कारोबार


इन्टरनेट व्यवसायमा ठूला टिभी च्यानलको प्रवेश, एकै वर्ष थपिए २० नयाँ कम्पनी

इन्टरनेट व्यवसायमा ठूला टिभी च्यानलको प्रवेश, एकै वर्ष थपिए २० नयाँ कम्पनी

सन्तोष न्यौपाने
साउन २७, २०७७ मंगलबार ११:४५,

मुलुकमा लकडाउनसँगै नेपालकै ठूलो टेलिभिजन सेवा प्रदायक डिशहोमले इन्टरनेट सेवा सुरु गर्यो। काठमाडौं भैँसीपाटीबाट सुरु भएको डिशहोम फाइबर इन्टरनेट सेवा कपन, तीनकुने हुँदै दुई दिनअघि मात्र बौद्धसम्म विस्तार भएको छ।

यही हप्ता अर्को टेलिभिजन सेवा प्रदायक प्रभु डिजिटलले पनि इन्टरनेट सेवा विस्तार सुरु गरेको घोषणा गरेको छ। उसले काठमाडौंबाट सुरु गरेको सेवा मुलुकभरका प्रमुख सहरमा लैजाने बताएको छ।

मुलुकमा कोरोना संकटपछि लकडाउनमा इन्टरनेटको माग बढिरहेको बेला दुई ठूला टेलिभिजन सेवा प्रदायकले इन्टरनेट व्यवसायमा प्रवेश गरेका हुन्।

देशमा अनलाइन तथा इन्टरनेटमा हुने कामको विस्तार, भइरहेका सरकारी तथा निजी क्षेत्रका काम अनलाइनबाट सुरुवात, स्मार्टफोनको बढ्दो प्रयोगलगायतका कारणले इन्टरनेटको माग बढ्दो छ।

त्यस्तै, सरकारी तर्फबाट पनि इन्टरनेट विस्तारको लागि केही भए पनि भौतिक पूर्वाधारहरु बनिरहेका छन्। यही पृष्ठभूमिमा मुलुकमा इन्टरनेट सेवा प्रदायकको संख्यामा पनि तीव्र वृद्धि भइरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा मात्रै इन्टरनेट सेवामा २० वटा नयाँ कम्पनी थपिएका छन्।

२०७६ वैशाख १५ गते ‘स्यार्प आईडी सोलुसन’ले इन्टरनेट व्यवसायको अनुमति पाएदेखि उक्त वर्षको चैत १० गते फाइबर वर्ल्ड कम्युनिकेसनसम्म आइपुग्दा २० कम्पनीले इन्टरनेट सेवाको लागि प्राधिकरणबाट अनुमति लिएका छन्।

१ सय २५ कम्पनीले लिए अनुमति
गएको वर्ष आएका २० वटा कम्पनीसहित अहिलेसम्म १ सय २५ कम्पनीले अनुमतिपत्र लिइसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

तीव्र प्रतिस्पर्धा भइरहेको बेला ठूला कम्पनीको प्रवेशले बजार अझै तात्ने निश्चित छ। इन्टरनेट व्यवसायमा प्रवेश गरेका नयाँ कम्पनीहरुले पछिल्लो प्रविधि ल्याएकोेले गुणस्तरीय इन्टरनेटसँगै सस्तो दरमा सेवा दिने दाबी गरेका छन्।

डिशहोमका महाप्रबन्धक (जीएम) रमेश सापकोटाले बजारमा धेरै संख्यामा इन्टरनेट सेवा प्रदायक भए पनि आफ्नो ब्रान्ड र पहुँचका हिसाबले नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक बन्ने दाबी गरे।

‘अहिले धेरै कम्पनी भए पनि विश्वसनीय नभएको ग्राहकको गुनासो छ’, नेपालखबरसँग सापकोटाले भने, ‘ठूलो कम्पनीका हिसाबले धेरै छिटो बजार विस्तार गर्छौँ।’

अहिले काठमाडौंका केही ठाउँमा मात्र इन्टरनेट सेवा उपलब्ध भए पनि ६ महिनाभित्र मुलुकको आधा भागमा पुग्ने उनले बताए। डिशहोमको टिभीका ग्राहक १५ लाख भएकाले पनि बजारमा डिशहोम फाइबर नेटको माग उच्च भएको उनले बताए।

