ad ad

कारोबार


पर्यटन व्यवसायी भन्छन्ः हिमाल आरोहण राजकुमारलाई मात्रै किन? सबैका लागि खुल्ला गरौँ

पर्यटन व्यवसायी भन्छन्ः हिमाल आरोहण राजकुमारलाई मात्रै किन? सबैका लागि खुल्ला गरौँ

वसन्त अर्याल
भदौ २२, २०७७ सोमबार १०:४,

पर्यटन व्यवसायीहरुले हिमाल आरोहणको लागि राजकुमार मात्रै नभई सबैलाई खुल्ला गर्नुपर्ने बताएका छन्।

व्यवसायीहरुले सरकारले बनाएका मापदण्ड पालना गरी जोसुकैलाई पनि हिमाल आरोहण गर्न दिनुपर्ने बताएका हुन्।

मन्त्रिपरिषदले बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहण गर्नका चार्टर्ड उडानमार्फत नेपाल आउन अनुमति दिएको छ।

हिमाल आरोहण सबैका लागि खुल्ला भए पनि कूटनीतिक नियोगबाहेक विदेशी नागरिक नेपाल आउन कोभिडको जोखिम भन्दै प्रतिबन्ध लगाइएको छ। जसले गर्दा हिमाल आरोहण गर्न चाहे पनि बाहिरबाट नेपाल आउन पाउँदैनन्।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले हिमाल आरोहण सबैका लागि खोल्नुपर्ने बताए। उनले कुनै राजकुमारको लागि मात्रै नभई विदेशी सर्वसाधारणको लागि पनि नेपाल आउन खुल्ला गर्नुपर्ने बताए।

‘नेपालका पर्यटन क्षेत्रमा घुम्न चाहनेहरुको लागि सरकारले बनाएको मापदण्ड पालना गरी आरोहण गर्न चाहन्छन् भने ल्याउनुपर्छ’, लामाले भने, ‘राजकुमार मात्रै होइन नेपालले बनाएको कानुन/नियम मान्छु भन्दै जोसुकै आउँछ भने उसलाई आउन अनुमति दिनुपर्छ।’

उनले राजकुमारलाई नेपाल आउन अनुमति दिनु राम्रो भए पनि अरुलाई विभेद गर्न नहुने बताए। सरकारले भदौ १७ देखि नियमित उडान खुल्ला गरेको छ। जसमा दैनिक ८ सय जना नेपाल आउन पाउँछन्।

‘सरकारको अहिलेको निर्णयअनुसार नियमित उडानमा नेपाली मात्रै आउन पाउँछन्। नेपाल आउने पर्यटकको लागि अनुमति छैन’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, ‘पर्यटकलाई कहिले आउन दिने भन्ने मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ।’

पर्यटन व्यवसायीले काठमाडौं, पोखरा, चितवनजस्तो बढी भीडभाड हुने पर्यटकीय गन्तव्यभन्दा हिमाल अहिले सुरक्षित हुने बताउँछन्।

व्यवसायीले हिमाल आरोहण गर्ने सबैको स्वास्थ्य जाँच गरेर मात्रै पठाउन सकिने बताउँदै अहिले कोभिडको कारण अर्थतन्त्र ध्वस्त हुनलागेको र लामो समयदेखि काम नपाएकाले रोजगारी पनि पाउने हुँदा यसले राज्यलाई ठूलो सहयोग गर्ने व्यवसायीको विश्वास छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीले भने सरकारले बनाएको कार्यविधि पालना गर्ने गरी सबै पर्यटकलाई नेपाल खुल्ला गर्नुपर्ने बताउँछन्।

‘नेपालले बनाएका कानुन वा नियम मानेर नेपालको गन्तब्यमा घुम्छु भन्दा रोक्नुपर्ने कुनै कारण छैन’, सुवेदीले भने, ‘हामी सबै पर्यटनले व्यवसायी सरकारले बनाएको कार्यविधि पालना गरी पर्यटन क्षेत्र खोल्नुपर्ने माग गर्दै आएका छौँ।’

पर्यटन क्षेत्र पूर्ण बन्द हुँदा १० लाख पर्यटन श्रमिक मारमा परेका छन्। पर्यटन क्षेत्रमा मात्रै १५ खर्ब लागानी भएको भन्दै सरकारले बन्धक बनाउन नहुने व्यवसायीहरुको भनाइ छ।

‘नेपाल कहिले खुल्छ भन्दै सोध्छन्’
नेपाल पर्वतारोहण संघका अध्यक्ष लामाले पर्यटकहरुले नेपाल कहिले खुल्छ भन्दै सोधिरहेको बताए। उनले व्यवसायीले मात्रै हिमाल आरोहणको लागि नेपाल आउन दिनुपर्छ नभनेको उल्लेख गर्दै पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघ÷संस्थाले पनि हिमाल आरोहण खोल्न सुझाव दिइरहेको बताए।

‘एउटा ‘रुल एण्ड रेगुलेसन’ बनाएर हामीलाई पनि आउन दिनुपर्यो भन्ने धेरै छन्’, उनले भने, ‘आरोहण गर्दा विश्व स्वस्थ्य संगठन तथा नेपाल सरकारले तयार पारेका मापदण्ड पालना गरी खोल्दा सबैको हित हुन्छ।’

व्यवसायीले सरकारले योजना बनाई सुरुमा सबै पर्यटकीय गन्तव्य खोल्न नसके पनि हिमाल आरोहण खोल्न सकिने बताएका छन्।

विदेशबाट आएर मापदण्डअनुसार होटल क्वारेन्टिमा बस्छन्। त्यसपछि हिमाल आरोहणका लागि जान्छन् भने कोरोना सर्ने जोखिम कम हुन्छ। हिमाल आरोही मात्र नभई उनीहरुका सहयोगीको पनि पूर्ण स्वास्थ्य चेकजाँच गरी मात्रै आरोहण गर्न दिने योजना सरकारले ल्याउनुपर्ने व्यवसायीको माग छ।

हिमाल आरोहण वसन्त ऋतु र शरद ऋतुमा गरिन्छ। कोभिड १९ को कारण वसन्त ऋतुमा हिमाल पूरै बन्द गरियो। शरद ऋतुको लागि साउन १५ देखि आरोहण गर्न जानेलाई अनुमति दिने सरकारले बताएको थियो।

त्यसैअनुसार गत शुक्रबार छ जनाको एक नेपाली टोलीलाई बरुन्त्से हिमाल आरोहणका लागि अनुमति दिइसकेको छ। सेप्टेम्बर १६ मा बहराइनका राजकुमारसहित १८ जना मनास्लु र लोबुचे हिमाल आरोहण गर्न आउँदै छन्। तर अरु विदेशीको लागि भने कहिले खुल्छ निश्चित छैन।

‘विदेशीलाई स्वदेश ल्याउने नल्याउने भन्ने निर्णय मन्त्रिपरिषदले गर्ने हो। उसले देशको अवस्था हेरेर निर्णय गर्छ’, हिमाल आरोहणका लागि अनुमति दिने निकाय पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङले भने, ‘मन्त्रिपरिषदले हिमाल आरोहणका लागि विदेशीलाई नेपाल आउन दियो भने हामी तयारी अवस्थामा छौँ।’

उनले हिमाल आरोहणका लागि मात्रै पर्यटन ल्याउन सकिने कुनै योजना अहिलेसम्म नबनेको बताए। ‘हिमाल आरोहणका लागि मात्रै पर्यटकलाई आउन दिने वा नेपालको सबै गन्तव्यमा घुम्न दिने भन्ने कोभिड १९ को अवस्था विश्लेषण गरेर मन्त्रिपरिषदले निर्णय गर्छ’, उनले भने।

यो पनि–
सगरमाथामा झण्डा फहराउने राजकुमारको लक्ष्य, चार्टर्ड जहाजमा आएर दुई महिना नेपालमै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .