ad ad

कारोबार


टाट पल्टिएको श्रीराम सुगर मिल्स बन्द, उखु किसान भन्छन्ः करोडौँ भुक्तानी नदिने प्रपञ्च

टाट पल्टिएको श्रीराम सुगर मिल्स बन्द, उखु किसान भन्छन्ः करोडौँ भुक्तानी नदिने प्रपञ्च

नेपालखबर
साउन १२, २०७७ सोमबार ७:२७,

रौतहटको दुई दशक पुरानो श्रीराम सुगर मिल्स टाट पल्टिएको छ। कम्पनीले सूचना नै जारी गरेर वर्षेनी घाटामा गएकाले यही ११ गतेदेखि कम्पनी बन्द गर्न बाध्य भएको जानकारी दिएको हो।

आर्थिक वर्ष २०७५/०७६ सम्म कम्पनीको कुल घाटा नै २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३ सय ७६ रुपैयाँ रहेको कम्पनीले सूचनामा उल्लेख गरेको छ।

कम्पनीले ९ गते नेपाल स्टक एक्सचेन्जलाई लेखेको पत्रमा भनिएको छ, ‘कम्पनीको जर्जर आर्थिक अवस्था र पुँजीको अभावको कारण कम्पनी व्यवस्थापन पक्षले विगत ४ महिनादेखि उद्योगमा कार्यरत श्रमिको कर्मचारी सञ्चय कोषबापतको रकम र पारिश्रमिक समेत भुक्तानी गर्न सकेको छैन।’

कम्पनीका अनुसार यो आवमा जम्मा १३ दिनमात्रै क्रसिङको लागि खुले पनि गत फागुन १३ देखि पूर्ण रुपमा बन्द रहेको छ। त्यसमाथि कोरोना महामारीका कारण देशैभर लकडाउन भएपछि निरन्तर मिल्स बन्द हुँदै आएको छ।

कम्पनी जोगाउने हरसम्भव प्रयास गरेको श्रीराम सुगर मिल्सले नेपाल स्टक एक्सचेन्जलाई पठाएको बन्दसम्बन्धी सूचनामा दाबी गरिएको छ।

खासगरी वर्षेनी करोडौँ नोक्सानी व्यहोर्नुपरेको, हाल उद्योगमा कार्यरत श्रमिक, कर्मचारीलाई न्यूनतम तलब, भत्ता दिनसमेत आर्थिक अभाव भएकोले सबैतिरबाट अनुकूल नभएसम्म स्थायी रुपमा सधैँका लागि बन्द गर्नुको विकल्प नरहेकोले आइतबारदेखि बन्द गरिएको कम्पनीले दाबी गरेको छ।

उद्योग बन्द भएपछि उद्योगमा कार्यरत श्रमिक, कर्मचारीलाई बाँकी रहेको तलब, भत्ता र अन्य सुविधाको रकम भुक्तानी गर्दै जाने कम्पनीले जनाएको छ। तत्कालै यी रकम भुक्तानको लागि आर्थिक अभाव रहेकाले कम्पनीको चल/अचल सम्पत्ति बेचेर भुक्तानी गरिने सूचनामा भनिएको छ।

‘उखु किसानलाई करोडौँ भुक्तानी नदिने प्रपञ्च’
यसैबीच, उखु उत्पादक संघले भने उद्योग बन्द गर्ने निर्णयको विरोध गरेको छ। उसले उखु किसानलाई मिल्सले दिनुपर्ने करोडौँ भुक्तानी नदिन बन्दको प्रपञ्च रचिएको जनाएको हो।

संघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानलाई पैसा नदिने खेल भएको बताए। उनले नेपालखबरसँग भने, ‘यो पैसा नदिने खेल हो। ३० वर्ष पुरानो व्यावसायिक घरानीयाको कम्पनी टाट पल्टिन्छ भन्नेमा हामीलाई विश्वास छैन। किसानको करोडौँ भुक्तानी नदिने प्रपञ्च मात्रै हो।’

2 ukhu kishan protest.jpg

तर कम्पनीले भने सम्बन्धित निकायले अनुमति दिनासाथ चल÷अचल सम्पत्ति बेचेर उद्योगमा कार्यरत श्रमिक, कर्मचारी तथा उखु किसानलाई प्राथमिकता दिई क्रमशः भुक्तानी गर्ने र सबै बाँकी बक्यौता रकम पनि फरफारक गर्ने जनाएको छ।

उक्त मिल्सले उखु किसानलाई अझै २५/२६ करोड हाराहारीमा भुक्तानी दिन बाँकी रहेको अध्यक्ष मैनालीले बताए।

श्रीराम सुगर मिल्ससहित झण्डै आधा दर्जन मिलहरुले वर्षौँदेखि उखु किसानको बक्यौता तिरेका छैनन्। सोही रकमका लागि रौतहट, सर्लाहीलगायतका जिल्लाबाट उखु किसानहरु काठमाडौंमै आएर विरोध प्रदर्शन गरेका थिए।

सो क्रममा सरकार, उद्योगी र किसानबीच चाँडै भुक्तानी दिने सम्झौता समेत भएको थियो। यसका बाबजुद अझै केही मिलहरुले किसानको करोडौँ बक्यौता तिर्न बाँकी छ।

श्रीराम सुगर मिल्स गाेल्छा समूह र विशाल ग्रुपले सञ्चालन गरेकाे उद्याेग हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .