त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरणपछि र उड्नुअघि यात्रु तथा क्रु मेम्बर बोक्नका लागि नेपाल वायुसेवा निगमले चारवटा नयाँ र्याम्प बस ल्याउने भएको छ।
र्याम्प बस भनेकाे विमानस्थलमा यात्रु बाेक्ने सवारी साधन हाे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ सेवा व्यवस्थापन) निगमले गरिरहेको छ। उसले ल्याउन लागेका एउटा बसको मूल्य ५ करोड पर्ने निगमले जनाएको छ। चार वटा बसको २० करोड तिरेर नयाँ बस खरिद गरिएका हुन्।
निगमका अनुसार युरोपियन कम्पनी कोबसका बसहरु सेप्टेम्बरको अन्त्यतिर नेपाल आउनेछन्। उक्त बसहरुबाट बिजनेस क्लास यात्रु र क्रु सदस्यहरुले सुविधा पाउनेछन्। सामान्य यात्रुहरुलाई पनि थप सुविधा मिल्ने निगमले जनाएको छ।
यसका लागि चार महिनाअगाडि ग्लोबल टेन्डर आह्वान गरिएको थियो। उक्त बसहरु इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा)को मापदण्डअनुसार रहेको निगम सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।
विमानस्थलमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्वका लागि यसै हप्तादेखि र्याम्प कोच (साना बस)हरु सञ्चालन गर्ने तयारी भइरहेको छ। यसका लागि निगमले टोयोटा कम्पनीका दुई र्याम्प कोचहरु ल्याएको छ।
विमानस्थलमा यात्रु बोक्ने बसहरु उच्च सुरक्षा प्रणालीयुक्त रहेको सह प्रवक्ता कोइरालाले बताए। विमानस्थलमा मात्रै प्रयोग हुने ती बसहरुले एक पटकमा सयभन्दा धेरै यात्रुलाई बोक्न सक्छन्। यी बसहरु पोर्चुगलदेखि समुद्रीबाटो हुँदै भारतको कोलकाता बन्दरगाहसम्म ल्याइनेछ। त्यहाँबाट स्थलमार्ग हुँदै नेपाल ल्याइनेछ।

प्रतिक्रिया