उक्त व्यापार युद्ध हालसम्म पनि साम्य हुन सकेको छैन। यसबीचमा विश्व व्यापार संगठन डब्लूटीओले अमेरिकाले त्यसबेला चीनसँग गरेको व्यवहार डब्लूटीओको नियमसँग नमिल्ने किसिमको भएको बताएको छ।
अन्तर्राष्ट्रिय व्यापार नीति र नियमविरुद्ध गएर अमेरिकाले सन् २०१८ मा चिनियाँ सामग्रीमा भन्सार शुल्क बढाएको डब्लूटिओले बताएपछि अमेरिका रुष्ट बनेको छ।
अमेरिकाले त्यसबेला बौद्धिक चोरी गरेर चीनले प्राविधिक सामग्री निर्माण गर्ने गरेको आरोप लगाएको थियो।
अमेरिकाले चीनले बौद्धिक चोरी गरेकोबारेमा कुनै प्रमाण नदिएका कारण भन्सार शुल्क बढाइनु अनुचित भएको डब्लूटीओले बताएको छ।
डब्लूटीको भनाइलाई चीनले प्रशंसा गरेको छ। तर अमेरिकी अधिकारीले अनुचित व्यापार अभ्यासको विरोध गर्न पाउनु आफ्नो अधिकार भएको बताएका छन्।
चीनले सुरुवातदेखि नै आफूले बौद्धिक चोरी नगरेको बताउँदै आएको छ।
अमेरिकाले भन्सार शुल्क बढाएपछि चीनले पनि अमेरिकी सामग्रीमा प्रतिक्रिया स्वरुप भन्सार शुल्क बढाउँदै आएको छ। यो प्रक्रिया अझै रोकिएको छैन।
अमेरिकाका व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर भन्छन्,‘ट्रम्प प्रशासनले ४ वर्षदेखि भनिरहेको विषय पुष्टि भएको छ। डब्ल्यूटीओ चीनको हानिकारक प्रविधि अभ्यास रोक्न पूर्ण रूपमा असक्षम छ।’
हालै मात्र विश्व स्वास्थ्य संगठन डब्लूएचओले चीनको पक्ष लिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओबाट निस्कने घोषणा गरेका छन्। यसबीचमा अमेरिका डब्लूटीओसँग पनि रुष्ट बनेको बीबीसीले जनाएको छ।
Shares

प्रतिक्रिया