उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अत्यावश्यक वस्तु अभाव हुन नदिने बताएका छन्। बाढी पहिरोको कारण बाटोघाटो अवरोध भए पनि सरकारी संयन्त्रको प्रयोग गरेर अत्यावश्यक वस्तु अभाव हुन नदिने मन्त्री भट्टले बताए।
मन्त्री भट्टले मंगलबार आयाेजना गरेकाे तीनवटै सुरक्षा निकायका प्रमुख, सरोकारवाला मन्त्रालय र विभागका प्रतिनिधि तथा आपूर्तिमा जुटेका संस्थाका प्रतिनिधिसहितको वैठकले प्राकृतिक विपतका वावजुद आपूर्ति व्यवस्थालाई सहज बनाउने निर्णय गरेको छ।
बैठकले आपूर्ति प्रणाली बिथोलिन नदिने निर्णय गरेको जनाइएको छ। यस्तै, निकायगत कार्य विभाजनका आधारमा समन्वयात्मक रुपमा उद्धार, राहत र पुनर्स्थापनाको कामलाई सुचारु राख्ने निर्णय गरेको छ।
मन्त्रालयका अनुसार आपूर्ति व्यवस्था सहज पार्न अन्तर्राष्ट्रिय व्यापार हुने बाटो र अन्य व्यापारिक मार्गमा भएका अवरोध सकेसम्म चाँडो हटाउन सडक विभागले पहल गर्नेछ। यसमा सुरक्षा निकायले आवश्यक समन्वय गर्नेछन्।
दैनिक उपभोग्य खाद्यवस्तुको ढुवानीलाई प्राथमिकताका साथ सञ्चालन गरिने भएको छ। जसमार्फत् आन्तरिक उत्पादन (तरकारी, फलफूल समेत) को ढुवानी र बजार व्यवस्थापन गरिनेछ।
यस्तै, निजी क्षेत्रले विपतको समयमा आपूर्ति व्यवस्था सुचारु राख्न आ–आफ्नो क्षेत्रबाट सक्रिय सहयोग गर्ने जनाएका छन्।
मंगलबारको छलफलमा नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ लिमिटेडले आ–आफ्नो मौज्दात बढाउने, वैकल्पिक उपाय समेत प्रयोग गरेर आपूर्ति सुचारु गर्ने कर्मचारी तयारी अवस्थामा राख्ने जानकारी दिए। उनीहरुले आवश्यक पर्नासाथ जनशक्ति परिचालन गर्ने छन्।
यस्तै, राहतका लागि आवश्यक खाद्य वस्तुमध्ये दाल, नुन, चामल, तेलजस्ता दैनिक अत्यावश्यक सामग्री नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले उपलब्व्ध गराउने भएका छन्। विपतको समयमा कृत्रिम अभाव र कालोबजारी हुन नदिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले अनुगमन गर्ने छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका सह–सचिवको संयोजकत्वमा आपूर्ति व्यवस्थामा समन्वय र सहजीकरण गर्न र्यापिड रेस्पोन्स टिम बनाइएको छ।

प्रतिक्रिया