कारोबार


आन्तरिक पर्यटक आउने आशमा चितवनका होटल खोल्ने तयारी

आन्तरिक पर्यटक आउने आशमा चितवनका होटल खोल्ने तयारी

नेपालखबर
असोज ६, २०७७ मंगलबार ८:४,

गत चैत ११ गते देखिसुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु हिजो आज खोल्ने तयारीमा छन्। व्यवसायीहरुले कभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत ११ गतेयता लकडाउन हुँदै आएको थियो। पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडानसमेत सुचारु भएका छन्। जसका कारण पर्यटन क्षेत्र सूचारु हुने तरखरमा छ।

चितवनको सौराहा पनि देशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। त्यसैले यहाँका होटल व्यवसायीहरुले कोभिड १९ संक्रमण रोकथामका लागि मापदण्ड पूरा गरी होटल सञ्चालन गर्ने तयारी गरिरहेका छन्। लामो समय बन्द भएकाले सरसफाई र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन ५ देखि २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए। तत्काल पर्यटकहरु आउने सम्भावना नभए पनि सबै मापदण्ड पुरा गरेर होटल सुचारु गर्न लागिएको उनले बताए। चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कन अझै दुई बर्ष लाग्ने समेत भट्टराईको भनाइ छ।

बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकदै गरेकोले केही आन्तरीक पर्यटक आउने आशमा सौराहाका व्यवसायी रहेका छन्। व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको बुझाइ छ। सरकारले पुनरकर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटल सञ्चालन गर्न चालु पूँजीको अभाव भएको पनि व्यवासयीहरुले बताए।

होटल व्यवसायी ध्रुव गिरीले लामो समय बन्द भएका होटलको सरसफाई गर्ने, मर्मत गर्ने काममा आफुहरु व्यस्त रहेको बताउनुभयो । उहाँले होटल सूचारु गर्नका लागि कर्मचारीहरुलाई १५÷१५ दिन गरी मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएको समेत बताए।

चितवनको सौराहामा करिब २ सयको संख्यामा होटल तथा रेस्टुरेन्टहरु रहेका छन्। त्यस्तै ५ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउदै आएका छन्। सौराहा क्षेत्रका होटल तथा रेस्टुरेन्टहरु पूर्ण रुपमा पर्यटनमा आधारित छन् । कोभिडका कारण तत्काल बाह्य पर्यटक आउन नसक्ने भए पनि आन्तरिक पर्यटक आउने झिनो आशाले होटल रेस्टुरेन्ट सूचारु गर्न लागिएको व्यसायीहरु बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .