कारोबार


सैनिक कल्याणकारी कोषको सम्पत्ति रु ५१ अर्ब ६१ करोड

सैनिक कल्याणकारी कोषको सम्पत्ति रु ५१ अर्ब ६१ करोड

नेपालखबर
साउन १५, २०७७ बिहिबार १४:३१,

सैनिक कल्याणकारी कोषको लगानीसमेत यथार्थ सम्पत्ति रु ५१ अर्ब ६१ करोड पुगेको छ। शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा खडा गरिएको उक्त कोषमा अहिले करिब रु ४५ अर्ब ८७ करोड नगद मौज्दात छ। कोषको यो तथ्यांक गत असार मसान्तसम्मको हो। कोषबाट सञ्चालित विभिन्न कल्याणकारी कार्यमा अहिले रु पाँच अर्ब ७४ करोड लगानी छ। शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम नै कल्याणकारी कोषको मुख्य आयस्रोत हो।

अहिले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ वटा शान्ति मिसनमा पाँच हजार ९१ नेपाली शान्ति शैनिक परिचालित छन्। धेरै शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले चौथो वरियतामा छ। राष्ट्रसंघबाट अनुरोध भई आएमा १० हजारको सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जनाइसकेको छ।

एकै आवमा रु सात अर्ब २९ करोड वृद्धि
उक्त कोषको यथार्थ सम्पत्तिमा गत आवमा करिब रु सात अर्ब २९ करोड वृद्धि भएको छ। विसं २०७६ असार मसान्तमा उक्त कोषको यथार्थ मौज्दात रु ४४ अर्ब २१ करोड ९० लाख ४० हजार थियो।

संयुक्त राष्ट्रसंघबाट आउन बाँकी मध्ये करिब रु तीन अर्ब ५० करोड रकम गत आर्थिक २०७६÷७७ मा नै प्राप्त भएको थियो। राष्ट्रस‌ंघको आह्वानमा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खडा गरिएका ४३ वटा शान्ति मिसनमा रही हालसम्म एक लाख २९ हजार ११७ नेपाली सैनिकले शान्तिका लागि योगदान पु¥याइसकेका छन्।

नेपाली सेनाले शान्ति मिसनमा लगानी गरेको तथा खटिएबापत पाउनुपर्ने करिब रु तीन अर्ब राष्ट्रसङ्घबाट अझै प्राप्त गर्न बाँकी नै थाहा भएको छ। बैँक तथा वित्तीय संस्थामा रहेको कोषको मूलधनको निक्षेपबाट प्राप्त ब्याज, सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालयबाट प्राप्त हुने शिक्षण शुल्क, पारिवारिक आवास भाडा रकम, सुनाचुरी इममल्सन प्लाण्ट, रिपूमर्दिनी अक्सिजन प्लान्टबाट उपलब्ध रकम कोषका मुख्य तथा विविध आय स्रोत हुन्।

कोषको नगद मौज्दात मुलुकका विभिन्न एक दर्जन भन्दाबढी विभिन्न बैंकमा रहेको छ। विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराएबापत प्राप्त हुने रकम पनि कल्याणकारी कोषमा आउँछ। उक्त कोषको रकम सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र निजका आश्रित परिवारको जीवनस्तर उकास्ने कल्याणकारी कार्य, सेनाका आवश्यकताका सामग्रीको आपूर्ति र उत्पादन र शान्ति सेनामा सम्मिलित हुन जाँदा आवश्यक पर्ने समान र खर्चका लागि प्रयोग हुँदै आएको छ।

जीवनस्तरमा सुधार ल्याउन चार ‘स’ अभियान
नेपाली सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन कल्याणका खातिर कोषमार्फत शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत अभियान कार्यक्रम सञ्चालन गरेको छ।

उक्त अभियानअन्तरगत शिक्षण संस्था र अस्पताल स्थापना, तालीम र प्रशिक्षण सञ्चालन, जीवनस्तरमा सुधार ल्याउन लघु वित्त कार्यक्रमका लागि सहुलितपूर्ण ब्याजमा कर्जा प्रवाहजस्ता कार्यक्रम अघि बढेका छन्। सेनाले कल्याणकारी कोषमार्फत आफ्ना हिताधिकारीलाई लक्षित गरी प्रादेशिक सैनिक अस्पताल, मन्टेश्वारी विद्यालय, कृषि तालीम केन्द्र, क्यान्टिन, सहुलियतपूर्ण आवास कर्जा, जीवन बीमा, परिवार आवास र अतिथि गृह सञ्चालन गरेको छ।

बहालवाला तथा अवकाश प्राप्त सैनिक र उनका परिवारसमेत गरी कल्याणकारी कोषबाट सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या करिब आठ लाख ५० हजार रहेको कल्याणकारी योजना निर्देशनालयले जानकारी दिएको छ। कल्याणकारी कोषले मूलधनबाट प्राप्त हुने ब्याजको ठूलो हिस्साको रकम हिताधिकारीको स्वास्थ्य र शिक्षामा खर्च गर्दै आएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad