ad ad

कारोबार


कोरोनाले पिरोलेको पर्यटन क्षेत्र लयमा फर्काउन पाँच वर्ष लाग्ने

कोरोनाले पिरोलेको पर्यटन क्षेत्र लयमा फर्काउन पाँच वर्ष लाग्ने

नेपालखबर
भदौ २२, २०७७ सोमबार ११:३५,

सरोकारवालाहरुले कोभिड १९ का कारण क्षतिग्रस्त पर्यटन व्यवसाय पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने बताएका छन्।

कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने एकीन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने उनीहरुको भनाइ छ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको सेजन अर्थ नीति बहसअन्र्तगत पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन्।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायतका निकायले गरेका कामहरुलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए।

कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए।

‘अब मास टुरिजम (ठूलो पर्यटन)को एरा (युग) गयो’, श्रेष्ठले भने, ‘अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ जहाँ कुनै विशेष इन्ट्रेस्टको आधारमा सेवा दिन सकिन्छ।’ त्यसो भयो भने मात्रै पर्यटक भित्र्याउन सकिने उनले बताए।

पर्यटन क्षेत्रका लागि २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै त्यसबाट माथि उठ्नुको विकल्प नभएको समेत पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ थियो।

भुकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भएको तर यसपालिको समस्या भने केही फरक भएकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्ने उनले बताए।

ऐतिहासिक तथा नीतिगत व्यवस्था गर्न सके नेपालमा पर्यटक भित्र्याउन सकिनेमा श्रेष्ठको जोड थियो। त्यसका लागि पर्यटकको स्वासथ्य सुरक्षा तथा बीमाका कुराहरुलाई समेटेर प्याकेज ल्याउन सकिने भन्दै यस्तर्फ ध्यान पु¥याउनुपर्ने बताए।

कोरोनाले पर्यटन क्षेत्रमा मात्रै नभई, स्वास्थ्य, अर्थतन्त्र र सामाजिक क्षेत्रमा पनि समस्या निम्याउन थालेको भन्दै त्यसका लागि सरकारले नीतिगत व्यवस्थापन गर्नुपर्ने उनले बताए। सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। त्यसैलाई लक्षित गर्दै सरकारी तथा निजी क्षेत्रबाट गरेको लगानी जोखिममा परेको श्रेष्ठले बताए।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि स्टिमुलस प्याकेज ल्याएको भए पनि कार्यान्वयन नहँुदा प्रभावकारी नभएको पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

त्यसैगरी, पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठुलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार÷पाँच वर्ष लाग्ने बताए । ‘२०२४÷२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न’, संयोजक शाक्यले भने।

पर्यटन क्षेत्रलाई जीवन्द राख्न सरकार र निजी दुवै क्षेत्रको समन्वयनको आश्यकता पर्नेमा शाक्यले जोड दिए । त्यस्तै,पर्यटन भित्र्याउन विमान स्थलको सम्पुर्ण व्यवस्थापन गर्न नीजि क्षेत्र तयार रहेको संयोजनक शाक्यको भनाइ छ।

कोरोनाका कारण अर्थतन्त्रमै ठुलो समस्या भएकाले सरकारलाई पनि राजश्व उठाउन समस्या भइरहेका बेला सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीहरुले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताए । त्यसका लागि कर्मचारीको तलब,बैंकको ऋण र घर भाडा लगायतका खर्च कटौती गर्न पाउनुपर्ने बताए । पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन खर्च कटौतीको विकल्प नभएको संयोजक शाक्यले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .