुको नामबाट अन्य रकम पनि हिनामिना भएको आशंकामा सञ्चालक समितिको १, २ जना सदस्यले गजुरीमा रहेको एक बैंकबाट लेखा समितिको मान्छे ल्याएर हेर्न बोलाएका थिए। बैंकका कर्मचारीले हिनामिना भएको रकम थापा र श्रेष्ठको नाममा बेरुजु रहेको पाएका थिए।

सञ्चालक समितिले अझै धेरै रकम अनियमितता भएको आशंकामा सहकारीको लेखा समिति, सञ्चालक समितिको उपस्थितिमा छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेको थियो। लगत्तै भदौ ३ गते दुवै जनाले असोज ३ गते तिर्ने निवेदन पेस गरेका थिए। त्यसपछि यो प्रकरण बाहिरिएको थियो

सहकारीको रकम अनियमितता गरे पनि उनीहरु भदौ ३ पछि पनि काममा गइरहेका थिए। सेयरसदस्यले तीव्र विरोध गरेपछि दुवै जनालाई अहिले पदबाट बर्खास्त गरिएको छ। पैसा उठेपश्चात् अन्तर्समूहको सदस्यसहित सेयर सदस्यको विचार बुझेर प्रोत्साहन भत्ता र सेवा सुविधाबारे निर्णय गर्नुपर्ने माग गरे पनि हिनामिनामा संलग्न दुवै ले आफूले तिर्नुपर्ने रकम तिरेको भन्दै आफूहरुले पाउने सेवा सुविधा, प्रोत्साहन भत्ता लगायत पाउनुपर्ने भन्दै असोज ४ गते माग गरेका थिए।

उनीहरुको मागपछि भोलिपल्टै सञ्चालक समिति र लेखा समितिको मातहतमा प्रोत्साहनलगायत सेवा सुविधा दिने निर्णय गरेको थियो। असोज ६ गते नै भुक्तानी दिने मौखिक आश्वासन सञ्चालक समितिले अपचलनकर्तालाई दिएको स्रोतको भनाइ छ। त्यसको विरोधमा ६ गते बिहान ९ बजेतिर ताला लगाइएको थियो।

यस क्रममा अभियन्ताहरुले जिल्ला प्रशासनमा समेत छानबिन माग गर्दै निवेदन दिएका थिए। असोज ९ गते थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा गाउँ कार्यपालिकाको कार्यालयमा सहकारी सम्बन्धी छलफल बोलाइएको थियो।

छलफलमा ताला लगाउने लगायतका ३४ जनाको उपस्थितिमा भ्रष्टाचार गरेको कर्मचारीलाई कुनै पनि संस्थाले सेवा सुविधा नदिने निर्णय भएपछि सञ्चालक समितिका एक जना, प्रहरी प्रशासन, वडाअध्यक्ष रवि ओझा, अभियन्ता, सेयर सदस्यको रोहवरमा तालाबन्दी खुलाइएको थियो।

वि.सं. २०७३ मा पनि यो सहकारीमा १४ लाख रकम बेरुजु एउटा व्यक्तिको नाममा देखिएको थियो। सो क्रममा पनि २६ सय मात्रै तिराएर हिसाब मिलान गरिएको थियो। यो प्रकरणमा पनि राजन श्रेष्ठ नै जोडिएका थिए।

वार्षिक रुपमा यो सहकारीमा करिब १२ करोडमाथिको कारोबार हुन्छ। संस्थाको बाह्य ऋण ६ करोडमाथि रहेको छ। यो सहकारी सानाकिसानहरुकै बचतबाट उब्जिएको संस्था हो। ६ महिना खान नसक्ने किसान भएको यस क्षेत्रमा उनीहरुले बचत गरेको पैसा हिनामिना गर्दा ती साना किसानलाई मार परेको छ।

थाक्रे गाउँपालिकामा पाँचवटा कृषि सहकारी संस्था छ। तीमध्ये चारवटा चाहिँ स्थानीय तहले हेर्छ। यो कृषि सहकारीलाई चाहिँ प्रदेश सरकारले हेर्छ।

संघीयतापछि साबिकको गाविस दुईवटा पालिकामा मिल्ने अवस्थाका कारण सहकारी प्रदेशको मातहतमा गएको हो।

यो सहकारीले तीन किसिमका ऋण प्रवाह गर्दै आएको छ। तीमध्ये कृषि व्यवसाय गर्न लिएको ऋणमा १५ प्रतिशत, पशुपालनमा ९ प्रतिशत र घरायसी सम्बन्धी ऋणमा ५ प्रतिशत ब्याज तिर्नुपर्छ।

२०७६ असार मसान्तसम्मको तथ्यांकअनुसार यस सहकारीका ९८९ जना सेयर सदस्य र ४२१ जना ऋणीहरु छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .