ad ad

कारोबार


रुपन्देहीको तिलोत्तमामा औद्योगिक ग्राम निर्माण सुरु

रुपन्देहीको तिलोत्तमामा औद्योगिक ग्राम निर्माण सुरु

प्रकाश न्यौपाने
भदौ २५, २०७७ बिहिबार १०:११,

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सग्रहवामा औद्योगिक ग्राम निर्माण सुरु भएको छ। रोहिणी नदी उकास क्षेत्रको झण्डै १९ विघा जमिनमा तिलोत्तमाले औद्योगिक ग्राम बनाउन सुरु गरेको हो। औद्योगिक ग्रामको डीपीपआर तयार गरी निर्माण सुरु गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।

‘चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य सुरु गरेका छौं, तीन तहका सरकारले विनियोजन गर्ने बजेटको आधारमा औद्योगिक ग्रामको निर्माण कार्य अघि बढ्ने छ’, घिमिरेले भने। पहिलो चरणमा हुने निर्माणका लागि २ करोड ५२ लाख बजेटबाट १ करोड ९५ लाखमा निर्माण ठेक्का सम्झौता गरिएको छ। उक्त बजेटबाट औद्योगिक ग्रामसम्म पुग्ने एप्रोज रोड, पुल, गेट, सेक्युरिटी पोष्ट, रोड मार्किङ लगायत बनाइनेछ।

‘डीपीआर अनुसार रोहिणी नदी ड्राइभर्सनको कामसमेत गर्ने गरी औद्योगिक ग्रामको सम्पूर्ण काम गर्न ५२ करोड लागत लाग्ने अनुमान गरिएको छ’, घिमिरेले भने। औद्योगिक ग्रामको नगर प्रमुख घिमिरे र उप–प्रमुख जगेश्वरदेवी चौधरीले बिहीबार संयुक्त रुपमा शिलान्यास गरेका छन्।

संघीय सरकारले ल्याएको ‘एक पालिका : एक औद्योगिक ग्राम’को नीतिअनुसार तिलोत्तमाले औद्योगिक ग्राम निर्माणको काम अघि बढाएको जनाएको छ। रुपन्देहीको सन्दर्भमा जग्गाको मूल्य अध्याधिक हुँदा उद्योग गर्न चाहनेहरुलाई जग्गा खरिद गरेर उद्योग स्थापना गर्न कठिन छ। बुटवल औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने ठाउँ छैन। प्रादेशिक स्तरको मोतिपुर औद्योगिक क्षेत्र बनाउने भनिए पनि त्यसले गति लिन सकेको छैन।

औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने कम्तिमा ५३ वटा साना तथा घरेलु उद्योगहरु स्थापना हुनेछन्।

‘हामीले साना उद्योगीलाई प्रोत्साहन गर्न संघ सरकारको नीतिअनुसार काम अघि बढाएका हौं’, उपप्रमुख चौधरीले भनिन्, ‘औद्योगिक ग्रामले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नेछ। यसले समृद्ध नगर बनाउन टेवा पुग्ने छ।’

नगर विकासको एउटा आधार औद्योगिक ग्रामसमेत भएको उनले बताइन्।

औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास (ल्याण्ड पुलिङ), विद्युत प्रशारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था लगायतका पूर्वाधारको साथै प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाइनेछ। औद्योगिक ग्राम निर्माणस्थल नजिकै बहुउपयोगी रोहिणी जलाशय निर्माणको कामसमेत भइरहेको छ। यो स्थान सिद्धार्थ राजमार्गमा पर्ने मङ्गलापुरबाट झण्डै सात किलोमिटरमा छ।

जलाशय र औद्योगिक ग्राम नजिक नजिक भएकाले पनि यस क्षेत्रमा पर्यटनकोसमेत सम्भावना रहेको वडाअध्यक्ष व्यासमुन थारुले बताए।

उनले भने, ‘सार्वजनिक जमिन संरक्षण गरी ग्राम निर्माण सुरु गरिएको छ। संरक्षणमा योगदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्छु। तोकिएकै समयमा निर्माण सम्पन्न गराउन स्थानीयको तर्फबाट पूर्ण सहयोग हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .