क्रिएशन र कोका-कोला नेपालले देशभरका ३२१२ सफाइकर्मीलाई राहत प्रदान गरेको छ।
कोभिड-१९ महामारीमा अग्रपंत्तिमा खटिएका सफाइकर्मीहरुलाई सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न प्रतिकृयाको रुपमा क्रिएशन र कोका-कोला नेपालको संयुक्त पहलमा सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट शुरु गरिएको हो। जसअन्तर्गत सुरक्षा सामग्री, राशन प्याकेज प्रदान गर्दै सुरक्षा जागरुकता कार्यक्रम सञ्चालन गरेको छ।
यसअन्तर्गत अन्तिम चरणको वितरण कार्यक्रम सिराहमा सम्पन्न भएका छ जहाँ ३७० सफाइकर्मीलाई गुणस्तरीय राशनको ३०० प्याकेज, औषधि, जागरुकता सामग्री र ग्लभ्स, बुट, पीपीई लगायत सुरक्षा सामग्रीहरु वितरण गरिएको थियो। राहत वितरणका साथै चिकित्सा परामर्श र सामान्य स्वच्छता जागरुकता समेत प्रदान गरिएको थियो। उक्त कार्यक्रम सो क्षेत्रका स्थानीय सरकारी अधिकारीहरुको उपस्थितिमा आयोजना गरिएको थियो।
यसबाहेक, टोलीले भक्तपुर अस्पतालको आइसोलेशन वार्डमा कार्यरत सफाइकर्मीका लागि अस्पताल जागरुकता सत्र आयोजना गरेको छ। उक्त जागरुकता सत्र टोलीका चिकित्सा अधिकारी डा.निमेश खनालको नेतृत्वमा ३० भन्दा सफाइकर्मीहरुलाई प्रदान गरिएको थियो।
सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट गत हप्ता सम्पन्न भएको हो जसअन्तर्गत सफलतापूर्वक ६४ वटा राहत वितरण कार्यक्रम आयोजना गरिएको छ भने ३२१२ जना सफाईकर्मीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्। यस अवधिमा, हरेक परिवारका ५ जना सदस्यलाई १ महिना सम्मका लागि पुग्ने राशन वितरण गरिएको थियो जहाँ १६००० भन्दा बढि लाभान्वित भएका छन्।
यसका साथै ७७० सुरक्षा सामग्री वितरण गर्नुका साथ जागरुकता कार्यक्रम र चिकित्सा परामर्श प्रदान गरिएको थियो। यस परियोजनाको लक्ष्य कोभिड-१९ महामारी विरुद्ध लड्ने र नेपालभरका ३२०० सफाइकर्मीलाई सकारात्मक लाभ प्रदान गर्ने रहेको थियो। यस परियोजना अन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, पर्सा, सप्तरी र सिराह जिल्लामा वितरण कार्यक्रम सम्पन्न भइसकेको छ। उक्त टोली हाल अनुगमन र परियोजना कार्यान्वयनको प्रभावहरु र यस परियोजनाबाट कत्ति लाभार्थीहरु लाभान्वित भए भन्ने बुझ्न लागी परेको छ।
यस जारी परियोजनाका बारेमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, ‘कोभिड-१९ को प्रतिकृयाका रुपमा शुरु गरिएको सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट महामारीको समयमा सफाइकर्मीहरुको योगदानलाई कदर र सम्मान गर्न महत्वपूर्ण पहल थियो। यद्यपी हाम्रो तत्काल राहत वितरण कार्यक्रम सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टमार्फत सम्पन्न भएपनि उनीहरुको सुरक्षा र भलाईका लागि हाम्रो प्रयास जारी रहनेछ। हाम्रो सफाइकर्मीहरुलाई सहयोग गर्न यस परियोजनामा संलग्न सबै सरोकारवालाहरुपति हामी आभारी छौं। हामी एकसाथ मिलेर भविष्यमा सफाइकर्मीहरुको जीवन सहज बनाउन र उनीहरुको हकको सम्मान र इज्जत सुनिश्चित गर्न सक्नेछौँ।’
कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘क्रिएशनसँगको यो पहल कोका-कोला नेपालको कोभिड विरुद्ध लड्न रु ८ करोड सहयोग गर्ने प्रतिबद्धताको एक हिस्सा हो। हामी खुशी छौँ कि हामीले ३२०० सफाइकर्मीमाँझ पुग्ने प्रतिबद्धता पूरा गरेका छौँ र हामी आशा गर्दछौं कि हाम्रो राहत प्रयासले यस कठिन समयमा उनीहरुलाई सहयोग गरेको छ। उनीहरुले हाम्रो र वातावरणको सेवाका लागि गरेका सम्पूर्ण कामप्रति हामी आभारी छौँ।’

प्रतिक्रिया