कारोबार


व्यवसायमा नफर्कने गरी विस्थापित हुने अवस्थामा कुखुरापालक किसान

व्यवसायमा नफर्कने गरी विस्थापित हुने अवस्थामा कुखुरापालक किसान

प्रकाश न्यौपाने
भदौ २८, २०७७ आइतबार १४:१७,

रुपन्देहीको ओमसतिया–५, पट्खौलीस्थित सम्राट पोल्ट्री फर्मका सञ्चालक सुजित चौधरीले भदौमा मात्र ४ हजार बोइलर कुखुरा कौडीका भाउमा बेचे।

कोरोना भाइरसको महामारीले बजारमा मासुको खपत नभएको भन्दै खरिदकर्ताले ११० रुपैयाँ प्रतिकेजी भन्दा लैजान नसक्ने जनाएपछि उनले बाध्य भएर सोही मूल्यमै बिक्री गरेका हुन्। उनले असारमा ७ हजार चल्ला खरिद गरी पाल्न सुरु गरेका थिए। अहिले ३ हजार कुखुरा बिक्रीका लागि तयार भएका छन्। तर, बजार मूल्य निकै कम छ।

‘फर्ममै कुखुरा मर्न थालेपछि ४ हजार निकै सस्तोमा बेचेँ, अहिले ३ हजार कुखुरा बिक्रीका लागि तयार भएका छन् तर खरिदकर्ताले १३० रुपैयाँ प्रतिकिलो भन्दा दिँदैनन्। लागत पनि नउठ्ने भएपछि मर्कामा परेको छु’, उनले भने।

सस्तो मूल्यमा कुखुरा बेच्नु परेको पीडा छँदैछ त्यसैमा चौधरीलाई गएको बैशाखमा झन् ठूलो समस्या आइलाग्यो। हुर्काएर बिक्रीका लागि तयारी गरिरहेका ६ हजार कुखुरा फर्ममै मरे।

‘बिक्री गर्ने सुरसार हुँदै थियो तर कोरोनाका डरले सबै दाना उद्योग बन्द थिए। १५ दिनसम्म दाना नपाउँदा सबै कुखुरा मरे’, चौधरीले भने, ‘५/७ जनाले दुई दिन लगाएर खाल्डो खनेर पुर्यौ।’

६ हजार कुखुरा मर्दा उनले करिब २४ लाख क्षति व्यहोर्नु पर्यो।

‘पहिला कुखुरा मरे, अहिले लागत समेत उठ्दैन, सस्तो भाउमा बेच्नुपर्ने बाध्यता छ’, उनले भने, ‘अब व्यवसायबाटै विस्थापित हुने अवस्था आयो।’

उनले ६० लाख लगानी गरेको व्यवसाय डुबिसकेको सुनाए। चौधरी जिल्लाका ठूला कुखुरापालक व्यवसायीमध्येमा गनिन्छन्।

कुखुराको मासु र अण्डामा नेपाल आत्मनिर्भर छ। तर, समर्थन मूल्य सरकारले तोक्दैन। त्यसैले संकटका बेला पोल्ट्री व्यवसायीले सधैँ क्षति व्यहोर्छन्।

Boiler_3.jpg

मासु बिक्री न्यून भएको भन्दै मासु व्यवसायीले सस्तोमा कुखुरा खरिद गर्ने गर्छन्। अझै त्यसैमाथि विचौलिया हावी हुँदा व्यवसायी सधै मर्कामा छन्। सामान्यतः बोइलर कुखुरा ४५ दिन पालेपछि विक्री गर्ने गरिन्छ। एउटा कुखुरा हुर्काउन ३ सय भन्दा बढी रुपैयाँ खर्च लाग्छ। ४५ दिन पाल्दा एउटा कुखुरा दुईतीन किलोको हुन्छ।

किसानले प्रतिकिलो १६० रुपैयाँसम्म विक्री गर्न पाएमा मात्र लागत उठ्ने बताउँछन्। प्रतिकिलो १६० भन्दामाथि पार्न सकेमात्रै मुनाफा हुने हो। महामारीको मौकामा बिचौलिया र मासु व्यवसायी हावी हुँदा कुखुरापालक किसान विस्थापित हुने अवस्थामा पुगेका हुन्।

