ad ad

कारोबार


हिमाल चढ्न नेपाल आइपुग्यो बहराइनका राजपरिवार सदस्यसहित १८ जनाको टोली

हिमाल चढ्न नेपाल आइपुग्यो बहराइनका राजपरिवार सदस्यसहित १८ जनाको टोली

वसन्त अर्याल
भदौ ३१, २०७७ बुधबार ६:१३,

हिमाल आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहित १८ जनाको टोली आज बुधबार काठमाडाैं आइपुगेको छ।

मनास्लु र लोबुचे हिमाल आरोहणको लागि उनीहरु नेपाल आएका हुन्।

सो टोलीमा रहेका १८ मध्ये तीनजना बेलायती नागरिक हुन् भने बाँकी बहराइनी नागरिक हुन्।

बुधबार विहान साढे ११ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

रोयल गार्ड बहराइनको सो टोली विशेष विमानमार्फत् काठमाडौं आइपुगेको हो।

हिमाल आरोहण गर्ने रोयल गार्ड बहराइनको टोलीको स्थानीय एजेन्सी सेभेन समिट ट्रेक्स हो।

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले उक्त टोली डेढ महिनाभन्दा बढी नेपालमै रहने बताएका छन्। उनका अनुसार साे टाेलीलाई लोबुचे हिमाल चढ्न दुई हप्ता र मनास्लु चढ्न एक महिना लाग्नेछ।

उनीहरुले ८ हजार १६३ मिटर उचाईको मनास्लु र ६ हजार ११९ मिटरको लोबुचे हिमाल आरोहण गर्नेछन्।

नेपालका गाइडले उनीहरुलाई सहयोग गर्नेछन्।

राजपरिवार सदस्य सहितको टोली पहिलोपटक हिमाल चढ्न लागेको हो। उनीहरुले बहराइनको झण्डा नेपालको सगरमाथामा फहराउन चाहन्छन्।

‘अहिलेको आरोहण सगरमाथा चढ्नको लागि ट्रेनिङ जस्तै हो। मनास्लुको पिकमै पुग्नुपर्छ भन्ने पनि छैन। सके पिकमै पुग्छन् नभए जहाँसम्म सक्छन् त्यहाँ सम्म जान्छन्। अहिले मनास्लुको ७ हजार मिटर उचाई सम्म पुगे उनीहरुले अर्को सिजनमा सगरमाथा आरोहण गर्न पाउँछन्,’ शेर्पाले भने।

नेपालमा हिमाल आरोहण गर्ने टिमलाई बहराइन रोयल गार्डका कमाण्डर तथा बहराइन ओलम्पिक कमिटीका अध्यक्ष नासिर विन हामद अल खालिफाले विदाइ गरेका थिए।

नासिरले नेपाल आउने टिमलाई विदाई गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘रोयल गार्डको एलिट टिमलाई हिमाल आरोहणका लागि विदाइ। उनीहरुले बहराइनको झण्डा र रोयल गार्डको ब्यानर सगरमाथाको शिखरमा फहराउने मिसन पूरा गर्नेछन्। मिसनको पहिलो चरणमा केहि आरोहण यसपटक र अर्को वर्ष सगरमाथा शिखरसम्म पुग्नेछन्। अल्लाहले उनीहरुको रक्षा गरून्।’

बहराइन राजपरिवार सदस्य मोहम्मद हामद मोहम्मद अलखालिफाले हिमाल आरोहणको नेतृत्व गर्नेछन्।

बेलायती नागरिकहरु रिचार्ड वारेन म्याकनेल, फिलिप क्लो र क्रिस्टोफर एन्थोनी पनि टिमका सदस्य छन्।

उक्त टिममा बहराइनका इब्राहिम मोहम्मद अब्दुल्लाह इब्राहिम मोहम्मद, मोहम्मद अलि जासिम अहमद अल्बोइनाइन, अराफात हमुद नाजी गुर्वाह, इब्राहिम खली इब्राहिम जायेद मोहम्मद अल्जाजाफ, अहमद सइद इसा अल्काबी, आरिफ फिरोज शाह मुराद कलन्दर गुलाम, मोहम्मद अदुल रहमान युसुफ अल्कावारी, खालिद अलि हसन इब्राहिम हसन अल्दोसेरी, अब्दुलाजिज राफेया अब्बर खालिफ अलावेद, खालिद सुल्तान मोहम्मद अब्दुल्लाह अल्शिर्वाई, मुराद मोहम्मद युसुफ अब्दुल सायेद, इब्राहिम अलि सालेम जावेर, सउद हमाद मुबारक हमाद इद र मोहम्मद इसा अब्दुल्लाह युसुफ अल्क्विस छन्।

कात्तिक १ बाट सबैलाई खुलाए पनि अहिले सरकारी तहमा आग्रह आएपछि बहराइनका राजपरिवार सदस्यसहितको टोली विशेष अनुमति लिएर नेपाल आएको हो। कोभिड १९ महामारीपछि हिमाल आरोहणका लागि आएको यो पहिलो टोली हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .