ललितपुरको झम्सीखेलमा रहेको मिथिला थालीले पस्किने आतिथ्य नै स्वादिलो छ— मोहीपुरीले स्वागत, मिठापानले विदाइ।
त्यसमाथि नेपाली खानाले दिने बेग्लै स्वादको के कुरा!
औपचारिक रुपमा नखुल्दै भरिनथालेका छन् ग्राहक। मिथिला थालीले त्यसै तानेको छैन उनीहरुलाई।
काठको ट्रेमा दर्जन बढी परिकार। अचारको स्वाद प्रस्तुत गर्ने छुट्टै तरिका। को नलोभियून्? देख्दैमा वाह भन्छन् ग्राहक!
बीबीसी मास्टर सेफमा भाग लिएपछि स्वादपारखीले चिन्न थालेका सन्तोष शाह अहिले झम्सिखेलमा भेटिन्छन्। मिथिला थाली उनैको पाककला हो।
शाहले बेलायतमा लामो समय बिताए। नेपाली रैथाने स्वाद र परिकार विश्व मञ्चमा पुर्याएर स्वदेश फर्किए।
यहाँ आएसँगै उनको परिचय बदलिँदै गएको छ। अब उनी ‘मिथिला संस्कृतिको प्रवद्र्धक’को अर्को परिचय बनाइरहेका छन्।
एक वर्षअघि मात्र उनले जनकपुरबाट मिथिला स्वाद पस्किन थालेका हुन्।
विश्वका तारे होटलका अनुभवी सेफ भए पनि मिथिला थालीमा निकै मिहिनेत गर्नुपरेको सुनाउँछन् शाह।
‘सबै ठाउँमा पाइने दाल र भात मात्रै पस्किएर त हुँदैन’, उनी भन्छन्, ‘मैथिली समुदायमा प्रचलनमा रहेका परिकार मिथिला थालीमा जोड्दै गयौँ।’
ग्राहकलाई खानाको नयाँ स्वाद चखाउन पाएकामा दंग छन् शाह।
‘सुरुमा केही कमजोरी थिए तर अहिले ससाना कुरालाई सुधार गर्दै राम्रो बनाएका छौँ’, उनी भन्छन्, ‘काठमाडौं उपत्यकामा भएका दालभातका रेस्टुरेन्टभन्दा मिथिला थालीको प्रस्तुति र परिकार फरक छ।’
नयाँ रेसिपी विकास गर्ने उनको काइदा पनि उस्तै चाखलाग्दो छ।
घर, परिवार, गाउँबाट सिकेको रेसिपी। दिनहुँ मिथिला खाना तयार गर्ने गृहिणीहरुबाट रेसिपी बनाउन सिकेको उनी बताउँछन्।
झम्सिखेलमा पस्किने थालीमा मिथिला परिकार मात्रै रहेको उनले सुनाए।
‘मिथिला फुड र आर्टलाई सँगै लिएर जाने कोशिसमा छौँ’, शाह भन्छन्, ‘मिथिला थाली रेस्टुरेन्टमा पुग्नेलाई परिकारसँगै मिथिला आर्ट (कला) चिनाउने गरी एम्बियन्स (डिजाइन) बनाइएको छ।’
झम्सिखेलमा राखिएका आर्ट ग्राहकले खरिद पनि गर्न सक्छन्। सर्भ गर्ने ट्रे, अचार राख्ने भाँडो र अचार नै खरिद गरी घर लैजान सक्छन्।
‘खानासँगै कला मन पराउनेले शोकेस गरिएको पेन्टिङ खरिद गर्न सक्नुहुन्छ’, उनले सुनाए।
जनकपुरमा आवासीय सुविधासहित करिब ३ करोड रुपैयाँ लगानीमा मिथिला थाली सञ्चालनमा छ। करिब ५० लाख रुपैयाँ लगानीमा आफ्ना दाइ दिलिप र सेफ लक्ष्मणसँगको सहकार्यमा मिथिला थाली सञ्चालनमा आएको हो।
भान्से लक्ष्मणको रुपमा चिनिएका लक्ष्मण भण्डारी मिथिला थालीका सल्लाहकार छन्।
कम्तीमा १५ फरक स्वाद