सस्तोमा कुखुरा खरिद गरेर ल्याउने व्यवसायीले मासुको मूल्य भने घटाउँदैनन्। अहिले पनि प्रतिकिलो १३० रुपैयाँमा कुखुरा खरिद गर्दै आएका मासु व्यवसायीले काटेर प्रतिकिलो ३२० रुपैयाँसम्ममा मासु विक्री गर्दै आएका छन्।

‘जब लागत नै उठ्दैन भने व्यवसाय गर्नुको औचित्य छैन। अब फर्ममा एक हजार कुखुरा छन्, ती सबै विक्री गरिसकेँ भने व्यवसाय नै छाड्छु’, रोहिणी–१ का पोल्ट्री व्यवसायी रामकेबल यादवले भने।

सरकारले समर्थन मूल्य नतोक्ने हो भने धेरै व्यवसायी कोरोनाका कारण नै कहिल्यै कुखुरापालन नगर्ने गरी पलायन हुने यादवको भनाई छ। उनीहरु जस्तै जिल्लाका करिब २ सय कुखुरापालक किसान अहिले विस्थापित हुने अवस्थामा पुगेका छन्।

गाउँ–गाउँ पुग्ने विचौलियाले सस्तोमा खरिद गरी धेरै मुनाफा राखेर बजारमा ल्याएर विक्री गर्छन्। यसले मासुको मूल्य घट्न सकेको छैन भने उपभोक्तासमेत मारमा छन्। अझै अचम्म त के छ भने नेपालमा मासुको मूल्य महंगो हुँदा भारतीय बजारबाट तिनै विचौलिया र तस्करहरुले नेपालमा कुखुरा भित्र्याउँछन्।

‘थोरै महंगो हुँदावित्तिकै भारतबाट कुखुरा भित्र्याइन्छ। अलिकति सस्तो हुँदा हामीलाई मूल्य नै दिँदैनन्। सधैँ मारमा किसान पर्ने गरेका छन्’, ओमसतिया–५, तरैनीका कुखुरापालक कपिल चौधरीले भने।

अहिले दाना उस्तै महंगो छ। कुखुरा हुर्काउन स्टार (जिरो नम्बर), प्रि–स्टार (बी वान) र बीटु गरी तीनथरी दाना खुवाउनुपर्छ। महामारी अघि दानाको मूल्य पनि सस्तो थियो, अहिले बढेको छ। उसबेला प्रतिकिलो १८० रुपैयाँभन्दा माथि जिउँदो कुखुरा बिक्री हुन्थ्यो। तर, कोरोनालाई देखाएर निकै सस्तोमा खरिदविक्री हुँदा कुखुरापालक किसान विस्थापित हुन लागेका हुन्।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, रुपन्देहीका बरिष्ठ पशु विकास अधिकृत डा.परवेज आलमले कुखुरापालक किसान अहिले मर्कामा परेको बताउँदै कतिपय किसान व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको बताउँछन्।

‘मासु खपत कम हुँदा कुखुरापालक मर्कामा छन्, अर्कातर्फ विचौलियाले किसानलाई मूल्य नदिने र बजारमा महंगोमा बेच्ने गरेका छन्’, उनले भने।

डा.आलमले कुखुराको सरकारले समर्थन मूल्य तोक्न सक्ने भए पनि भौगोलिक क्षेत्रअनुसार उत्पादन लागत फरक पर्ने भएकाले केही समस्या भएको जनाए।

आलम भन्छन्, ‘मासुको मूल्य बजारले निर्धारण गर्ने हो, ठाउँअनुसार लागत फरक पर्न जान्छ, यसले गर्दा मूल्य तोक्न केही कठिनाई आएको हो।’

सरकारले राहतको प्याकेज नल्याउने हो भने कुखुरापालक किसान अब व्यवसायमा नफकर्ने र परनिर्भर हुनुपर्ने अवस्था आउने व्यवसायीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad