यो साताको पहिलो कारोबार दिन नै सेयरबजार ओरालो लागेको छ। आज सेयरबजार कारोबार मापन गर्ने सूचक ३.७५ अंकले घटेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव ५३ अंकले घटेको छ। आज सेयरबजारमा कुल १ सय ६६ कम्पनीको कारोबार भएकामा ११ लाख १९ हजार कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज ४ हजार ४ सय ५६ पटकको खरिदबिक्रीबाट २९ करोड ८१ लाखको मात्रै कारोबार भएको छ। कुल ११ समूहको कारोबार भएकामा फाइनान्स र अन्य समूहको कारोबार हरियो भएको छ। बाँकी नौ समूहको सूचक रातो छ। जीवन बीमा समूहतर्फ सबैभन्दा बढी कारोबार घटेको नेप्सेले जनाएको छ।
आज सिभिल बैंक लिमिटेडको सबैभन्दा बढी २ करोड ६४ लाखको प्रतिसेयर मूल्य १ सय ६३ रुपैयाँमा कारोबार भएको छ भने शिवम् सिमेन्टको प्रतिकित्ता ६ सय २३ रुपैयाँले १ करोड ५८ लाखको कारोबार भएको छ। त्यस्तै धेरै कारोबार हुनेमा तेस्रो स्थानमा रहेको नबिल बैंकको १ करोड ५३ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ४६ लाखको, प्रभु बैंकको १ करोड २० लाखको र माथिल्लो तामाकोशीको १ करोड १७ लाखको सेयर कारोबार भएको छ।
कमाउनेमा भने आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्। उनीहरुले प्रतिकित्ता २६ रुपैयाँ आम्दानी गरेका हुन्। त्यस्तै मल्टिपर्पोस फाइनान्स कम्पनीका सेयरधनीले ६ रुपैयाँ कमाउँदा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३१ रुपैयाँ प्रतिकित्ता सेयर आम्दानी गरेका छन्।
गुमाउनेमा भने आज युनियन हाइड्रोपावर अगाडि छ। कम्पनीका सेयरधनीले ११ रुपैयाँ प्रतिकित्ता सेयर गुमाएका छन्। दिव्येश्वरी हाइड्रोपावरका सेयरधनीले ५ रुपैयाँ गुमाएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया