ललितपुरको ग्वार्कोमा रहेको क्वेस्ट इन्टरनेसनल कलेज र काठमाडौंको बालुवाटारमा रहेको सांग्रिला विकास बैंकबीच वित्तीय क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न सहकार्य गर्ने सम्झौता भएको छ।
दुई संस्थाबीच भएको सम्झौतामा क्वेस्ट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन्। गत बुधबार यस्तो सम्झौता भएको हो।
क्वेस्ट इन्टरनेसनल कलेजले पोखरा विश्वविद्यालयबाट सन् २००९ मा सम्बन्धन पाई व्यवस्थापनका बीबीए, बीएचउम र एमबीएका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजमा हाल सात सय विद्यार्थीले अध्ययन गरिरहेका छन्। त्यस्तै सांग्रिला विकास बैंकले सात सय कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै ९२ शाखामार्फत देशैभर सन् २००४ देखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
सम्झौताअनुसार बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्यक्षमता र उत्प्रेरणा अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य अभिवृद्ध गर्ने अवसर प्रदान गर्ने क्रममा क्वेस्टले अध्यापन, अनुसन्धान र तालिममार्फत उक्त लक्ष्यमा योगदान पु¥याउनेछ। साथै बैंकले क्वेस्टका विद्यार्थीलाई इन्टर्नशिपको मौका पनि दिँदै आएको छ।
समझदारीअनुसार बैंकका कर्मचारीले क्वेस्टको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्क छुट दिने व्यवस्था गरिएको जनाइएको छ। यो सहकार्यलाई मानव संसाधन विकासमा शैक्षिक क्षेत्र र उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशः पुर्दै जाने अभियानको सुरुवाती कदमको रुपमा लिइएको बैंकले जनाएको छ।

प्रतिक्रिया