कोरोना संक्रमणको समयमा पनि नेपाली बैंकहरुको लगानी बढेको छ। बैंकहरुले यो अवधिमा गरेको कर्जा प्रवाह १२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
आर्थिक वर्ष २०७६-७७ को चैत महिनादेखि कोरोना संक्रमणको कारणले अर्थतन्त्रमा गम्भीर प्रभाव पारिरहेका बेला बैंकहरुले गर्ने वार्षिक कर्जा प्रवाहमा भने वृद्धि भएको हो।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६ प्रतिशतले र वित्तीय कम्पनीहरुको ८ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह १६.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकद्वारा सोमबार जारी तथ्याङ्कले देखाएको छ।
एक वर्षको यस अवधिमा ६ विकास बैंकहरु वाणिज्य बैंकमा गाभिएका (मर्ज) तथा प्राप्ति (एक्युजिसन) भएका कारण विकास बैंकको कर्जा प्रवाह घटेको राष्ट्र बैंकले जनाएको छ।
२०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।
२०७६ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.५ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०७६-७७ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १८.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २२.१ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २७.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ७.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.७ प्रतिशतले, माग तथा चालु पूँजी कर्जा १४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.१ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले बढेको छ।
त्यसैगरी हायर पर्चेज कर्जा ३ प्रतिशतले घटेको छ।

प्रतिक्रिया