ad ad

कारोबार


दशैँअघि नै उद्योग वाणिज्य महासंघको चुनाव गर्न कार्यदलको सुझाव, यस्तो छ मोडालिटी

दशैँअघि नै उद्योग वाणिज्य महासंघको चुनाव गर्न कार्यदलको सुझाव, यस्तो छ मोडालिटी

दीपक भट्ट
भदौ ८, २०७७ सोमबार ९:३३,

नेपाल उद्योग वाणिज्य महासंघले निर्माण गरेको कार्यदलले तयार गरेको सुझाव प्रतिवेदनअनुसार दशैँअघि नै नयाँ नेतृत्व पाउने भएको छ।

महासंघले गठन गरेको छ सदस्य सम्मिलित टोलीले निर्वाचन मोडालिटी र साधारणसभाको प्रक्रियाको सुझाव पेश गरेको हो।

विज्ञहरुको रायअनुसार तयार पारिएको प्रतिवेदनले दशैँअघि नै महासंघले नेतृत्व पाउने गरी अघि बढ्न सुझाव दिएको छ। कार्यदलले प्रतिवेदन तयार गरेर त्यसको प्रतिलिपि महासंघको सचिवलाई दिइसकेको छ। आधिकारिक रुपमा हालको कार्यसमितिलाई बुझाउन भने बाँकी छ।

उक्त प्रतिवेदनले महासंघको चैतमा रोकिएको साधारणसभा र निर्वाचन गर्नको लागि छुट्टाछुट्टै मोडालिटी तयार गरेको छ। साधारणसभा वेबिनार मोडलबाट गर्नुपर्ने भनिएको छ। त्यसको लागि धेरै सदस्यहरुको माग पनि रहेको प्रतिवेदनमा उल्लेख छ।

निर्वाचनको हिसाबमा भने ३ किसिमको व्यवस्था प्रस्ताव गरिएको छ। कार्यदलले स्वस्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत विज्ञहरुसँग पनि महासंघको निर्वाचनबारे छलफल गरेको थियो। महासंघमा १ हजारभन्दा बढी मतदाता सदस्य रहेकोले उनीहरु सम्मिलित भएर निर्वाचन सकरी गर्न सकिन्छ भनेर राय माग गरेको थियो।

स्वास्थ्य मन्त्रालयमा कार्यरत विज्ञहरुले असोज पहिलो सातादेखि कोरोना संक्रमण कम हुँदै जाने र आसोजको दोस्रो वा तेस्रो सातादेखि काठमाडौंमा निर्वाचनको प्रक्रिया थाल्न सकिने बताएका थिए। सोही रायको आधारमा प्रतिवेदनमा समेत सोही कुरा लेखिएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘कोरोना संक्रमण हाल बढिरहेको तर असोजको पहिलो सातादेखि कम हुँदै जाने विज्ञहरुको भनाइ रहेकोले त्यसपछि निर्वाचन गर्नसकिने र काठमाडौंमा नै कोरोना संक्रमणबाट बच्ने सुरक्षा विधि अपनाएर गर्न सकिनेछ।’

प्रतिवेदनले काठमाडौंमा नै महासंघको निर्वाचन गर्न सकिने भनेको छ। त्यसको लागि जिल्ला÷नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट (द्विराष्ट्रिय संघ उवासंघ समेत)लाई काठमाडौंमै फरक–फरक ठाउँमा फराकिलो निर्वाचनको प्रक्रिया अपनाउन सकिने उल्लेख छ।

यदि भेला भएर निर्वाचन गर्न नसकिने अवस्था आयो भनेचाहिँ थप दुई विकल्प अपनाउन सकिने उल्लेख छ। भेला भएर निर्वाचन गर्न नसकिने नै स्थिति कायम रह्यो भने प्रदेश–प्रदेशमा निर्वाचन गर्ने र मत संकलन गरेर गणना गर्ने उल्लेख छ।

यो प्रक्रिया पनि अपनाउन नसकिएको खण्डमा भने इ–भोटिङको प्रक्रिया समेत अपनाउन सकिने उल्लेख छ। ११ पृष्ठ लामो प्रतिवेदन तयार गरेको छ।

डीबी बस्नेत, अरुणराज सुमार्गी, सुनीलगोपाल श्रेष्ठ, विनोद ढकाल, रञ्जितराज आचार्य र भरतराज आचार्य कार्यदल साउन २१ गते महासंघको कार्यकारिणी सभाले निर्माण गरेको थियो। उक्त कार्यदललाई १५ दिनभित्र महासंघको रोकिएको निर्वाचन र साधारणसभालाई कसरी अहिलेको अवस्थामा गर्न सकिन्छ सुझाव दिन भनिएको थियो।

सोहीअनुसार गत ४ गत नै कार्यददले सुझावसहितको प्रतिवेदन तयार गरेको थियो। तर आधिकारिक रुपमा भने बुझाउन बाँकी रहेको छ।

महासंघको नयाँ नेतृत्वमा अध्यक्षको लागि शेखर गोल्छा तय भइसकेका छन्। महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ। जसअनुसार उनी अध्यक्ष बन्नलागेका हुन्।

त्यस्तै अन्य पदको लागि भने निर्वाचन नै हुने भएको छ। वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन्। उनीहरुले आफ्नो नेतृत्वमा प्यानल नैै निर्माण गरेर पदाधिकारीहरु छनोट गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .