नेपाल राष्ट्र बैंकले भोलिदेखि बैंक सञ्चालनमा अवरोध नहुने गरी प्रशासनसँग समन्वय गरेको जनाएको छ।
उपत्यकामा बुधबार रातिदेखि नै निषेधाज्ञा जारी गरेर सबै सेवा ठप्प भइरहँदा अत्यावश्यक सेवा प्रवाहमा अवरोध नगर्ने भने पनि प्रशासनले आज बैंकका कर्मचारीलाई कार्यालय जान रोकेको थियो। कर्मचारीलाई अवरोध भएपछि बैंकर संघले खुलेका बैंक पनि बन्द गरेका थिए। तर राष्ट्र बैंकले यसमा समन्वय गरिसकेकोले अवरोध नदोहोरिने भएको छ। ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कर्मचारीलाई प्रहरीको अवरोधपछि बैंक बन्द भएको बारे सूचना पाएलगत्तै प्रशासनसँग छलफल गरेकोले भोलिदेखि सबै शाखा खुल्ने बताए। उनले नेपालखबरसँग भने, ‘ड्युटीमा रहने प्रहरीलाई माथि भएको समन्वयको जानकारी प्रवाह नहुँदा समस्या भयो, त्यसलाई राष्ट्र बैंकले सुल्झाएको छ।’

उनले आज उपत्यकाका सबै शाखा नखुलेका हुनसक्ने भए पनि राष्ट्र बैंकको सहजीकरणपछि सबै बन्द नभएको दाबी गरे। प्रहरीले बैंकको परिचयपत्र देखाए पनि अवरोध गरेपछि नेपाल बैंकर संघले बैंकका मुख्यबाहेक शाखा कार्यालय नखोल्ने निर्णय गरेको थियो। डा. भट्टले राष्ट्र बैंकले प्रशासनसँग समन्वय गरेपछि बैंकर संघ आफ्नो निर्णयबाट पछि हटेको समेत दाबी गरे।
उनका अनुसार भोलिदेखि बैंकका शाखाहरु खुल्नेछन् भने प्रहरीले बैंकका कर्मचारीलाई कुनै अवरोध नगर्ने बताएको छ।
नेपाल राष्ट्र बैंकले अघिल्लो दिनमात्रै सबै बैंकलाई न्यूनतम बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिए पनि प्रहरीले कर्मचारीलाई अवरोध गरेको हो।
एक हप्ता हुने निषेधाज्ञामा सरकारले अत्यावश्यक कामबाहेक बाहिर निस्किन पनि रोकेको छ। तर अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय सञ्चालन गर्न भने दिएको छ। सोहीअनुसार राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय सेवा अत्यावश्यक नै रहेको भन्दै प्रशासनसँग छलफल गरेर सेवा सुचारु राख्न निर्देशन दिएको थियो।
राष्ट्र बैंकले धेरै कर्मचारीबाट बैंक तथा वित्तीय संस्था नखुलाउने र धेरै शाखा पनि खुल्न नदिने तर न्यूनतम बैंक सेवा सुचारु गर्नू भनी ५ बुँदे सर्कुलर जारी गरेको थियो।
उसले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी आफ्ना ग्रहकलाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न, एटीएम मेसिनहरुमा पर्याप्त नगद राख्न र सोको निगरानी गर्ने व्यवस्था मिलाउन, अत्यावश्वक वस्ुतको आपूर्ति सुनिश्चित गर्न ड्रफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन, न्यूनतम शाखा खोली न्यून्तम कर्मचारीबाट सेवा प्रभाव गर्न बैंकहरुलाई भनेको थियो।
त्यस्तै आफ्नो बैंकको सेवाबारे सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर सार्वजनिक गर्न भनेको थियो।
सोहीअनुसार नेपाल बैंकर्स संघले पनि वाणिज्य बैंकले आफ्नो शाखाहरुमध्येको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय गरेको थियो। तर कार्यालय हिँडेका कर्मचारी नै अवरोधमा परेपछि शाखा बन्द गर्ने निर्णय गरेको थियो। राष्ट्र बैंकको समन्वयपछि अब भने शाखाहरु खुल्ने भएका छन्।

प्रतिक्रिया