ad ad

कारोबार


यसपालिको दशैँमा बजार कस्तो होला? के छ व्यापारीहरुको योजना?

यसपालिको दशैँमा बजार कस्तो होला? के छ व्यापारीहरुको योजना?

सन्तोष न्यौपाने
असोज ८, २०७७ बिहिबार १४:२८,

नेपालीका ठूला चाडपर्वका महिना सुरु भइसके। दशैँ, तिहार र छठ लगायतका पर्वले बजारलाई जागृत बनाउँछन्।

यो बेला सहर बजारदेखि गाउँघरसम्म सबैतिर एकैचोटि रौनक छाउँछ। यी पर्वका बेला नयाँ लत्ताकपडादेखि सामान जोड्ने परम्परा नेपाली समाजमा कायमै छ।

तर, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण यसपालीका दशैँ तिहारमा भने त्यौ रौनक नहुने छाँट देखिदै छ।

दशैँ आउन एक महिना मात्र बाँकी हुदा पनि बजार जुर्मुराउन सकेको छैन। न बजारमा नयाँ लत्ताकपडा उपलब्ध छन्, न त उपभोक्ता नै बजारसम्म पुगेका छन्।

लत्ताकपडा किन्न भिड लाग्ने काठमाडौंको खिचापोखरी शून्य प्रायः छ। पसलमा सामान छैनन्। ग्राहक पनि छैनन्।

६ महिनादेखि कोरोना संकटले स्टकमा रहेका सामान रित्तिँदै गएका छन्, तर नयाँ आएका छैनन्।

shoping mal3

खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष गणेशकुमार न्यौपानेले बजारमा दशैँको रौनक नआएको बताउँछन्।

‘हुन त नौरथा सुरु भएपछि यस क्षेत्रमा भिडभाड हुने हो तर यसपाली त्यस्तो होला भन्ने आशा जागेको छैन,’ न्यौपानेले भने, ‘अहिलेसम्म बजार शून्य छ।’

चीनबाट नियमित रुपमा सामान आउन नसक्दा बजारमा सामानको अभाव छ। दशैँको लागि आउने नयाँ कपडा पनि बजारमा उपलब्ध नभएको उनी बताउँछन्।

‘चीनबाट सामान आउनै सकेको छैन,’ न्यौपानेले भने, ‘केही व्यावसायीले कलकत्ताबाट ल्याएका छन्।’

केही समयदेखि चीनबाट आउने सामान केरुङ नाकामा रोकिएका छन्। त्यहाँ १५ सयभन्दा धेरै कन्टेनर रोकिएकोमा बुधबारदेखि केही कन्टेनर छुटेका थिए।

यसले गर्दा बजारमा सामान अभाव छ। बजारमा ६–७ महिनादेखि नयाँ सामान थपिएका छैनन्। अहिले स्टकमा रहेको सामान नै बिक्री भइरहेको व्यावसायी बताउँछन्।

न्युरोड खिचापोखरीमा भीडभाड लाग्ने भनेको नौरथा लागिसकेपछि हो। त्यसैले कात्तिक एकदुई गतेपछि अलि भीडभाड होला कि भन्ने आशा न्यौपानेलाई छ।

अहिले ग्राहक आउने चाप शून्य जस्तै छ। आएका ग्राहकले पनि नयाँ नयाँ सामान खोज्छन्। बजारमा भने नयाँ सामान आउनै सकेको छैन।

अबको परिस्थिति कसरी अगाडि बढ्छ भन्ने कसैले अनुमान गर्न सकेको छैन। कोरोना संकटले कुन रुप लिन्छ त्यसमै बजारको चहलपहल निर्भर हुनेछ।

स्वास्थ्य मन्त्रालयले देशभर २५ हजार सक्रिय कोरोना संक्रमित रहेका बेला लकडाउन गर्नुपर्ने सुझाब सरकारलाई दिएको छ।

व्यावसायीले हिसाब गरिसकेका छन्। ‘२५ हजार संख्या २०-२२ गतेसम्म पुग्न सक्छ,’ न्यौपानेले भने, ‘त्यसपछि सरकारले फेरि लकडाउन गर्ला भन्ने उनीहरुलाई चिन्ता छ।’

