कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढ्दै जाँदा औद्योगिक क्षेत्रहरु पनि प्रभावित भएका छन्। उद्योगभित्र काम गर्ने मजदुरमा कोरोना भाइरस संक्रमण देखिएपछि कति उद्योग सिल भएका छन्, कतिपय औद्योगिक करिडोर नै बन्द हुनथालेका छन्।
प्रदेश २ को मुख्य सहर वीरगन्ज कोरोना भाइरस संक्रमणले आक्रान्त पारिरहेको बेला त्यहाँका उद्योग तथा मजदुर थप संकटमा परेका छन्। वीरगन्जका उद्योगमा काम गर्ने भारतीय मजदुर आउनथालेपछि कोरोना संक्रमण बढेको त्यहाँका व्यवसायीले बताएका छन्।
सरकारले असार १ देखि उद्योग खोल्न अनुमति दिइएको थियो। १२० दिन लामो लकडाउनपछि बन्द भएका उद्योगहरु पुनः खुल्न थालेका थिए।
त्यसरी खुलेका उद्योगहरुमा काम गर्ने भारतीय मजदुर पनि काममा आए तर उनीहरु फर्किँदा कोरोना परीक्षण वा क्वारेन्टिनको व्यवस्था हुन सकेन। वीरगन्जका एक व्यवसायीले उद्योग सञ्चालकले नै बोर्डरका प्रहरीसँगको सेटिङ मिलाएर कामदार ल्याएको बताए।
‘पहुँच भएकाले सेटिङ मिलाएर भारतीय मजदूर ल्याए तर परीक्षण भएन’, ती व्यवसायीले नेपालखबरसँग भने, ‘पछि एक्कासि कोरोना संक्रमण देखियो।’
भारतबाट आएका धेरै मजदुर बोर्डरको चोर बाटोबाट आएको उनले बताए। उद्योगभित्रका भारतीय मजदुरमा संक्रमण देखिएपछि कतिपय सम्पर्कविहीनसमेत भएका छन्। केही दिनअघि जगदम्बा उद्योगका केही मजदुरलाई कोरोना संक्रमण भएको थियो। संक्रमण देखिएपछि उद्योग सिल गरिएको छ। उद्योगले एउटा होटललाई क्वारेन्टिन बनाएर मजदुर राखेको थियो।
अन्य उद्योगका मजदुरमा पनि संक्रमण देखिएको छ। स्थानीयले समेत संक्रमण देखिएका उद्योगमा ताला लगाइदिएको वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए।
‘स्थानीयले जबर्जस्ती उद्योगमा ताला लगाउने काम भएको छ’, उनले भने, ‘उद्योगमा त्रास फैलाउने काम भएको छ।’
असारभन्दा अगाडि वीरगन्जमा खासै संक्रमण थिएन। जब उद्योग खोल्ने भनेर सरकारले अनुमति दियो, त्यसपछि भने संक्रमण तीव्ररुपमा बढ्दै गएको व्यवसायी बताउँछन्।
यसको प्रमुख कारण भारतबाट चोरबाटो हुँदै उद्योगमा काम गर्न आएका मजदुर पनि भएको उनीहरु बताउँछन्। हरेक उद्योगमा १५ देखि २० प्रतिशत भारतीय मजदुर रहेका छन्। विहारमा संक्रमण तीव्र भइरहेको बेला चोरबाटोबाट भारतीय मजदुर आएका थिए।
फलाम, सिमेन्टजस्ता उद्योगमा काम गर्ने दक्ष मजदुर भारतीय छन्। उद्योगहरु पुनः खुलेसँगै ती भारतीय मजदुरलाई ल्याउने बन्दोबस्त मिलाइदिन व्यवसायीले सरकारलाई आग्रह समेत गरेका थिए।
राजपालका अनुसार उनीहरुले जेठ महिनामा संघ र प्रदेशका स्वास्थ्य र उद्योग मन्त्रालयमा पत्र लेखेर भारतबाट मजदुर ल्याउनुपर्ने र उनीहरुको परीक्षण र अन्य औपचारिक व्यवस्था मिलाइदिन पत्र पठाइएको छ।
‘यहाँ केही कामदार चाहिन्छ भनेर सरकारलाई पत्राचार गरेका थियौँ’, राजपालले भने, ‘हामीले उद्योग नै तोकेर यी उद्योगमा यति मजदुर आउँछन् भनेका थियौँ।’
सरकारले अहिलेसम्म त्यसबारे केही सम्बोधन नगरेको उनको गुनासो छ। समयमै व्यवस्थित रुपमा मजदुरको व्यवस्था नमिलाउँदा कोरोना संक्रमण भयावह भएको त्यहाँका व्यवसायीको भनाइ छ।
भारतमा रहेका नेपाली मजदुरलाई भने आउन दिएको र उनीहरुलाई १४ दिन क्वारेन्टिनमा बसेर काममा जान पाउँछन् तर भारतीय कामदारको विषयमा भने सरकारले केही पनि बोलेको छैन।
वीरगन्जका हरेक उद्योगमा कम्तीमा १५ देखि २० प्रतिशत भारतीय मजदुर छन्। ठूला उद्योगहरुले मजदुरलाई आफ्नो उद्योगमै राखेर काम गराइरहेका छन्। साना उद्योगका मजदुर भने घरबाट आउने जाने गरेका छन्।
सरकारले कर उठाउने नियत मात्र राखेको व्यवसायीको गुनासो छ।
‘सरकारले कर उठाउनकै लागि उद्योग खोल्न लगाएको मात्र बुझियो,’ राजपालले भने, ‘उद्योग खुलेपछि कर्मचारीलाई व्यवस्थापन, परीक्षण लगायतका कुरामा कुनै पनि सहयोग भएन।’
छिमेकी देश भारतको विहारमा कोरोना संक्रमण उच्च छ। वीरगन्जमा आउने अधिकांश मजदुर विहारबाटै आउँछन्। कतिपय व्यक्तिहरु भने दिनभरि वीरगन्जमा काम गरेर बेलुका विहार फर्केको समेत पाइएको व्यवसायीको भनाइ छ।
संक्रमण बढ्दै जाँदा लकडाउनपछि पुनः खुलेका उद्योगहरु धमाधम बन्द हुँदै गएका छन्। राजपालका अनुसार वीरगन्जमा ३० प्रतिशत पनि उद्योग चल्नसकेका छैनन्। अहिले त स्थानीय सरकारले उद्योग चलाउने हो भने आफैँ व्यवस्थापन गर्न भनेको राजपालले सुनाए।
वीरगन्ज मुलुककै ठूलो औद्योगिक क्षेत्र हो। वीरगन्जका गल्ली–गल्लीमा उद्योग तथा कलकारखाना छन्। बारा–पर्सा औद्योगिक करिडोरमा साना ठूला गरेर झण्डै हजारको हाराहारीमा उद्योगहरु छन्।
बारा–पर्सा औद्योगिक करिडोरमा हरेक किसिमका उद्योग छन्। यस क्षेत्रमा निर्माण सामग्री धेरै उत्पादन हुन्छन्। जस्तापाता, डन्डीदेखि किलासम्म उत्पादन हुन्छन्। सिमेन्ट, प्याकेजिङ, औषधि, सबै किसिमका खाद्यान्न सबै उद्योग छन्।

प्रतिक्रिया