हुवावे कम्पनीको २०२० अपरेटर टेक्नोलोजीअनुसार नेटवर्किङको डिजाइन गरेकाले गुणस्तर उच्च हुने उनको दाबी छ।

त्यस्तै, दशैँअगाडि मुलुकभरका प्रमुख सहरमा आफ्नो सेवा पुर्याउने लक्ष्यसहित आक्रामक बजार विस्तारमा लागेको प्रभु टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत रविन सुवेदीले बताए।

‘दशैँअघि मुलुकभरका प्रमुख सहरमा हाम्रो इन्टरनेट सेवा उपलब्ध गराउँछौँ’, सुवेदीले भने, ‘इन्टरनेट विस्तारको काम सुरु भइसकेको छ।’ बजार प्रतिस्पर्धामा आफ्नो इन्टरनेट सेवा अग्रणी स्थानमा पु¥याउने योजना आफूसँग रहेको सुवेदीले बताए।

प्रभु इन्टरनेट सेवा सञ्चालनमा विश्वकै पछिल्लो प्रविधि ल्याएको जसले गर्दा उच्च गुणस्तरको इन्टरनेट सेवा ग्राहकलाई उपलब्ध हुने सुवेदीले बताए।

‘हामीले उच्च प्रविधिसँगै अरुभन्दा सस्तो इन्टरनेट उपलब्ध गराउनेछौँ’, नेपालखबरसँग सुवेदीले भने।

मुलुकमा वर्षौँदेखि इन्टरनेट सेवा सञ्चालन गर्दै आएका सेवा प्रदायकले भने आवश्यकभन्दा धेरै कम्पनी भएकाले अस्वस्थ प्रतिस्पर्धा भएको बताउँदै आएका छन्।

इन्टरनेट व्यवसायमा नाफा राख्ने ठाँउ नै नराखी प्रतिस्पर्धामा सेवा प्रदायक उत्रिएका र सानादेखि ठूला कम्पनीहरुले ग्राहक संख्या बटुल्ने गरी महंगोमा इन्टरनेट ल्याएर सस्तोमा बेचिरहेको उनीहरुको भनाइ छ।

अवस्थ प्रतिस्पर्धाले नै गुणस्तरको विषय सधैँ उठिरहेको भन्दै गुणस्तर सुधार गर्न नयाँ प्रविधिमा ल्याउन सक्नुपर्ने सेवाप्रदायकहरु बताउँछन्। त्यसको लागि थप लगानी आवश्यक हुन्छ तर इन्टरनेट सेवाबाट मार्जिन राम्रो नभएकाले थप लगानी गर्न नसकेको उनीहरु बताउँछन्।

प्राधिकरणले दुई किसिमका इन्टरनेट सेवा पदायकलाई अनुमतिपत्र दिँदै आएको प्रवक्ता मीनप्रसाद अर्यालले बताए।

अहिले एउटा इमेलसहितको इन्टरनेट सेवाको अनुमति लिन सकिन्छ भने अर्को ग्रामीण इन्टरनेट सेवा पनि लिन सकिन्छ। जुन ग्रामीण क्षेत्रमा मात्र सञ्चालन गर्न सकिन्छ। यस्तो सेवाको अनुमतिपत्र लिने कम्पनीको संख्या तीनवटा मात्र छ। यसको दर्ता शुल्क सय रुपैयाँ पर्छ।

पछिल्लो वर्षमा दर्ता भएका २० इन्टरनेट सेवा प्रदायक भने इमेलसहितको इन्टरनेट सेवा समूहमा पर्छन्। जसले मुलुकभर इन्टरनेट विस्तार गर्न सक्छन्। यो इन्टरनेट अनुमतिपत्र शुल्क ३ लाख रुपैयाँ छ। पाँच वर्षमा नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा यसको ९० प्रतिशत अर्थात् २ लाख ७० हजार रुपैयाँ शुल्क लाग्छ।

‘यस्तो इन्टरनेट सेवाको अनुमति पत्र दिएको ३ महिनामा सेवा सुरु गर्नुपर्छ’, अर्यालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .