नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन तीन मोडालिटीमा गर्न सक्ने गरी प्रतिवेदन तयार भएको छ।
गत चैतमा नै हुनपर्ने निर्वाचन कोरोनाको कारणले हालसम्म पनि अन्योल भएपछि महासंघले एक कार्यदल गठन गरि अहिलेको अवस्थामा कसरी निर्वाचन गर्न सकिन्छ भन्ने प्रतिवेदन तयार गर्न लगाएको थियो। उक्त कार्यदलले तीन मोडालिटी सहितको प्रतिवेदन तयार गरेको हो।
प्रतिवेदन बिहीबार महासंघको कार्यसमितिलाई बुझाउने कार्यदलका एक सदस्यले नेपालखबरलाई जानकारी दिए।
सुरक्षा निकाय, स्वास्थ्य विज्ञहरुसँगको छलफल पछि कार्यदलले प्रतिवेदन तयार पारेको हो।
कार्यदलले तयार पारेको प्रतिवेदनमा पहिलो नम्बरमा अहिलेलाई बाधा अड्काउ फुकाएर जाने मोडालिटि अपनाउन सुझाव दिइएको छ। महासंघको विधानले अहिले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरे अनुसार शेखर गोल्छा अध्यक्ष बनाउने र अरु पदको लागि सहमतिमा जुटाउने उल्लेख छ।
तर सहमतिमा चुनिएका पदाधिकारीहरु आगामी चैतसम्मको लागि मात्रै हुने उल्लेख छ। आगामी चैतमा निर्वाचन गर्ने र स्थायी पदाधिकारी चुन्न सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै गरि दाेस्रो विकल्पको रुपमा महासंघको निर्वाचन जिल्ला जिल्लामा गर्ने भनिएको छ। महासंघको निर्वाचनको लागि करिब १ हजार जना मतदाताहरु ७७ वटै जिल्लाको प्रतिनिधि रहेकोले जिल्ला जिल्लामा नै निर्वाचन गरेर मत गणना गरी निर्वाचन गर्न सक्ने उल्लेख गरिएको छ।
तेस्रो विकल्पको रुपमा सुरक्षा विधिहरु अपनाएर काठमाडौंमा नै निर्वाचन गर्न सकिने पनि उल्लेख गरिएको छ। त्यसको लागि भने नेपाल सरकारसँग अनुमति लिएर सुरक्षाको उपायहरु अपनाएर निर्वाचन गर्न सकिने समेत उल्लेख गरेको छ।
महासंघको साउन २१ गते बसेको कार्यकारिणी समितिको बैठकले साधारणसभा र निर्वाचनको मोडालिटी तय गर्न ६ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा डीबी बस्नेत, अरुणराज सुमार्गी, बिनोद ढकाल, सुनिलगोपाल श्रेष्ठ, भरत आचार्य र रञ्जित आचार्य रहेको छन्।
उनीहरुले भर्चुअल छलफल गर्दै प्रतिवेदन लेखेका हुन्। छलफलको क्रममा आएको सुझावको आधारमा प्रतिवेदन तयार भएको हो।
महासंघको निर्वाचन र साधारणसभा दुवै गर्नुपर्ने अवस्था भएपछि हालको लागि साधारण सभा भने रोक्नुपर्ने र आगामी चैतमा नै गर्न उचित हुने सुझावहरु आएको र सोही आधारमा प्रतिवेदन निर्माण भएको छ।
महासंघको हरेक वर्ष चैत २८ गते साधारणसभा हुने विधानमा उल्लेख छ। ३/३ वर्षमा महासंघको नयाँ पदाधिकारीको लागि निर्वाचन पनि हुन्छ।
यो वर्ष कोरोना संक्रमण र त्यसपछि भएको लकडाउनको कारणले दुवै रोकिएको छ। महासंघ वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विधानअनुसार स्वत अध्यक्ष हुँदैछन्। वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्।

प्रतिक्रिया