नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुद्ध एयरले सिमरा विमानस्थलमा परीक्षण उडान गरेको छ।
काठमाडौंबाट १७ जना हवाइ प्राविधिकसहितको टोली लिएर बुधबार २१ गते बुद्ध एयरको एटीआर–७२, ५०० सिरिजको जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरेको कम्पनीले जनाएकाे छ।
जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको कम्पनीले जनाएको छ।
यसअघि बुद्धका एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेको थियो ।
चैत ११ गतेअघि दैनिक ७–९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुद्ध भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ।
नेपालकै सबैभन्दा पुरानो सिमरा विमानस्थलको लम्बाइ ११९० मिटर रहेको छ। औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भीडभाड हुने गर्दछ ।
बुद्ध एयरसँग ८ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा बीच १९००'डी' जहाज छन्।
भदौ १ बाट हुने उडानका लागि बुद्ध एयरले संक्रमणरहित उडानको सम्पूर्ण तयारी गरिसकेको जनाएको छ।
यात्रुको दोहोरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज, मास्क र अनुहार ढाक्ने वस्तु (फेस शिल्ड)को अनिवार्य प्रयोग लागू गरेको छ। यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाइ गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।
कम्पनीले आफ्नो वेबसाइट र मोबाइल एपबाट पनि आकर्षक छुटसहितको टिकट खरिदको व्यवस्था गरेको जनाएको छ।

प्रतिक्रिया