त्यसैले यसपालीको दशैँ तिहारबाट व्यावसायीले धेरै आशा गरेका छैनन्।

shoping mal5

नयाँ बानेश्वर व्यापार–व्यावसाय संघका सचिव नवीन लुँइटेलको भनाइ पनि उस्तै छ।

नेपालमा लकडाउनभन्दा अगाडि चीनमा मनाइने चाडपर्वले सामान आउन सकेको थिएन। त्यसपछि त कारोना संकट सुरु भयो। चाहेर पनि सामान ल्याउन सक्ने अवस्था थिएन।

‘मंसिरमा अर्डर गरेको सामान बल्ल बजारमा आएको छ,’ लुइँटेलले भने, ‘त्यसपछि सामान आउन सकेको छैन।’ केही मात्रामा सामान आए पनि नियमित रुपमा नआउँदा बजार खाली भएको उनी बताउँछन्।

अर्कोतिर, व्यावसायीले पनि धेरै सामान ल्याएर स्टकमा राख्नसक्ने अवस्था नभएको लुइँटेल बताउँछन्।

‘सामान किन्नलाई पैसा छैन,’ उनले भने, ‘सिजनको बेला सामान धेरै किन्नुपर्छ तर पैसाको व्यवस्था गर्न समस्या छ।’

पाँच–छ महिनाको भाडा एकै पटक तिर्नुपर्दा झनै समस्या परेको उनी बताउँछन्।

अर्कोतिर, उपभोक्ताले पनि सामान किन्न सक्ने क्षमता छैन। न्यूनतम आवश्यकता पुरा गर्न नै गाह्रो परेको अवस्थामा नयाँ कपडा, सामान किन्नतिर उपभोक्ता नलाग्ने उनी बताउँछन्। यी सबै कारणले यसपालीको दशैँ सुनसान हुने उनको बुझाइ छ।

खिचापोखरीका खुद्रा व्यावसायीको अनुभव यसभन्दा फरक छैन।

‘नयाँ सामान नै आएको छैन, पुरानो स्टकमा रहेको अलिअलि बेचिरहेको छु,’ खिचापोखरी पार्क प्लाजामा सात वर्षदेखि पसल गर्दै आएका सुजन बस्नेतले भने।

किन्ने ग्राहक पनि ९० प्रतिशतले घटेको उनी बताउँछन्। अहिलेको अवस्था हेर्दा ग्राहकको चाप दशैँ-तिहारसम्म यस्तै होला भन्ने उनलाई लागेको छ।

उनले प्रायः गरेर जर्सी बेच्ने गर्छन्। ‘यो सिजन जर्सी बेच्ने हो। अहिले नै यस्तो छ,’ उनले दुखेसो पोखे।

shoping mal7

नेपाली लत्ताकपडाको बजार चीनमा निर्भर छ। पछिल्लो समय भन्सार नाकामा चीनबाट आएका अर्बौं रुपैयाँका सामान रोकिएका छन्। यसले गर्दा पनि बजारमा सामान अभाव भएको उनको बुझाइ छ।

मुलुककै सबैभन्दा ठूलो सुपरमार्केट सञ्चालन गरिरेहको भाटभटेनीले भने सामानको अभाव नभएको तर ग्राहक नआएको बताँउछ।

‘हामीसँग सामान अभाव छैन,’ भाटभटेनी भक्तपुर शाखाका स्टोर म्यानेजर सिर्जना लामिछानेले नेपालखबरसँग भनिन्, ‘चीन र भारतबाट सामान ल्याइरहेका छौं।’
ती देशबाट अनलाइनबाट सामान अर्डर गरेर ल्याइरहेको उनले बताइन्।

खोजेको सामान उपलब्ध गराउन सक्ने भए पनि ग्राहक नै धेरै घटेको लामिछानेको भनाइ छ।

‘फुड आइटम पहिले जस्तै बिक्री भइरहेको छ,’ लामिछानेले भनिन्, ‘लत्ताकपडासहित अन्य सामान किन्नेहरुको संख्यामा भने धेरै नै कमी आएको छ।’

उनका अनुसार भाटभटेनीमा शुक्रबार र शनिबार ग्राहकको चाप धेरै हुने गरेको छ भने अरु दिन खासै भिड हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .