मौद्रिक नीति सार्वजनिक भइरहँदा बुधबार सेयरबजार कारोबार मापन गर्ने नेप्से सूचक ६.९० अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.७२ अंकले वृद्धि भएको छ।
आज १ सय ७० कम्पनीको कारोबार भएकामा १३ लाख ४६ हजार कित्ता सेयर बिक्री भएका छन्। ६ हजार ४ सय ६२ पटकको खरिदबिक्रीपछि स्टकमा ४४ करोडको कारोबार भएको छ।
आज कुल बजार पुँजीकरण १५ खर्ब ९८ अर्बको हुँदा बजारमा पुँजीकरण तरलता ५ खर्ब ७१ अर्ब रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज बजारमा ११ समूहको कारोबार भएको छ। कारोबार भएका समूहमध्ये फाइनान्स, उत्पादनको कारोबार सूचक ऋणात्मक रहँदा अन्य बाँकी समूहको कारोबार सूचक उकालो लागेको छ।
कारोबारका हिसाबले नेपाल बैंकको सबैभन्दा धेरै सेयर बिक्री भएको छ। आज ३ करोड ९९ लाखको बैंकको सेयर किनबेच भएको छ। त्यस्तै कृषि विकास बैंकको २ करोड ६६ लाखको प्रतिकित्ता ४ सय ३३ रुपैयाँमा, प्रभु बैंकको २ करोड ६० लाखको प्रतिकित्ता २ सय ८० रुपैयाँमा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ५९ लाखको प्रतिकित्ता ८ सय ८७ रुपैयाँमा, एनआईसी एसिया बैंकको १ करोड ५२ लाखको प्रतिकित्ता ४ सय ७४ र नबिल बैंकको १ करोड ४४ लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
आज कमाउने समूहमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था अगाडि छ। कम्पनीका सेयरधनीले ४५ रुपैयाँ कमाएका छन्। त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३४ रुपैयाँ, दिव्येश्वरी हाइड्रोपावरका लगानीकर्ताले ५ रुपैयाँ आर्जन गर्दा सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४३ रुपैयाँ कमाएका छन्।
गुमाउने सूचीमा भने आज युनियन हाइड्रोपावर लिमिटेड अगाडि छ। यसका लगानीकर्ताले ५.०५ प्रतिशत गुमाउँदा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीले ३.७४ प्रतिशत घाटा व्यहोरेका छन्। नेप्सेका अनुसार रकमको हिसाबले भने आज जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीको ३० रुपैयाँ गुम्दा युनाइटेड इन्स्योरेन्सका सेयरधनीले २३ रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया