कारोबार


काठमाडौँ मलको भाडामा लेखा समितिको चासो

काठमाडौँ मलको भाडामा लेखा समितिको चासो

नेपालखबर
साउन ५, २०७६ आइतबार १२:२९,

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सञ्चय कोषका पदाधिकारीलाई कसैको दबाबमा नपरी संस्था र सेवाग्राहीको हितलाई सर्वोपरि ठानेर काम गर्न निर्देशन दिएको छ।

कर्मचारी सञ्चय कोष भवन बहालका सम्बन्धमा कोषका अध्यक्ष र प्रशासकसँग आइतबार छलफलपछि समितिले घर भाडा होस् वा अरू कुनै क्षेत्रमा लगानी गर्नु परेमा संस्थाको लगानी सिद्धान्त र आधारलाई उल्लंघन नगर्न सल्लाह दिएको हो।

बैठकमा सांसद डा. मीनेन्द्र रिजालले भने, ‘कोषको लगानीमा नेपाल वायु सेवा निगमले मासिकरुपमा ठूलो घाटामा रहेको अवस्थामा छ, तपाईंहरुको लगानी जोखिममा पर्न सक्नेप्रति कतिको चनाखो हुनुहुन्छ, लगानीको सिद्धान्त र आधारमा ऋण प्रवाह भएको हो वा कसैको दबाबमा भएको छ?’ निगम अहिले मासिक १४ करोड ७० लाख घाटामा रहेको सूचना प्राप्त भएको अवस्थामा कोषले आफ्नो रकम कसरी फिर्ता गर्न सक्छ भनी उनले प्रश्न समेत गरे।

बैठकमा केही सांसदहरुले कूल ३७ करोड सम्पत्ति रहेको निगमलाई किन ४० अर्ब ऋण दिने काम गरियो भनी प्रश्न गरे। कोषले माथिल्लो तामाकोशी, रुसुवागढी र साञ्जेन, माथिल्लो त्रिशूली थ्री बी विद्युत् आयोजनामा पनि लगानी गरेको छ।

सांसद प्रेमबहादुर आलेले लामो समयसम्म टेन्डर नगरी काठमाडौँ मल आफूखुशी भाडामा लगाउने प्रवृत्तिले संस्थाको हित हुनै नसक्ने जिकिर गर्दै भवन भाडामा लगाउने सन्दर्भमा यथाशीघ्र बोलपत्र आह्वान गर्न पदाधिकारीको ध्यानाकर्षण गराए।

कोषका अध्यक्ष शिशिर ढुंगानाले सेवाग्राहीको संकलित रकम एक पैसा पनि तलमाथि हुन नपाओस् भन्नेतर्फ आफू सचेत र दृढ रहेको बताए।

प्रशासक तुलसीप्रसाद गौतमले धरहरा बनाउने क्रममा सुन्धारास्थित कोषको भवनको केही भाग भत्काउन पर्ने भएकाले त्यससम्बन्धी निर्णय भएपछि भाडामा दिन बोलपत्र आह्वान हुने जानकारी दिए।

पहिलो पटक २०६२ सालमा बोलकबोल प्रक्रियाद्वारा भाडामा लगाइएको सुन्धारास्थित काठमाडौँ मल र वरपरका टहराबाट कोषले मासिक एक करोड ३७ लाख बहाल लिँदै आएकामा धरहरा बनाउने क्रममा टहरा हटाएपछि अहिले मासिक ९७ लाख बहाल उठाउँदै आएको जानकारी दिइयो। विचौलियाबाट पीडित भएको भन्दै मलको भाडासम्बन्धी व्यवस्थापन गर्न व्यपारीहरुले कोषलाई नै आग्रह गर्दै आएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad