कारोबार


घरायसी तहमै विद्युत स्मार्ट मिटर जडान सुरु, ऊर्जामन्त्री भन्छन्ः स्मार्ट सेवाप्रवाहमा कोशेढुंगा (भिडियाे)

घरायसी तहमै विद्युत स्मार्ट मिटर जडान सुरु, ऊर्जामन्त्री भन्छन्ः स्मार्ट सेवाप्रवाहमा कोशेढुंगा (भिडियाे)

नेपालखबर
साउन २५, २०७७ आइतबार ८:११,

नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन्।

मुलुकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिनेछ। स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ।

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्नेछैन। विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबार्ट मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिनेछ।

मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुने छ । कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने छ । स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमाण्ड चुहावट नियन्त्रण हुन्छ ।

कार्यक्रममा मन्त्री पुनले सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात एउटा कोशेढुंगा भएको बताए।

भिडियाे-

‘स्मार्ट मिटरको जडान मात्रै हैन, संघीय राजधानीलगायत मुलुकका मुख्य मुख्य सहरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सहरी सौन्दर्य बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेका छौं’, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने, ‘प्राधिकरणको प्रस्तावमा विद्युत नियमन आयोगमार्फत इतिहासमै पहिलोपल्ट उपभोक्ता महसुल घटाएका छौँ भने प्राधिकरणलाई दुई वर्षदेखि सबैभन्दा बढी नाफा कमाउने मुलककै एक नम्बरको संस्था बनाउन सफल भएका छौं, इमानदार प्रयास गरिएमा गर्न सकिन्छ भन्ने पुष्टि भएको छ।’

उनले मुलुक छिट्टै ऊर्जामा आत्मनिर्भर हुने पनि बताए। ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि स्वतपत्रमार्फत घोषणा गरिएको ५ वर्षभित्र स्मार्ट ग्रिड र मिटरमिटर लागू गर्ने भनिएको कार्यक्रम कार्यान्वयनको उत्साहजनक प्रगति रहेको बताए।

उनले वितरण प्रणालीलाई भूमिगत बनाउने र स्मार्ट मिटरको प्रयोगलाई समानान्तर रुपमा अगाडि बढाइने जानकारी दिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताए।

भिडियाे-

‘स्मार्ट मिटरमा हरेक घण्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा ग्राहकको फरक–फरक महसुल तोक्न सकिनेछ, साथै अव चाँडै वर्षायाममा बढी विद्युत उत्पादन हुँदैछ, त्यसको खपत बढाउन सस्तो महसुल कायम गर्न सकिन्छ भने हिउँदयामको महसुल पनि फरक तोक्न सकिनेछ’, उनले भने, ‘स्मार्ट मिटरमा पोष्ट पेड र प्रि पेड दुवै फङसन हुने हुँदा ग्राहको ईच्छाअनुसार पोष्ट पेड र प्रि पेड गर्न सकिने छ, ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन विल भुक्तानी गर्न सक्ने हुँदा सजिलो हुन्छ।’

प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २ सय २२ टाइम अफ डे ९टिओडी० मिटरहरुलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा देशभरका करिब १ लाख २५ हजार थ्रि फेज होल करेन्ट मीटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ । यस्ता करिब १८ हजार मीटर जडान भइसकेका छन् । ६० हजार मिटर जडान भइरहेको छ । नयाँ थ्रि फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ ।

स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन व्याकबोन’ काठमाडौं उपत्यकाभरीलाई हुने गरी जडान गरिने छ । यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब १ अर्ब रुपैयाँ रहेको छ । यसमा एसियाली विकास बैकले सहुलितपूर्ण ऋण दिएको छ ।

काठमाडौं उपत्यकामा हाल रहेका करिब ४ लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ। प्राधिकरणले मुलुकभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad