औषधि व्यवस्था विभागले अहिले देशभरी नै अत्यावश्यकीय औषधिहरुको अभाव नरहेको जनाएको छ।
तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा समस्या देखिएपनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको भनाई छ। अहिले देशका कुनैपनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए।
नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउनेक्रममा केही ढिला हुँदा समस्या देखिएपनि अभावको अवस्था नभएको उनको भनाई छ।
उनले भने, ‘आवश्यक औषधि उपलब्ध छन। कुनै निश्चित औषधि अभाव भएको सूचना आएको छैन। कुनै पनि औषधिहरु निश्चित क्षेत्रमा अभाव भयो भन्ने रिपोर्टिङ भएपनि व्यवस्थापन गरिएको अवस्था छ। अभावको अवस्था निश्चित रुपमा देखिएको छैन। नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउने क्रममा केही ढिलाइ हुँदा बजारमा नपाएको भन्ने कुरा आएपछि क्लोज नेटवर्क मार्फत काम हुन्छ। कुनै समस्या पर्यो भने एउटै फोरम भित्रबाट पनि समाधान हुन्छ। अभाव देखिएपनि अवस्था समाधान भएको पाइएको छ।’
चिकित्सकहरुको सल्लाहविना अनावश्यक रुपमा औषधि सेवन गर्नेहरुको संख्या बढेकोप्रति उनले चिन्ता व्यक्त गरे। औषधि सेवनले सधैँ स्वास्थ्यलाई फाइदा नपुग्ने उल्लेख गर्दै उनले अनावश्यक रुपमा औषधि सेवन नगर्न आग्रह गरे।
उनले भने, ‘आवश्यकता भन्दा बढी औषधि दिएर व्यापारिक फाइदा त होला तर यसले शरीरलाई हानी पु¥याउँछ। कतिपय अवस्थामा ज्यान पनि जान सक्छ। अनावश्यक रुपमा सेवन गर्नु हुँदैन र बिक्री पनि गर्नु हुँदैन भन्ने सबैले बुझ्नुपर्छ। बिरामीले औषधिको अपेक्षा राख्नु सामान्य भएपनि धेरै औषधि लिएर सेवन गर्ने कुरालाई निराकरण गर्नेतिर सबैले सोच्नुपर्छ।’
कोरोना भाइरसविरुद्ध नेपालमा कन्ब्यालेसन प्लाज्माको अनुमति दिइएको उनले बताए। आवश्यक प्रयोजनका लागि विश्वका विभिन्न मुलुकले समेत सो औषधिलाई अनुमति दिएको उल्लेख गर्दै उनले रगतको प्लाज्मा निकालेर गम्भिर अवस्थाका विरामीलाई दिने ‘प्लाज्मा थेरापी’ विधिको प्रयोग भइरहेको बताए। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ‘एसटी’ नामक आयुर्वेदिक औषधिको उपयोगिताका बारेमा पनि अध्ययन गरिरहेको सूचना आफूले पाएको उनको भनाई छ।

प्रतिक्रिया