नेपाली खानामा बेग्लै स्वाद दिने थकाली र नेवारी थिए। शाहले त्यसमा अर्को स्वाद थपिदिएका छन्— मिथिला परिकार।
‘स्थानीय खाद्यान्न तथा तरकारीबाटै मिथिला थाली सेट बनेको छ’, सल्लाहकार भण्डारी भन्छन्।
मिथिला थालीमा नेपालीलाई नौलो लाग्ने ‘कडि बडी’ छ। जुन दही, बेसन र पकौडाबाट बन्छ। त्यस्तै तराईको परिकार ‘बिरिया’ पनि यसमा छ।
ग्राहकले तीबाहेक सिम साग र बेथेको अर्को स्वाद चाख्न पाउँछन्। सागलाई दालको पीठोमा मोलेपछि यो पहाडी मस्यौराजस्तै बन्छ।
चोखा अर्को परिकार हो। आलु होस् वा भन्टा। तोरीको तेलमा खुर्सानी र नुनले झानेर बनाइन्छ। तराईमा बढी खाइने सुख्खा रोटीसँग यसको संयोजन मिलेको छ।
तराई र मिथिला भन्नेबित्तिकै माछा आउँछ। मिथिला थालीमा जनकपुरको माछाको स्वाद चाख्न पाइन्छ।
भुटेको मकै, भटमास, केराउको खाजा सेट छ। खाजासँगै जनकपुरी लस्सीको मज्जा लिन पाइन्छ।
भक्तपुरबाट दूध ल्याई आफैँ दही बनाएर त्यसमा बदाम, खुवा, गुलाफ राखेपछि यहाँको लस्सीले फरक मिठास दिन्छ।
मिथिला थालीमा परिकारअनुसार मेन्युको फरक मूल्य छ। भेज (शाकाहारी) थालीको ५५०, चिकन (कुखुराको मासु)को ७५०, माछाको ७५०, मटन (खसीको मासु)को ८५० रुपैयाँ छ।
त्यस्तै जनकपुरे लस्सी १५०, घी जलेवी १५०, लालमोहन २००, अलैँची रसमलाईको मूल्य २०० रुपैयाँ पर्छ।
मिथिला खाजा साँदेको १९०, तरुवा र तिलुरी १७०, मिथिला तावा माछा २५०, मिथिला मटान ५५०, मिथिला चिकनको ३५० रुपैयाँ छ। बिहान १० बजेदेखि राति १० बजेसम्म मिथिला थालीमा रमाउन सकिन्छ।
१ वर्षभित्रै ६ स्थानमा फैलिँदै मिथिला थाली
जेठ २०८० मा मिथिला थाली खुलेको थियो। त्यसको १ वर्ष नपुग्दै शाह ललितपुरको झम्सिखेलमा आउटलेट खोल्न सफल भए।
झम्सिखेलमा सफ्ट ओपनिङ गरी सञ्चालनमा रहेको मिथिला थाली अर्को महिना औपचारिक रुपमा सुरु हुने उनको भनाइ छ।
२ हप्तापछि गौशालामा शुद्ध शाकाहारी समेत खुल्दै छ। गौशालापछि विराटनगर र वीरगन्जमा यसको विस्तार गर्ने योजना छ।
विशेषगरी मधेश प्रदेशमा सीमित मिथिला परिकारलाई विश्वबजारमा पुर्याउने सपना शाहको छ। केही वर्षभित्रै त्यो सपना पूरा गर्ने अठोट उनमा छ।
‘नेपाल बाहिर जाँदा भारतको अयोध्या र कतारको दोहामा खोल्ने तयारीमा छौँ’, शाह सुनाउँछन्, ‘अबको १ वर्षमा ६ ठाउँमा मिथिला थाली पुर्याउँछौँ।’
मिथिला थालीको लगानी व्यवस्थापन अहिलेसम्म सन्तोष साहको परिवारले नै गरिरहेको छ। उनलाई दाइ दिलिप कुमार शाहले साथ दिइरहेका छन्।
‘आउटलेट विस्तार गर्दै जाँदा लगानीकर्ता राख्ने योजना छ’, उनी भन्छन्, ‘तर फ्रेन्चाइजको रुपमा रेस्टुरेन्ट चलाउन दिँदैनौँ। बरु साझेदार भित्र्याउँछौँ।’
भिडिओ (सरोज बैजु)
प्रतिक्रिया